(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
भुटानको प्रगतिले धेरैलाई लोभ्याउँछ। संसारका धेरै मुलुक लोभिने यस्तो प्रगति उसले पछिल्ला केही दशकमै हासिल गरेको हो।
विश्व बैंकका अनुसार सन् २०२३ मा भुटानीहरूको प्रतिव्यक्ति आय ३ हजार ७१८ अमेरिकी डलर पुगेको छ। नेपालको भन्दा साढे दुई गुणा धेरै।
भुटानको जनसंख्या जम्मा सात लाख छ।
सन् २००८ देखि भुटानमा बहुदलीय व्यवस्था लागू भएको छ। पहिलो चरणमा सबभन्दा धेरै मत ल्याउने दुई दलले मात्र संसदीय निर्वाचन लड्न पाउने संवैधानिक व्यवस्था छ। दुई दल मिलेर गठबन्धन सरकार बनाउन संविधानले बन्देज लगाएको छ। आवधिक निर्वाचनपछि शान्तिपूर्वक हस्तान्तरण हुन्छ र राजनीतिक स्थिरता र स्थायित्व छ।
शिक्षा र स्वास्थ्य सेवा भुटानमा निःशुल्क छ।
भुटानको अर्को ठूलो उपलब्धि — दक्षिण एसियाको मात्रै होइन, यो देश संसारकै सबभन्दा कम भ्रष्टाचार हुने मुलुकमध्ये एक हो।
ट्रान्सपरेन्सी इन्टरनेसनलका (टिआई) अनुसार एसियामा कम भ्रष्ट मुलुकको सूचीमा सिंगापुर मात्र भुटानभन्दा माथि छ। अरू सबै तल छन्।
युरोपका कैयन विकसित मुलुकहरू इटाली, स्पेन, पोर्चुगल, ग्रिस र एसियामा तीव्र आर्थिक उन्नति गरिरहेका दक्षिण कोरिया, ताइवान, इसराइल, कतार, युएई र साउदी अरेबिया जस्ता मुलुकहरू टिआई सूचीमा भुटानभन्दा तल छन्।
संसारको महाशक्ति अमेरिका यो सूचीमा भुटानभन्दा एक स्थान मात्र माथि छ। उसको स्कोर (६९) पनि भुटानको (६८) भन्दा एक अंकले मात्र धेरै छ।
भुटानको ६० प्रतिशत जमिन जंगलले ढाकेको छ। अनि भुटान संसारकै एक मात्र 'कार्बन नेगेटिभ' मुलुक हो। त्यो भनेको, भुटानमा प्रति वर्ष जति हानिकारक कार्बन उत्सर्जन हुन्छ, त्योभन्दा धेरै कार्बन त्यहाँका वनजंगलले सोसेर जमिनमुनि पठाउँछन्। त्यसैले वातावरण सफा र स्वच्छ छ। खोलानाला कञ्चन छन्। सहर सफा र भुटानी शैलीका घरले भरिएका छन्।
द्रुत गतिको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, अति कम भ्रष्टाचार, सफा वातावरण र प्राकृतिक सुन्दरताले भरिएको भुटान धेरै अर्थमा लोभलाग्दो छ।
तर भुटानी युवाहरू यस्तो लोभलाग्दो देश छाडेर ठूलो संख्यामा बिदेसिइरहेका छन्।
भुटानी, विशेषगरी युवाहरू, अहिले बिदेसिने क्रम बढेको छ। अहिले अस्ट्रेलियामा मात्रै करिब ३० हजार भुटानीहरू बसिरहेको आकलन छ। थोरै जनसंख्या भएको सानो मुलुकबाट यति धेरै युवा बिदेसिन थालेपछि भुटानमा ठूलो चिन्ता थपिएको छ।
भुटानी प्रधानमन्त्री छिरिङ तोग्वेले यसलाई 'भुटानको अस्तित्वमाथिकै संकट' भनेका छन्।
भुटानको यो सन्दर्भमा टेकेर म तीन विषयको चर्चा गर्नेछु।
१. भुटानी युवाहरूले जसरी देश छाडिरहेका छन्, त्यसले नेपालीहरू जुन कारणले देश छाडेको 'न्यारेटिभ' हामीले बनाइरहेका छौं, त्यसमा पुनर्विचारको माग गर्छ।
२. सन् १९६० को दशकमा दक्षिण कोरिया र नेपालका आर्थिक चुनौती उस्तै थिए। कोरियाको सरकारले त्यस बेला नीति नै बनाएर करिब ११ लाख नागरिकलाई खाडी मुलुकमा काम गर्न पठायो। त्यस्तै तत्कालीन पश्चिम जर्मनीसँग सम्झौता गरेर करिब २० हजार नर्स र खानीमा काम गर्ने मजदुर जर्मनी पठायो। दक्षिण कोरियाले किन त्यस्तो नीति लियो? आजको समृद्ध कोरिया बन्नमा त्यसले कति भूमिका खेलेको छ?
३. सन् २००० यता मात्रै करिब ३०–४० लाख नेपाली विदेश पुगेको आकलन छ। के राजनीति ठिकठाक भएको भए उनीहरूलाई नेपालमै राख्न सम्भव थियो?
पहिलो विषयबाट सुरू गरौं।
नेपालीहरू ठूलो संख्यामा बाहिर जान थालेको सन् २००० यता हो। नेपालीहरू किन यति ठूलो संख्यामा विदेश गइरहेका छन् भनेर हामीले सोध्यौं भने आममानिसको मुखबाट फ्याट्टै आउने उत्तर हो — यति खत्तम देशमा पनि को बस्छ!
जान्ने, बुझ्नेका उत्तर अलि लामा हुन्छन् — देशमा विकास छैन, रोजगारीको अवसर छैन। जताततै भ्रष्टाचार र बेथिति छ। न सार्वजनिक शिक्षा राम्रो छ, न स्वास्थ्य। धूलोमैलो र कोलाहल छ। राजनीतिक अस्थिरता छ। अनि यस्तो देशमा को बस्न चाहन्छ?
नेपालीहरू यिनै कारणले देश छाडिरहेको न्यारेटिभ हामीले सुन्दै र भन्दै आएका छौं।
एकछिन अडिएर सोचौं — त्यसो भए भुटानीहरू चाहिँ किन छाडिरहेका छन् देश?
भुटानको प्रतिव्यक्ति आय नेपालीको भन्दा साढे दुई गुणा धेरै छ। हामीले धेरै कुरा ठिक गर्यौं भने पनि भुटानीहरूको आयस्तरमा पुग्न नेपाललाई अर्को १०–१५ वर्ष लाग्छ। शिक्षा, स्वास्थ्य, वातावरण, सुशासन, राजनीतिक स्थिरताका हिसाबले त भुटान हामीभन्दा कति माथि छ, कति!
यसका बाबजुद भुटानी युवाहरूले देश छाडिरहेका छन्। अलि पहिले धैरै भुटानी युवाहरू भारत जान्थे। अहिले उनीहरू मूल रूपमा अस्ट्रेलिया र क्यानडा गइरहेका छन्।
अहिलेको युवा पुस्ता, चाहे त्यो भुटानको होस् वा नेपालको, ऊ 'एस्पिरेसनल' (आकांक्षी) छ। उसको 'एस्पिरेसन' ले मुलुकी सीमाको बन्देज मान्दैन। मुलुक बाहिर उसको व्यक्तित्व विकासको राम्रो अवसर र थप आयआर्जनको सम्भावना छ भने ऊ आफ्नो देश भनेर बस्दैन!
भुटानको थिम्पु वा काठमाडौंमा मासिक पचास हजार रूपैयाँको जागिर खाइरहेको एक आकांक्षी युवाले अस्ट्रेलियाको सिड्नी वा युएईको एक वा डेढ लाख रूपैयाँको जागिर पायो भने त्यहीँ जान्छ।
डिजिटल युगले संसारलाई जसरी जोडेको छ, आकांक्षाका पखेटा सीमा बाहिरसम्म फैलाउन युवाहरूलाई सजिलो र सम्भव भएको छ।
युवाहरू काठमाडौंमै बसेर बाहिरको सम्भावना र अवसर देख्न सक्ने भएका छन्। कहाँ पढ्न पाइन्छ, जागिर कसरी पाइन्छ, के सीप चाहिन्छ, कति कमाइ हुन्छ भन्ने जस्ता प्रश्नको जबाफ धेरैले काठमाडौंबाटै पहिल्याउन थालेका छन्। उनीहरूका साथीभाइ वा परिवार उनीहरू जान खोजेको देशमा छन् भने त झनै सजिलो भइहाल्यो।
डिजिटल युगले सम्भावनाको ढोका मात्र खोलेको छैन, दुई-तीन दशक अघिसम्म समाज र परिवार छाडेर बाहिर जाँदा जुन खाडल मनमा पर्थ्यो, त्यसको आयतन पनि कम भएको छ।
दुबईमै बसेर एउटा युवाले आफ्नो परिवारसँग दिनदिनै भिडिओ कलमा कुरा गर्छ। प्रियजनहरूको अनुहारको हाँसो देख्न सक्छ। चिन्ता पढ्न सक्छ। त्यहीँबाट उसले आमाबुबा, छोराछोरी वा श्रीमतीको वालेटमा पैसा हालिदिन सक्छ। उनीहरूलाई चाहिएको सामान वा उपहार किनेर होम डेलिभरी गरिदिन सक्छ। छोराछोरीको स्कुलको शुल्क तिरिदिन सक्छ। घरमा डाक्टर पठाइदिन सक्छ। झापा वा पोखराको मानिसलाई आज काठमाडौं बस्नु र दुबई बस्नु उस्तै उस्तै जस्तो भएको छ। दुबई वा संसारको कुनै सहरमा गएर म धेरै प्रगति गर्न सक्छु, परिवारका लागि धेरै गर्न सक्छु भन्ने चाहना र आत्मविश्वास भएको युवाका लागि काठमाडौं वा थिम्पु नै बस्नुपर्ने कारण कम हुँदै गएका छन्।
त्यसैले भुटानका युवाहरू पनि देश छाडेर अस्ट्रेलिया, क्यानडा गइरहेका छन्।
त्यसो भए, भुटानको सन्देश के हो त?
नेपाल 'खत्तम' भएर वा 'खत्तम' छ भनेर देश छाड्नेहरू पक्कै होलान्। तर देश ठिकठाक हुँदैमा 'एस्पिरेसनल' युवाहरू आफ्नै मुलुकमा बस्छन् भन्ने छैन —भुटानको सन्देश त्यही हो।
भुटान मात्र होइन संसारका धेरै मुलुकको उदाहरणले त्यही भन्छ। मानिसहरू अझ राम्रो सम्भावनाको खोजीमा एउटा मुलुकबाट अर्को मुलुकमा काम गर्न गइरहेका छन्। बसाइँसराइ गरिरहेका छन्।
नेपालीहरू अहिले ठूलो संख्यामा काम गर्न जान थालेका पूर्वी युरोपका देशहरूको उदाहरणले पनि त्यही भन्छ।
नेपालीहरू आजकाल काम गर्न पूर्वी युरोपको रोमेनिया पनि जान थालेका छन्। युरोपमा आप्रवासी सम्बन्धी तथ्यांक संकलन गर्ने 'इन्फोमाइग्रेन्ट्स' का अनुसार सन् २०२४ सम्ममा १८ हजार ७०० नेपाली कानुनी रूपमा रोमेनियामा बसिरहेका छन्। र, सन् २०२३ मा मात्रै साढे नौ हजार जनाभन्दा धेरै नेपाली त्यहाँ गएका थिए। नेपालीभन्दा पनि ठूलो संख्यामा श्रीलंकन र बंगलादेशीहरू काम गर्न रोमेनिया गइरहेका छन्। दक्षिण एसियाका यी दुवै मुलुकको प्रतिव्यक्ति आय पनि नेपालको तुलनामा साढे दुई गुणाभन्दा धेरै छ। करिब एक करोड बंगलादेशी र २० लाख श्रीलंकनहरू रोजगारीका लागि देश बाहिर गएको अनुमान छ।
नेपाली र हाम्रा छिमेकी मुलुकका नागरिकले किन रोमेनियामा काम पाइरहेका छन्, यो प्रश्न महत्त्वपूर्ण छ।
किनभने, धेरै रोमेनियनहरू पश्चिम युरोपका झनै समृद्ध इटाली, पश्चिम जर्मनी जस्ता देशमा काम गर्न गइरहेका छन्। बसाइँसराइ गरिरहेका छन्। रोमेनियाको जनसंख्या घटिरहेको छ। झन्डै २० प्रतिशत रोमेनियनहरू आफ्नो मुलुकबाहिर, मुख्यगरी पश्चिम युरोपका देशहरूमा बसोबास गरिरहेको आकलन छ।
गधालाई गधाको भारी, घोडालाई घोडाको भनेझैं सबै मुलुकका आ-आफ्नै दुःख छन्। आफ्नै समस्या छन्। रोमेनियाका पनि छन्; मानिसहरू त्यहाँ पनि पिरोलिएका छन्। तर रोमेनिया गरिब र तन्नम मुलुक होइन। दक्षिण एसियाका मुलुकका तुलनामा त झनै होइन। सन् २०२३ मा रोमेनियाको प्रतिव्यक्ति आय १८ हजार ४५० डलर थियो।
त्यसैले हामीले मनन गर्न जरूरी छ — भुटान, बंगलादेश, रोमेनिया वा अरू कैयन मुलुकहरूबाट त्यहाँका नागरिकहरू अझ राम्रो अवसर खोज्न, अझ समृद्ध देश गइरहेका भने हाम्रोबाट पनि जानु स्वाभाविक हो।
नेपालमा बेरोजगारीको ठूलो समस्या छ। रोजगारी पाएका धेरैका लागि पनि सम्मानजनक जीवन बाँच्न ठूलो चुनौती छ। त्यस कारण पनि नेपालमा रोजगारी नपाएका र पाएका धेरै युवाहरूले विदेशमा अवसर खोज्ने गरेका छन्। नेपालको प्रतिव्यक्ति आय अहिले १,३७८ अमेरिकी डलर छ। हाम्रो प्रतिव्यक्ति आय भुटानको जस्तो ३,७०० पुग्यो भने नेपालीको जीवन अहिलेभन्दा धेरै सहज हुनेछ। धेरै नेपालीले देशभित्रै सम्मानजनक रोजगारीका थप अवसर पाउनेछन्। हामीले त्यसका लागि प्रयत्न पनि गर्ने हो। साथै सुशासन बढाउन, बेथिति रोक्न, शिक्षा र स्वास्थ्यको गुणस्तर बढाउन, सामाजिक न्यायको प्रत्याभूति दिलाउन हामीले गर्नुपर्ने धेरै काम बाँकी छन्।
सँगै, हामी एउटा कुरामा पनि प्रस्ट हुनुपर्छ — हामीले धेरै कुरामा धेरै प्रगति गरे पनि, नेपालीहरू, विशेषगरी आकांक्षी युवाहरूले, देशबाहिर थप राम्रो अवसरहरू खोजिरहने छन्। अनि त्यसले मुलुकलाई दीर्घकालमा घाटा हुँदैन। मुलुकको हित नै हुन्छ।
तर हाम्रो समाजले, राजनीतिज्ञ, पत्रकार र जो कोहीले, नेपालीहरू बाहिर गएर काम गरेको, सीप र अनुभव बटुलेको, दक्षता हासिल गरेको र पुँजी जोहो गरेको कुरालाई राजनीतिक 'रोइलो' को विषय बनाएका छौं।
कोही भन्छ — देश खत्तम भयो, बस्न लायक भएन। सबै बाहिर जान आतुर छन्!
अर्को भन्छ — नेपालीले साउदी अरबको ५० डिग्री गर्मीमा दुःख पाए!
यस्तो लाग्छ, मानौं खाडी मुलुकमा जाने सबैले ५० डिग्रीको घाममा बेल्चा खन्छन्!
अनि अर्को भन्छ — म विदेशका गल्ली गल्लीमा स्टिकर टाँस्छु र सारा नेपालीलाई देश फर्काउँछु!
हाम्रो अर्थतन्त्र र समाज अहिले कुन अवस्थामा छ र हाम्रा सीमाहरू के छन् हामीले त्यसको ख्याल गरेका छैनौं। नेपाली समाज भर्खरै निर्वाहमुखी कृषिबाट बाहिर निस्किँदैछ, व्यावसायिक र औद्योगिक सीप भएको पहिलो पुस्ता भर्खरै निर्माण हुँदैछ। त्यसको पुस्तान्तरण बाँकी नै छ। औद्योगिक र व्यावसायिक ज्ञान हाम्रो 'जीन' मा सिञ्चित हुन बाँकी छ।
एकातिर पुँजी निर्माण र दक्षताको कमी छ, अर्कातिर भिमकाय चीन र भारतसँगको प्रतिस्पर्धामा उत्पादनमूलक उद्योगहरू उभ्याउन ठूलो कठिनाइ छ।
यो अवस्थामा युवाहरू विदेश गएर श्रम गर्नु, सीप सिक्नु, आत्मविश्वास बटुल्नु, क्षमता आर्जन गर्नु, थोरै भए पनि पुँजी जोहो गर्नु धेरै महत्त्वपूर्ण कुरा हो। छोराछोरीलाई राम्रो शिक्षा दिन र आमाबुबालाई औषधिमुलो गर्ने सक्ने आय आर्जन गर्नु कति ठूलो कुरा हो, कति!
कुनै समय दक्षिण कोरियाले पनि नेपालले जस्तै आर्थिक अवनति भोगेको थियो। बेरोजगारी र पुँजी अभाव भोगेको थियो। त्यो बेला त्यहाँको नेतृत्वले सुझबुझपूर्ण नीति अपनायो। राज्यले नै पहल गरेर आफ्ना नागरिकहरूलाई काम गर्न अरू मुलुकमा पठायो।
सन् १९५० मा सुरू भएको कोरियन युद्धमा दक्षिण कोरियामा मात्र सैनिक र नागरिक गरेर १० लाख मानिस मरेका थिए। सन् १९५३ मा युद्ध अन्त्य हुँदा दक्षिण कोरियाको अर्थतन्त्र जरजर थियो। गरिबी चरम थियो। सन् १९६० मा पनि ४० प्रतिशत जनता गरिबीको रेखामुनि थिए। प्रतिव्यक्ति आय करिब १६० अमेरिकी डलर थियो। जनसंख्या वृद्धिदर तीव्र थियो। बेरोजगारी धेरै थियो। त्यसमाथि, विदेशी मुद्राको ठूलो समस्या थियो।
दक्षिण कोरियाले सन् १९६३ मा पश्चिम जर्मनीसँग कामदार समझौता गर्यो। अनि खानीमा काम गर्ने श्रमिक र करिब बीस हजार नर्सहरू जर्मनी पठायो। पछि, सन् १९७० को दशकमा दक्षिण कोरियाले खाडी मुलुकहरूमा कामदार पठाउन थाल्यो। करिब ११ लाख कोरियन श्रमिकहरूले साउदी अरब लगायत मुलुकमा मुख्य गरी निर्माण क्षेत्रमा काम गरे।
बेरोजगारी समस्या हल गर्न, श्रमिक परिवारको आयस्तर उकास्न र गरिबी निवारण गर्न, अनि देशमा विदेशी मुद्रा अभाव कम गर्न देशबाहिर गएका ती श्रमिकहरूले ठूलो योगदान गरे। त्यहाँ गरेको कामले उनीहरूको दक्षता र आत्मविश्वास झनै बढ्यो। देशको आयस्तर बढ्दै गएपछि र श्रमिकहरूको माग देशमै बढ्दै गएपछि कोरियाले आफ्ना नागरिकलाई काम गर्न विदेश पठाउने नीति बदल्यो। विदेशमा लामो समय काम गरेका र दक्षता हासिल गरेका नागरिकहरू देश फर्किएर आए। र, कोरियाको आर्थिक विकासमा पनि ठूलो योगदान गरे।
आज दक्षिण कोरिया संसारका विकसित मुलुकमध्ये पर्छ। प्रतिव्यक्ति आय ३३ हजार डलर पुगेको छ। आफ्नै मुलुकमा कामदारको अभाव पूर्ति गर्न विदेशी श्रमिक माग गर्छ। कोरियामा अहिले १० लाख विदेशी श्रमिकले काम गरिरहेको अनुमान छ। नेपाली श्रमिकहरूका लागि पनि कोरिया लोकप्रिय गन्तव्य हो।
कुनै पनि मुलुकले कुनै खास कालखण्डमा समाजको गरिबी, बेरोजगारी र अविकासका चुनौती समाधान गर्न आफूसँग के कस्ता स्रोत र उपाय छन् भनेर हेर्नुपर्छ। समाधान निकाल्नुपर्छ। दक्षिण कोरियाले पनि गरेको त्यही हो। उसले आफ्ना घरेलु समस्याको समाधान मुलुकको सीमा बाहिर खोज्यो। पहिले कामदार बाहिर पठायो। पछि उत्पादनहरू विदेश पठाउनमा ध्यान केन्द्रित गर्यो। पहिले कामदारहरू निर्यात गरेकाले हुन सक्छ, उसलाई बाहिरको बजार हेर्ने, देख्ने बानी पर्यो। त्यसमा उसको आत्मविश्वास बढ्यो। निर्यातमा आधारित विकासको मोडलमा दक्षिण कोरिया उत्कृष्ट उदाहरण हो।
सन् १९६० र ७० दशकमा नेपालमा पनि विकासका चुनौती कम थिएनन्। चरम गरिबी थियो। रोजगारी भन्नु नै निर्वाहमुखी कृषि थियो। भौतिक पूर्वाधार र विकास नगन्य थियो। उद्योग र कारखाना औंलामा गन्न सकिने थिए। त्यो अविकास र गरिबी सम्बोधन गर्ने भरपर्दो उपाय राज्यले खोज्न सकेन। हामीले त्यो बेलाको कोरियाले जस्तो गर्न सकेनौं भनेर आरोप लगाउन खोजेको होइन। अहिले चीनले जस्तो विकास हामीले किन गर्न सकेनौं भनेजस्तै तर्क हो त्यो।
तर एउटा कुरा सत्य हो — त्यो बेला पनि नेपाली राज्य कमजोर थियो र आर्थिक दुरदृष्टिको अभाव थियो। त्यसबाहेक, नागरिकहरूले नेपालको सीमा बाहिर अवसर खोज्ने सम्भावनालाई पनि राज्यले सीमित गरेको थियो। खुला सीमाका कारण भारत जान छुट थियो। तर त्यो बेला भारत आफै हामी जस्तै गरिबीको चपेटामा थियो। नेपालीहरूलाई बेलायती सेनामा जान छुट थियो तर अरू नागरिकले विदेश जाने राहदानी (पासपोर्ट) नै पाउँदैन थिए। एक हिसाबले राज्यले नागरिकहरूको बाटो र विकल्प थुनिदिएको थियो।
आज आम नेपालीका लागि स्वदेशमै बस्ने वा विदेश जाने, बाटो खुला छ। जसले पनि चाह्यो भने राहदानी लिन सक्छन्। इच्छा अनुसारको देशमा पढ्न वा रोजगारीमा जान सक्छन्। गइरहेका छन्।
अहिले राजनीति तन्नम भएर, नेता र देश खत्तम भएर मात्र नेपालीहरू बाहिर गएका हुन्, राजनीति ठिक भएको भए नेपाल आफै समृद्ध हुन्थ्यो, कोही नेपाली बाहिर जानुपर्दैन थियो भनेर तर्क गर्नेहरू प्रशस्त छन्।
पक्कै पनि देश अहिलेभन्दा राम्रो बनाउन सकिन्थ्यो। अर्थतन्त्र अहिलेभन्दा राम्रो हुन सक्थ्यो। सुशासन अहिलेभन्दा राम्रो हुन सक्थ्यो। बेथिति अहिलेभन्दा कम हुन सक्थ्यो। रोजगारी अहिलेभन्दा धेरै सिर्जना गर्न सकिन्थ्यो। त्यस हिसाबले अहिलेको राजनीति र नेताहरूले हाम्रो असफलताको जिम्मेवारी लिनै पर्छ।
तर राजनीति ठिकठाक भएको भए, नेता गजबका भएको भए देश कति ठिक हुन्थ्यो? देशको उन्नति कति हुन्थ्यो? देश कति धनी हुन्थ्यो? कति रोजगारी सिर्जना गर्थ्यो?
पछिल्लो ६० वर्ष अवधिका विभिन्न कालखण्डमा नेपालको आर्थिक उन्नति/अवनति कस्तो थियो भनेर हेर्यौं भने यी प्रश्नको उत्तर भेट्न सजिलो हुन्छ। साथै यिनै ६० वर्षमा दक्षिण एसियाका अरू मुलुकले कति प्रगति गरे भन्ने दाँजेर हेर्यौं भने हाम्रो तुलनात्मक तस्बिर पनि प्रस्ट हुन्छ।
सन् १९६० मा पञ्चायत सुरू हुने बेलामा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) जम्मा ५० करोड डलरको थियो। तीस वर्षपछि, पञ्चायती व्यवस्थाको अन्त्य हुँदासम्म यो ३.६ अर्ब डलर पुग्यो। त्यस्तै, सन् १९६० मा नेपालीको प्रतिव्यक्ति आय ५० डलर थियो। सन् १९९० मा यो बढेर १८५ डलर पुग्यो।
यसरी पञ्चायतका तीस वर्षभित्र नेपालको अर्थतन्त्र सात गुणा र प्रतिव्यक्ति आय ३.७ गुणा बढेको देखिन्छ। बहुदल कालका तीस वर्षमा भने अर्थतन्त्रको आकार दस गुणा र प्रतिव्यक्ति आय ६ गुणा बढेको देखिन्छ। त्यसैले पञ्चायतको तुलनामा प्रजातन्त्र/लोकतन्त्रको समयमा नेपालको आर्थिक प्रगति केही तीव्र भएको देखिन्छ।
यहाँ एउटा कुरा भने भुल्न हुँदैन — प्रतिव्यक्ति आयको हिसाबले नेपाल सन् १९६० मा पञ्चायत सुरू हुँदा, सन् १९९० मा पञ्चायत अन्त्य हुँदा र आज पनि अरू सबै दक्षिण एसियाली मुलुकभन्दा (लामो समय युद्धको चपेटामा परेको अफगानिस्तान बाहेक) पुछारमा छ।
अर्थात, राजाको सक्रिय शासन चलेको तीस वर्ष र जनताले छानेको नागरिक शासन चलेको तीस वर्ष गरी ६० वर्ष लामो कालखण्डमा नेपाल दक्षिण एसियामा आर्थिक विकास र प्रतिव्यक्ति आयका हिसाबले निरन्तर पुछारमा छ। त्यसले आर्थिक प्रगतिका सवालमा हाम्रा चुनौती कति जटिल र जबरजस्त छन् भन्ने देखाउँछ।
तर के दक्षिण एसियाका अरू मुलुकले पछिल्लो ३०–३५ वर्षमा गजबको आर्थिक प्रगति गरेका छन् र हामी मात्र तन्नम भएर बसेका छौं? कि हामी दक्षिण एसियाका अरू मुलुककै हाराहारीमा छौं?
तलको टेबल हेरौं।
प्रतिव्यक्ति आम्दानी अमेरिकी डलरमा |
देश | सन् १९९१ | सन् २०२१ | कति गुणा वृद्धि |
नेपाल | १९४ | १२०८ | ६.२ |
भारत | ३०३ | २२५६ | ७.४ |
बंगलादेश | २९५ | २४५८ | ८.३ |
भुटान | ४२३ | ३२६६ | ७.७ |
पाकिस्तान | ३८३ | १५०५ | ३.९ |
श्रीलंका | ५१३ | ४००० | ७.८ |
माल्दिभ्स | १०५३ | १०३६६ | ९.८ |
सन् १९९१ देखि सन् २०२१ सम्मको, ३० वर्षको तथ्यांकको तुलना गर्दा के देखिन्छ भने, पछिल्ला तीस वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानीको वृद्धिदर दक्षिण एसियामा पाकिस्तानबाहेक अरू मुलुकभन्दा कम छ। अरू सबै मुलुकले हामीलाई जितेका छन्। तर उनीहरूको तुलनामा हाम्रो वृद्धि धेरै नराम्रो पनि छैन।
नेपालले यी तीस वर्षमा केही अप्ठ्यारा राजनीतिक र प्राकृतिक विपत्ति पनि बेहोर्नुपर्यो। लामो समयसम्म आर्थिक गतिविधि धराशायी भएको दसवर्षे माओवादी सशस्त्र युद्ध, राजा ज्ञानेन्द्र शाहको 'कू', जनआन्दोलन, संविधान लेख्दाको सकसपूर्ण आठ वर्ष र २०७२ सालको भूकम्प। यी सबै राजनीतिक, प्राकृतिक परिस्थितिको सन्दर्भमा पछिल्ला तीस वर्षमा हाम्रो प्रतिव्यक्ति आय ६.२ गुणाले र अर्थतन्त्र १० गुणाले बढ्नु दक्षिण एसियाली अरू मुलुकको तुलनामा धेरै नराम्रो होइन।
एकछिनका लागि मानौं — हामीले अझ राम्रो गर्न सक्थ्यौं। हामीले पनि उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको भारतको जति नै वृद्धिदर कायम गर्न सक्थ्यौं। अहिलेभन्दा धेरै रोजगारी सिर्जना गर्न सक्थ्यौं।
तर त्यसले पनि हाम्रो प्रतिव्यक्ति आय भुटानको भन्दा माथि पुर्याउन कठिन थियो। त्यसले पनि अहिले विदेश गएका सबै नेपालीलाई रोजगारी पुर्याउन सक्दैन थियो।
अहिले जति नेपाली श्रम गर्न सक्ने उमेर समूहमा परेका छन्, यो हाम्रो इतिहासकै सबैभन्दा धेरै प्रतिशत हो। त्यसैले यो श्रम गर्न सक्ने जनशक्तिको जुन उभार अहिले नेपालमा आएको छ, त्यसलाई रोजगारी दिन सक्ने अर्थतन्त्र निर्माण हुन सक्ने आधार हामीसँग छैन।
बहुदलकालमा नेताहरूले नेपाललाई स्विट्जरल्यान्ड बनाउने, सिंगापुर बनाउने भनेकाले पनि हाम्रो महत्वाकांक्षा धुरीमा पुग्यो। तर हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक आधारहरू जस्ता छन्, मानवीय स्रोत जस्तो छ र भूराजनीति जस्तो छ, त्यसले हामी हिजो पनि ठूलो आर्थिक प्रगति गर्न सक्थ्यौं भन्ने देखिँदैन। निकट भविष्यमा पनि देखिँदैन। त्यसैले नेपालीहरू रोजगारी र अवसरका लागि बाहिर जानै पर्थ्यो र उनीहरू गइरहेका छन्। भोलि पनि जानेछन्।
मलाई लाग्छ, नेपालीहरू विदेश जाने सिलसिलाको अझै ठूलो उभार आउनै बाँकी छ। अहिले विकसित मुलुकहरू, विशेषगरी पश्चिमा मुलुकहरूमा, दुइटा कुरा एकसाथ चलिरहेका छन्; जनसंख्याको दर तीव्र रूपमा घट्दो छ र, विदेशबाट आएका आप्रवासीहरू प्रति समाजमा असन्तोष पनि तीव्र रूपमा बढिरहेको छ। आप्रवासी विरोधी दक्षिणपन्थी राजनीतिले अमेरिका, क्यानडा र युरोपभरि नै प्रश्रय पाएको छ।
यो आप्रवासन विरोधी राजनीति सधैं चल्न सक्दैन।
विकसित राष्ट्रहरूमा घट्दो जन्मदर र काम गर्न सक्ने श्रमिकहरूको घट्दो संख्याको कठोर यथार्थले आप्रवासन विरोधी राजनीतिलाई बिस्तारै मत्थर पार्दै लैजानेछ। अमेरिकामै पनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी कामदार विरोधी नीति लामो समयसम्म टिक्न कठिन छ।
सस्तो ज्यालादरमा काम गर्ने सबै गैरकानुनी आप्रवासीहरूलाई घर फर्काएर महँगो ज्यालादरमा काम गर्ने अमेरिकीका हातमा रोजगारी दिने; चीन र अरू मुलुकबाट सस्तोमा आउने सामानमा भन्सार महसुल बढाउने तर अमेरिकामा 'इन्फ्लेसन' (बजारभाउ) भने तल राख्ने कुरा आफैमा परस्परविरोधी हुन्। असम्भवप्रायः हुन्।
घट्दो जनसंख्या वृद्धिदर र घट्दो कामदारको संख्या धेरै मुलुकका लागि यो शताब्दीकै ठूलो संकट हो। र, यो संकटले पहिले विकसित मुलुकलाई गाँज्नेछ, गाँजिरहेको छ।
युरोपियन युनियनका देशको प्रजननदर (एक महिलाले जन्माउने बच्चाको औसत संख्या) १.४६ मा झरेको छ। त्यसको अर्थ एक महिलाले (एक दम्पतीले) औसत १.४६ जना बच्चा जनमाइरहेकी छन्। कुनै पनि मुलुकको जनसंख्या स्थिर रहन एक दम्पतीले २.१ जना बच्चा जन्माउनुपर्छ। जापानमा प्रजननदर १.३ मा झरेको छ भने दक्षिण कोरियामा ०.७८ मा।
घट्दो जनसंख्या र श्रमिक अभावकै कारण आप्रवासनबारे जापान जस्तो 'कन्जरभेटिभ' मुलुकले पनि विदेशी कामदारहरू भित्र्याउन थालेको छ। अहिले जापानमा २० लाख विदेशी श्रमिकले काम गरिरहेको अनुमान छ। यो अहिलेसम्मकै उच्च संख्या हो। पछिल्लो समय जापानमा पढ्दै काम गर्न जाने नेपालीको संख्या बढ्नुको कारण यही हो।
विकसित मुलुकहरूमा घट्दो जनसंख्या र बढ्दो श्रमिक मागका कारण नेपालजस्ता मुलुकका मानिसका लागि त्यहाँ काम गर्ने अवसर थप बढ्नेछन्। युवाहरू राम्रो अवसरको खोजीमा विदेश जाने क्रम झनै बढ्नेछ।
हामीले यसैलाई यथार्थ मानेर अघि बढ्नुपर्छ।
नेपालीहरू बाहिर गए भनेर हामी चिन्तित छौं। तर अर्को यथार्थ के हो भने, आज नेपालको र नेपालीको आर्थिक अवस्था जसरी उकासिएको छ, त्यसमा संसारभर फैलिएर काम गर्ने नेपालीको ठूलो हात छ। उनीहरूले आर्जन गरेको रेमिटेन्स, सीप, ज्ञान, आत्मविश्वास, काम गर्ने आदत र 'ग्लोबल कनेक्सन' आज र भोलिको नेपालका लागि ठूलो तागत हो। आज पनि विदेशमा काम गरेर सबै हिसाबले क्षमता आर्जन गरेका धेरै नेपालीहरू फर्किरहेका छन्। बाहिरै बस्नेले पनि नेपालमा सानोठूलो लगानी गरिरहेका छन्। कुनै न कुनै हिसाबले नेपाली समाजसँग जोडिइरहेका छन्, नेपाललाई सहयोग गरिरहेका छन्। जसै नेपाली समाजको आर्थिक हैसियत उकासिँदै जान्छ, उनीहरू नेपाल फर्किने र यहीँ बस्ने, काम गर्ने क्रम पनि बढ्दै जानेछ। संसारका धेरै देशको इतिहासले त्यही देखाउँछ।
त्यसैले हामीले नेपालीहरू विदेश गए भनेर 'रोइलो' गर्ने होइन, उनीहरूले आर्जन गरेको यो तागतको कसरी सदुपयोग गर्ने, उनीहरूलाई कसरी नेपालसँग जोडिराख्ने भन्नेमा ध्यान पुर्याउनुपर्छ। योजना बनाउनुपर्छ।
***