बाबु, भविष्यमा तिमी के बन्छौ?
‘म डाक्टर बन्छु, पाइलट बन्छु, इन्जिनियर बन्छु...।’
अनि, नानी तिमी चाहिँ के बन्छौ?
‘म नर्स बन्छु, शिक्षक बन्छु, भर्ती हुन्छु वा अन्य कुनै सरकारी जागिर खान्छु...।’
यस्तै यस्तै उत्तर भेटिने भनेको १६ वर्ष उमेर नपुग्दैका बच्चाहरूको हो। तर ठ्याक्कै १२ कक्षा पास गरियो वा गर्न लागियो, अझ भनौँ भने १८ वर्ष उमेर वरिपरिका बाबुनानीहरूलाई ‘अब तिमी के गर्छौ?’ भनेर सोधौँ त। के आउला उत्तर?
यही देशमा बस्छु भन्लान् त? अहँ! पक्कै पनि उनीहरूको पहिलो रोजाइ जापान, कोरिया, अस्ट्रेलिया, त्यो पनि नभए युरोपियन देश अर्थात् बाहिरी मुलुक नै उनीहरूको प्राथमिकतामा परेको पाइन्छ।
+२ विज्ञान पढ्यो, इपिएस भाषा। एजुकेसन पढयो- जापनिज। मानविकी,व्यवस्थापन, कृषि वा अन्य जुनसुकै सङ्कायमा पढेको भए पनि कोरियन र जापनिज भाषा आजका पुस्ताको चाहनामा परेको छ। त्यस्तै गरी आइएलटिएस, पिटिई यस्तै यस्तै अन्य भाषा पढी विदेश जानेहरूको लर्को लागेको छ।
स्नातक खोलेका क्याम्पस विद्यार्थी कम पाइएर सङ्कटमा परेका छन्। कोही विद्यार्थी भर्ना भइहाले पनि पुनः भाषामा भर्ना हुन्छ अन्ततः १/२ वर्षमा विदेश उड्ने, स्नातक पनि छोड्ने, हिँड्ने परम्परा नै आइरहेको छ। यता त्रिभुवन विश्वविद्यालयको नियमित र छिटो परीक्षा र नतिजा नभएर हो या चरम आर्थिक अभावले हो, जोसुकै पनि विदेश नै गएर पैसा छाप्ने पर्खाइमा रहेका छन्।
१२ कक्षा पासपछि सामान्य जागिर खान पनि निकै दुःख, कष्ट हुने तथा रोजगारीकै सिर्जना नहुने हुनाले देशमा भविष्य नदेख्नेहरू थुप्रै पाउन सकिन्छ। छिमेकीको छोरो अस्ट्रेलिया गएर यति पठाउँछ रे, कोरियामा यति कमाइ हुन्छ रे वा पल्ला घरे नानी पनि जापानमा नोकरी गर्छे रे भनेपछि हुरुक्कै हुने समाजकै प्रभावले ती जोसिला, फुर्तिला र देशका आधारस्तम्भ युवा पिँढी गुमाउनु परेको हो जस्तो मलाई लाग्छ।
कसैको दाइ गयो विदेश, कसैको दिदी। ऊ पनि त्यतै जान आँट गरिरहन्छ। पारिवारिक तुलना गर्दा पनि भर्खर कलिलो उमेर १८/१९ वर्षमा वितृष्णा पैदा गर्छ र ऊ सोच्छ- ‘हो, म पनि जापान र कोरिया जाने, मस्तै कमाउने, ऊभन्दा म पो के कम!’
क्षमतावान् र प्रतिभावान् कलिला उमेर समूहका विद्यार्थी भाइबहिनीहरूको सोचाइमा नै परिवर्तन आउँछ ताकि सानोमा भन्ने गरेको भविष्य र वर्तमानमा भोगिरहेको यथार्थता। न्यूनतम रोजगारीसम्म नहुँदा वा रोजगारी भइहाले पनि न राम्रो व्यावसायिक, सिपमूलक न धेरै आर्थिक आम्दानी! यस्तै कुराले पिरोल्न थालेपछि बिदेसिने सोच नबनाई के गर्ने त? परिस्थिति हो, सामना गर्नै पर्यो।
अर्को कुरा, छिमेकीले कमाउने पैसा, घर, गाडी र कोरिया गएर आएपछि किन्ने घडेरी र गरगहना, अहो! त्यतिकै मन त्यता गएको हो र? पिआरवाला भनेपछि हुरुक्कै हुने, चीलले कान लग्यो भन्दा कान नछामी त्यसै दौडिने चलनले पनि त्यस्तो प्रभाव परेको हो जस्तो लाग्छ।
विदेशमा रातदिन नभनी उसले बगाएको श्रम, पसिनाको कुनै प्रवाह नगरी जे त होला भनी दौडने पनि पाइन्छ। दुःख पो पाएको छ कि? नोकरी मिलेको छ वा छैन? ऋण लगाएर गएको छ, कहिले तिर्ने हो? अध्ययन गर्न कलेजमा नियमित गई थकान, अनिद्रा सहित बचेको समयमा लुकीछिपी काम गर्नुको विवशता गर्नेलाई मात्र थाहा होला।
यता देशको अस्थिर राजनीतिक खिचातानी, मै खाऊँ, मै लाऊँ लुछाचुँडी, बढ्दै गरेको बेरोजगारीले कतै म अन्धकार देशमै त बसेको छैन भनी गहिरो सोचाइमा पर्दछ र अन्ततः विदेशी मुलुककै सपना देख्न थाल्दछ। बरु ५० डिग्री सेल्सियसकै गर्मी खान परोस्, १/२ दिन भोकै बसियोस्, जस्तोसुकै कठिन परिस्थिति सामना गर्न किन नपरोस् तर छिमेकीले जति पैसा कमाएरै छाड्ने हो।
आजभोलि १२ उत्तीर्ण धेरैलाई सोधौँ, उत्तर एउटै पाइन्छ- भाषा पढ्ने। अरू क्षेत्रमा प्राय: कमै पाइन्छ। हुन पनि कि व्यापार व्यवसाय गर्ने हो, लगानी चाहियो, सिप चाहियो, भोलि टिक्न सकिने हो नाइँ बजारीकरणको ठेगान छैन। घाटामा जाने डर छ। फेरि यही पढ्छु भने नि कहाँ पढ्ने? के पढ्ने? पढेर रोजगार नै पाइन्छ भन्ने ग्यारेन्टी भएन। यद्यपि मेहनतअनुसार फल त पाइन्थ्यो होला, तैपनि विदेशी भूमि आजभोलि सदरमुकाम जस्तै नजिक बन्न थालेका छन्।
हाम्रो श्रम र सीप उपयोग गरी विदेशी मुलुकले फाइदा लिइराखेका छन्। अब पनि राष्ट्रले यी गहना युवा शक्ति जोगाउन नसके कहिलेसम्म पछुताइरहने?
मलाई यो समस्या वर्तमान आम नेपालीको हो जस्तो लाग्छ। पढ्दै गरेका पुस्ता मात्र इङ्गित गरे पनि रोजगारी छाडेरै बिदेसिने नेपालीहरू पनि थुप्रै छन्। कसैको प्रगति देखे सल्लाह लिई मेहनत गर्नुको सट्टा टिप्पणी मात्र गर्ने र जुन पायो त्यो श्रमको सम्मान नगर्ने प्रचलनले पनि यो समस्या निम्तिएको हो।
उमेर हद पुगेसम्म सरकारी सेवा गरिरहेका राष्ट्र सेवकहरूसमेत विद्यमान देशको राजनीतिक अवस्थाले आजित भएर वैकल्पिक बाटो खोज्दै भौँतारिनु परेको हो। सामाजिक, पारिवारिक, आर्थिक तुलनाले गर्दा पनि बिदेसिनुपर्ने यथार्थता छ। यस्तो विषम परिस्थिति आइपर्दा पनि सरकार कहिले जिम्मेवार बन्ला त?