छरितो ज्यान, हँसिलो मुहार। मसिनो काँटीकी उनी झट्ट हेर्दा भर्खरै टिन एज पार गरेकी किशोरी जस्ति देखिन्छिन्। तर उनको उमेर चार दशक पुग्नै लाग्यो। हाइकिङ गर्दा उनी कक्षा ७ मा पढ्ने छोरी खुशीसँगै उकाली–ओराली गर्छिन। उचित आहार, विहार र विचारबाट रामदेवी महर्जन स्वस्थ बनेकी हुन्।
बाहिरी रुप मात्रै होइन, भित्री मनैदेखि सुन्दर छिन् उनी। कुशल योग प्रशिक्षक समेत रहेकी रामदेवीको व्यक्तित्व उज्यालो छ।
कुनै पनि लोभ, लालच, इष्र्याबाट माथि उठेर सेवा भावले सबैको भलो चिताउने मान्छेको मुहार धपक्कै बल्दो रहेछ। मन सफा भयो भने त्यो अनुहारमा झल्किन्छ, त्यसैले होला उनको अनुहार पनि सधैं चम्किएको।
संसारका सबै मान्छे निरोगी हुन चाहन्छन्। निरोगी नै सुखि हुन्छ। मान्छेको सबैभन्दा ठूलो धन भनेकै स्वास्थ्य हो। स्वास्थ्य भएन भने जीवनमा केही गर्न सकिँदैन। निरोगी समाज निर्माण अभियानमा हिँडेकी महिला हुन् रामदेवी। हामीले मातृभूमिको गुन तिर्नु पर्छ। जिम्मेवार नागरिक भएकैले हो उनको सपना र जपना सबैको केन्द्रमा समाज हुन्छ।
उनले गाउँ–गाउँ डुलेर समाज बुझेकी छिन्। प्रकृतिको न्यानो माया पाएकी छिन्।
साहसी महिला हुन् रामदेवी। उनले जति धेरैपटक हाइकिङ गर्ने महिला काठमाडौंमा अर्को कोही छैन होला ! काठमाडौं वरपर उनी नपुगेका डाँडाकाँडा छैनन्। सय पटक भन्दा बढी हाइकिङ गरिसकिन् उनले। उनी कुशल हाइकर्स मात्र होइन, हाइकर्सहरुको प्रेरणाश्रोत पनि हुन्। विभिन्न राष्ट्रिय दैनिक पत्रिका र अनलाइन न्युजपेपरमा बेलाबेलामा हाइकिङ र जनस्वास्थ्यका विषयमा लेख लेख्छिन्। ज्ञानबर्धक एवं स्वास्थ्यबर्धक हुन्छन् उनका लेखहरु।
नेपालमा स्वस्थ हाइकिङ अभियान चलाउँदै आएको प्रकृतिप्रेमी समूहसँग सम्बद्ध छिन् उनी। त्यही अभियानमा सामेल भएर उनी हाइकिङ गर्छिन्। अरुलाई पनि प्रेरित गर्छिन। उनको समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको छ। उसले १२७ औं पटक हाइकिङ गराइसकेको छ।
चौंथो शनिबार सयौं हाइकर्स निलो क्याप लगाएर हिँड्छन्। रामदेवी पछिल्लो लहरमा बसेर हिँड्न नसक्नेको हौसला बढाउँछिन्। समस्यामा परेकाहरुको झोला समेत बोकिदिन्छिन्। त्यही सहयोगी भावना भएकाले होला हाइकर्सहरुको आँखाको नानी बनेकी छिन् उनी। हाइकर्सहरुसँग स्वास्थ्यका कुरा गर्छिन् उनी।
हिँड्दाहिँड्दै सेलिब्रिटी बनिन् रामदेवी। ‘आफ्नो लागि केही गर्नै नपर्ने रहेछ। सबैको भलाई हुने काम गरे स्वतः आफ्नो पनि कल्याण हुने रहेछ’, उनी भन्छिन्, ‘मान्छे भएर जन्मेपछि हामीले समाजका लागि केही गर्नै पर्छ।’ काम गर्दै जाँदा नाउँ आफैं उनको पछि लागेर आयो।
अचेल धेरैले चिन्छन् उनलाई। मिडिया उनकै लेख माग्छन्। उनको लेखनले काठमाडौंमा मात्रै होइन, मोफसलमा पनि हाइकिङ जागरण ल्याउन मद्धत पुर्याएको देखिन्छ। उनको कलमले स्वास्थ्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको छ।
हाइकिङ क्विनका रुपमा स्थापित भैसकिन् रामदेवी।
चिनेजानेकाहरु कतै घुम्न जानु पर्यो भने उनीसँग जानकारी माग्छन्। बिशेषतः पदयात्राविज्ञ भने फरक पर्दैन उनलाई। पदयात्रा कसरी गर्ने, कहाँकहाँ गर्ने, केके साबधानी अपनाउने, के कस्तो तयारी गर्ने, खाना कस्तो खाने आदि सबै कुराको राम्रो जानकारी बाँड्छिन् उनी।
यात्राले स्वास्थ्य लाभ हुन्छ, मान्छेलाई जाँगरिलो बनाउँछ। शरीरमा स्फूर्ती बढाउँछ। नयाँ चिज, नदेखेको ठाउँ देख्न सकिन्छ भने मनमा उर्जा बढ्छ। घुम्न टाढै जानु पर्छ भन्ने छैन, आफ्नै गाउँबस्ती वरपर जता डुले पनि हुन्छ। यत्ति हो एक्लै घुम्नु ठिक होइन, समूहमा यात्रा गर्दा धेरै हिसाबले सजिलो हुन्छ।
काठमाडौं उपत्यकाकै कुरा गरौं न, गज्जबकै जीवनशैली भेटिन्छ यहाँ। सहरमा कोलाहल, मान्छे–मान्छे, धुलो, धुवाँ, गाडि, घरैघर। तर, सहर छेउकै चक्रपथबाट केही बाहिर जानेवित्तिकै बेग्लै परिवेश पाइन्छ। शान्त गाउँ, हरियालीमा स्वच्छ अक्सिजन। सफा पानी, सफा हावा र निलो आकाश। गाउँमा निश्चल मुस्कान पाइन्छ। जहाँ पुग्दा स्फूर्ति छाउँछ।
गाउँघर डुल्दा रामदेवीहरुको मन रमाउँछ। भलै विकासका आधारभूत पूर्वाधारहरु सडक, ढल, धारा, विद्यालय आदिको राम्रो सुविधा पुगिनसकेको भएता पनि ती गाउँमा आत्मीयता पाइन्छ। प्रकृतिको आशिवार्द मिल्छ।
एउटा मान्छे स्वस्थ हुन हरेक दिन बिहान कम्तिमा ४५ मिनेट हिँड्नु पर्छ। त्यसका साथै कम्तिमा महिनाको एक दिन हाइकिङ गरेमा शरीर र मन तन्दुरस्त राख्न सकिने उनी वताउँछिन्।
‘हाइकिङ/ट्रेकिङ गर्दा हात खुट्टाको राम्रो कसरत हुन्छ। शरीरबाट पसिना बग्छ। पसिना मार्फत शरीरको विकार बाहिरिन्छ। मनमा उर्जा बढ्छ’, उनको अनुभव भन्छ, ‘अर्को कुरा पदयात्रामा हामी समाजलाई चिन्न सक्छौं।’
सम्झनाका भकारीभरि छन् घुमफिरका अनुभवहरु। चराको चिरविर सुन्दै हिँड्दा, मनसुनमा हल्का पानीमा रुझ्दा, चर्को घाममा छाताको ओत लाग्दा, सिजन अनुसार ऐंसेलु, काफल, चुत्रो, आरुबखडा वा काँक्रो खाँदाको आनन्द बेग्लै हुन्छ। साथै विभिन्न पेशा र समुदायका हाइकर्सका कथा सुन्दै हिँड्दा ज्ञानको भण्डार फराकिलो बन्छ। आफ्नै गाउँ ठाउँमा पसिना चुहाउँदै/चिप्लिँदै हिँड्दा देशप्रतिको मायाप्रेम झन प्रगाढ हुने सुनाइन् उनले।
अहिले काठमाडौंमा हाइकिङ कल्चर हवात्तै बढेको छ। स्वास्थ्यका लागि हाइकिङ गर्नु पर्छ भन्ने धेरैले बुझिसकेका छन्। तर, मनपरी खाएर मनपर्दो ढंगले हिँड्ने जमात पनि ठूलै छ। स्वास्थ्यलाई केन्द्रविन्दुमा राखेर हाइकिङ गर्नु पर्नेमा उनको समूहले जोड दिन्छ।
मान्छेहरु तौल घटाउने भन्दै हाइकिङ गर्छन्। तर, बुझेर हो वा नबुझेर मनपर्दि खाएर हिँड्छन् र हाइकिङ गर्दा पनि तौल घटेन भनेर गुनासो गर्छन। वास्तवमा हिँडेर मात्र तौल घट्दैन, हाइकिङले शरीर बलियो बनाउँछ। तर, तौल घटाउन भने खानपान मिलाएर हिँड्नु पर्ने सञ्देश समूहले दिँदै आएको छ।
‘मदिरा, जंक फुड र फास्ट फुड खाएर हाइकिङ गर्दा स्वास्थ्यलाई राम्रो गर्दैन’, रामदेवी भन्छिन्, ‘त्यसैले स्वास्थ्यवर्धक खाना खाएर मर्यादित ढँगले हिँड्नु पर्छ।’
प्रकृतिप्रेमी समूहको हाइकिङमा मैदाजन्य खाना र जंक फुड निषेध गरिन्छ। त्यहाँ स्वास्थ्यवर्धक खाना खुवाइन्छ जसमा एक भाग पकाएको अन्न, एक भाग पकाइएको हरियो तरकारी र एक भाग काँचो सलाद (मौसम अनुसारका फलफूल) खुवाइन्छ। यसरी खाँदा पाचन प्रक्रिया राम्रो हुन्छ। कब्जियत हुँदैन। आखिर कब्जियत नै सबै रोगको आधारभूमि हो। कब्जियत नभएपछि रोग लाग्दैन।
उनको हाइकिङमा स्वस्थ रहने व्यवहारीक अभ्यास गराइन्छ। त्यस्तै पानी खाँदा पनि विचार पुर्याउनु पर्छ। कहिल्यै पनि ठोस र तरल पर्दाथ सँगै खानु हुँदैन। खाना खानु भन्दा कम्तिमा एक घन्टा अघि र खानापछि कम्तिमा एक घन्टा पछि पानी पिउनु पर्छ। यति कुरा विचार गरे मात्र पनि धेरै राहत मिल्ने उनको समूहले सिकाउँदै आएको छ।
हामीले शरीर हल्लाएर गर्ने सबै किसिमका क्रियाकलाप उचित विहारमा पर्छ। हाम्रो शरीरका सबै अंगको कसरत हुनु पर्छ। चाहे त्यो काम गरेर होस् या योग गरेर। अनि सकारात्मक सोच नै उचित विचार हो। यी तीन कुरा ख्याल गरेमा जिन्दगीमा सुख मिल्छ। ‘जन्मेदेखि नमरेसम्म हामी आहार, विहार र विचार गछौं’, प्रकृतिप्रेमी समूह भन्छ, ‘यी तीन चिज सही भयो भने स्वस्थ रहन सकिन्छ।’
ललितपुरको सातदोबाटोमा रहेको निरोगधाम (प्रकृतिप्रेमि समूह) परोपकारी संस्था हो। यसले निरोगी रहन स्वास्थ्य परामर्श दिन्छ। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ भन्ने मुख्य नारा बोकेर उचित आहार, विहार र विचार मार्फत समाज बदल्ने अभियानमा लम्किएको छ समूह।
हाइकिङ त उचित विहार अन्तर्गतको एउटा कार्यक्रम मात्रै हो। समूहले स्वास्थ्य सम्बन्धी दुई दर्जन भन्दा बढी कार्यक्रम गर्दै आएको छ। उसले प्रकृतिमा रहेका सरल नियम अनुसरण गरेर अघि बढ्न प्रेरित गर्छ।
संसारलाई निरोगी, सुखी र आनन्दित बनाउन हिँडेको त्यही संस्था निरोगधामकी एउटी जिम्मेवार सदस्य हुन् रामदेवी। अन्तवार्ताका क्रममा रामदेवीले धेरैपटक डा. उमेश श्रेष्ठको नाउँ लिइन्। उनको समूहका संस्थापक तिनै डाक्टर हुन्। तिनै गुरुबाट उनले हाइकिङ लगायत स्वास्थ्य ज्ञान आर्जन गरेकी रैछन्।
सानो छँदा डाक्टर बन्न चाहन्थिन रामदेवी। उनले स्वास्थ्य सम्बन्धी औपचारिक डिग्रि हासिल गरेकी छैनन्। तर, निरोगधामको संगतले स्वास्थ्य परामर्श दिन सक्ने भैसकिन्। ‘मान्छेको सबैभन्दा ठूलो धन नै स्वास्थ्य हो’, उनी भन्छिन्, ‘स्वास्थ्य ज्ञान फैलाएर सबैलाई निरोगी बनाउने अभियानमा जिन्दगी विताउने मन छ।’
फर्केर हेर्दा आफ्नै जीवन कथा जस्तो लाग्छ उनलाई। विसं २०६३ सालमा उनी पहिलोपटक हाइकिङ गएकी थिइन ललितपुरको लेले हेलिप्याडमा। त्यो दिन चर्को घाममा हिँड्न नसकेर गलेकी थिइन्। चर्को टाउको दुखेर वान्ता समेत भएको थियो।
सुरुका दिनमा हाइकिङ गर्न सजिलो भएन उनलाई। उकाली ओराली देख्दा डराउँथिन्। तर, आज उनी समूहका अगुवाहरुसँग पहिला हाइकिङ रुट चेक गरेर फेरी हाइकर्सलाई घुमाउन सक्ने भैसकिन्। समयसँगै हिँड्दै जाँदा उनको आत्मबल बढ्दै गयो। हिम्मत बढ्यो। नशा नै बन्यो हाइकिङ।
‘हाइकिङ र ट्रेकिङमा धेरैतिर घुम्यौं’, उनी भन्छिन्, ‘अझै धेरै छन् पुग्नु पर्ने ठाउँहरु। सिक्नु पर्ने कुराहरु। नेपाललाई अझै नजिकबाट चिन्न र बुझ्न चाहन्छु।’
हाइकिङ गर्दा सामान्यतः दिनमा ६–७ घन्टा हिँडिन्छ। उनका खुट्टा यति बलिया छन् कि उनी दिनमा १२ घन्टासम्म उकाली ओराली गर्न सक्छिन्। यसपाली दसैं लगत्तै उनको समूहले दक्षिणी ललितपुरको दल्चोकीलाई आधार बनाएर सेरोफेरोमा यस्तै टफ पदयात्रा गरेको थियो।
समूहले वर्षको दुईपटक टाढा टाढा बहुदिने पदयात्रा पनि गराउँछ। यस्तो लामो यात्रामा रामदेवी लाङटाङ, सिरुबारी, सगरमाथा, पुनहिल, नाम्जे, राराताल, अन्नपूर्ण सर्किट लगायत ठाउँ घुमिसकिन्। त्यहाँबाट धेरै ज्ञानज्ञुन सिकिन्।
विदेशी लाखौं रुपैयाँ खर्चेर नेपाल आउँछन्। हामी नेपाली आफ्नै गाउँ ठाउँ किन नघुम्ने ? सकुञ्जेल समय मिलाएर घुम्नु पर्ने र पहिला नेपाल घुमेर मात्रै विदेश घुम्न जानु राम्रो हुने उनको सुझाब छ।
आफ्नो भारी आफैं बोकेर हिँड्छन् उनीहरु। यात्रामा गाउँले र अन्य पदयात्रीलाई स्वास्थ्य सल्लाह बाँड्छन्। सगरमाथा र रारा पदयात्रामा जाँदा उनलाई पसिना चुहाइरहेका भरिया र भारी बोकिरहेका खच्चड नै भगवान हुन् जस्तो लाग्यो रे ! ‘
‘जसले अरुलाई सहयोग गर्छ त्यही भगवान हो’, उनलाई लाग्छ, ‘भगवान छ कि छैन हामीलाई थाहा छैन। तर मेहनती भरिया दाईहरु र तिनै खच्चडहरु जसको बिना हिमाली भेकको जीवन संभव छैन तिनमै भगवान देखें मैले।’
यात्रामा अनुभव गर्न पाइने भौगोलिक, जातिय, धार्मिक, साँस्कृतिक एवं जैविक विविधताभित्रको सौन्दर्यले मोहित बनाउँछ उनलाई। विविधताभित्र नेपालीबीचको एकताको भावनालाई अझै मजबुत बनाउनु पर्ने देखेकी छन् उनले।
मरेपछि स्वर्ग पुगिन्छ भन्ने भनाई छ। तर, घुमघाम गर्दा रामदेवीलाई लाग्छ नेपाल नै स्वर्ग हो।
साँच्चै कहिलेदेखि हाइकिङमा टक बस्यो त उनको ?
ललितपुर, धापाखेलको किसान परिवारमा जन्मेकी उनले वाल्यकालदेखि नै माटोको सुगन्ध सुँघ्न पाइन। खेतबारीसँग उनको नाता जोडियो। आमाबाको मिहिनेतबाट पसिनाको मोल थाहा पाइन्। तर, जीवनको लामो कालखण्डसम्म उनी काठमाडौं सेरोफेरोका डाँडामा पुग्न पाएकी थिइनन्।
निरागेधाम पुगेपछि बल्ल उनको हाइकिङ यात्रा शुभारम्भ भयो। हाइकिङले उनलाई जस्तो सुकै समयमा पनि धैर्य गर्न सिकायो। नेपाल चिनायो, देश प्रतिको माया बढायो।
बच्चैबेलादेखि उनमा टाउको दुख्ने समस्या थियो। चर्को टाउको दुखाई, सधैं ओखती खानु पथ्र्यो। धेरै अस्पताल चाहारिन उनले। माइग्रेन भएको भनियो। पछि पछि डाक्टर भन्थे, ‘तिम्रो बच्चाबेलादेखिको रोग अब निको हुँदैन।’
त्यसैले प्राकृतिक स्वास्थ्य ज्ञान लिन उनी निरोगधाम पुगिन्। त्यहाँका प्राकृतिक चिकित्सक उमेश श्रेष्ठले खानपान मिलाउन सुझाब दिए। ‘त्यत्रो औषधीले काम नगरेको ठाउँमा खानपान मिलाएर के होला’ भन्ने लागेछ उनलाई। सुरुका केही महिना उनले डा. उमेशका कुरालाई ध्यान दिइनन्।
समस्या बल्झियो। फेरी तिनै डाक्टरसाप्सँग भेटेर उनले खानपान मिलाउँदै जाँदा टाउको दुखाई कम हुँदै गयो। र, निको भयो। आहार, विहार र विचार नमिले रोगले गाँज्दो रहेछ भन्ने सत्य थाहा पाएपछि आफु जस्तै समस्या भएकालाई यो ज्ञान दिन उनले यो सरल र सही कुरा समाजमा फैलाउने विचार गरिन्। र, निरोगधाममै बसेर काम गर्न थालिन्। आज उनी उचित आहार, विहार र विचार (उआविवि) अभियान अघि बढाउँदैछिन्।
समाजमा सही कुरा फैलाउन पनि समय लाग्छ। मान्छेलाई सुबाटोमा हिँडाउन, उज्यालोमा लम्काउन पनि धेरै समय लाग्छ। मान्छेले सही कुरा जीवनमा लागु गरुन् भनेर अगुवाले बरोबर घच्घच्याइरहनु पर्ने उनी बताउँछिन्।
रोग लागेपछि उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु बेस। प्रकृतिको नियम पालना गरेमा निरोगी बनिन्छ। कुनैबेला घाम देखेर टाउको दुख्ला भनेर डराउने रामदेवी आज स्वस्थ छिन्। उआविवि अभ्यासले बलियो भएकि छिन्।
उनको पाठशाला बन्यो निरोगधाम। निरोगधामले आफ्नो डाक्टर आफैं बन्नु पर्छ भन्ने सिकाउँछ। के खाँदा रोग लाग्छ, कसरी रोगबाट मुक्त हुन सकिन्छ भन्ने बुझाउँछ। उआविविको व्यवहारिक आवासिय अभ्यास गराउन उसले ललितपुरको दलचोकीमा निरोग आनन्दधाम बनाएको छ।
काठमाडौं उपत्यकाको कर्णाली भनेर चिनिएको दक्षिणी ललितपुर विकास र भौतिक पूर्वाधारका हिसाबले पनि पछि छ। तर, त्यहाँ प्रकृतिको अनुपम भण्डार छ। त्यही सुन्दर भूमीको पर्यटन विकासमा समूह क्रियाशील छ।
रामदेवी पनि दक्षिणी ललितपुरको संभावना एक्सप्लोर गर्न चाहन्छिन्।
एउटा खुशीको खबर–रामदेवीले लेखेको हाइकिङ सम्बन्धी पुस्तक आउँदैछ। काठमाडौं सेरोफेरोका पाँच दर्जन गन्तव्यहरु र दर्जन होमस्टेको चिनारी समेटिएको पुस्तक ‘हाइकिङ काठमाडौं’ प्रकाशनको अन्तिम चरणमा पुगेको छ। विशेषतः विदेशी पर्यटकका लागि नक्शा, गाइड बुक, पोस्टरका साथै कोसेली उत्पादनमा अग्रणी कम्पनी हिमालयन म्याप हाउसले उनको पुस्तक नेपाली भाषामा प्रकाशन गर्न लागेको हो।
यो पुस्तकले हाइकर्सलाई त फाइदा पुग्छ नै साथै स्वस्थ पदयात्रा कसरी गर्नुपर्छ भन्ने कुरा पनि सिकाउँछ। साइक्लिङ, बाइकिङ र मोटर ड्राइभिङमा घुमफिर गर्नेहरुका लागि पनि त्यसले गाइड बुकका रुपमा काम गर्नेमा उनी आशावादी छिन्। पुस्तकमा हाइकिङ गन्तव्यको चिनारी, योग, तीन बराबर आहार लगायत स्वास्थ्य ज्ञान समेटिएको छ।
एक्लैएक्लै हिँडेर लक्ष्य भेट्न सकिँदैन। जीवनमा धेरैको साथ चाहिन्छ। सधैं सत्मार्गमा हिँड्न प्रेरित गर्ने परिवार र राम्रो काम गर्दा हौसला बढाउने साथीहरु उनको हृदयमा बसेका छन्। आफूलाई आत्मज्ञान दिएर सक्षम बनाउने गुरु डा. उमेश श्रेष्ठ र प्रकृतिप्रेमी समूह परिवारले ठूलो गुन लगाएको रामदेवी बताउँछिन्।
कोमल हृदयकी उनी सहयोग गरेर कहिल्यै थाक्दिनन्। हाइकिङ र टे«किङमा मात्र होइन, टोल, छिमेक र बाटोघाटोमा गरिब दुःखी भेटेमा मन खोलेर सहयोग गर्छिन। हो त सेवामै सन्तुष्टि मिल्छ। पछि देशका विकट गाउँघरमा गएर स्वास्थ्य ज्ञान र जनचेतना जगाउने उनको इच्छा छ।
रामदेवीलाई आमा जयन्ती सधैं भन्ने गर्थिन्, ‘छोरी कहिल्यै कसैको कुभलो नचिताउनु। इमान्दार बन्नु। सधैं सबैलाई सहयोग गर्नु है !’
आमाको भनाई शिरमै राखेकी छिन् उनले।
गाउँघर डुल्दा उनको मन दुख्छ। प्रायः सबै गाउँ युवाविहिन छन्। युवाले आफ्नै गाउँ ठाउँमा पसिना चुहाए, नयाँ प्रविधिमा काम गरेमा देशमै सुन फलाउन सक्छन्। उनी विदेशिएका र विदेसिने मुडमा बसेका युवालाई आग्रह गर्छिन्, ‘कृषि, घरेलु उद्योग, पर्यटन क्षेत्र आदिमा स्वदेशमै काम गरौं।’
प्रकृतिले सिंगारेको देश यति सुन्दर छ। प्राकृतिक सुन्दरतामा मिठो मुस्कान, न्यानो प्रेमसंगै कला, संस्कृतिलाई समेटेर स्वस्थ पर्यटन विकास गर्नु पर्नेमा उनको जोड छ। ‘पहिला आन्तरिक पर्यटनमा जोड दिऔं। हाइकिङले आन्तरिक पर्यटन विकास हुन्छ। प्रेम, सद्भाव, सम्मान र भाइचारा बढ्छ’, उनी आग्रह गर्छिन्, ‘त्यसैले सुगममा बस्नेहरु दुर्गमतिर घुमौं। गाउँका समस्या समाधानमा हातेमालो गरौं।’
जिम्मेवार भएर यात्रा गर्नु पर्छ भन्छिन् रामदेवी। त्यसैले मनपरी खाँदै हिँड्नु हुँदैन। अनुशासित रुपमा भैगोलिक बनोट, गाउँघर, जीवनशैली र रहनसहन बुझ्नु पर्छ।
आजका बालबालिका नै भोलिका कर्णधार। उनीहरुको स्वास्थ्य राम्रो भयो भने मात्रै भोलिको नेपाल स्वस्थ बन्छ। ‘दुःखको कुरो अचेलका बालबालिकामा जंक फुड र फास्ट फुडको लत बसेको छ’, रामदेवी चिन्तित छिन्, ‘त्यतिमात्र होइन, टिभी, मोबाइल, भिडियो गेममा झुम्मिएका छन्।’
उनीहरुलाई स्वस्थ खाना खान प्रेरित गर्ने र विदाको दिनमा गाउँ पाखामा घुमाउने बानी विकास गर्नु पर्ने उनी वताउँछन्। घुमाउँदा उनीहरुले देश चिन्छन्। किताबमा पढेका कुरा प्रत्यक्ष देख्छन्।
आफुसँग भएका चिजमा रमाउन सक्ने बानी छ रामदेवीको। सन्तोकी छिन्। त्यसैले सुखी छिन्। आखिर जन्मेपछि एक दिन मनै पर्छ, अजम्बरी कोही छैन। जन्म र मृत्यु हाम्रो हातको कुरा होइन, तर जन्म र मृत्यु वीचको समय हाम्रो हातमा छ। जन्म र मृत्यु विचको यो समयलाई सबैको कल्याण हुने काममा सदुपयोग गर्नु पर्नेमा उनी सचेत छिन्।
साँच्चै हाम्रो मुलुकलाई सम्बृद्ध बनाउन रामदेवी जस्ता सकारात्मक सोच भएका मिहिनेती युवाको खाँचो छ। सेवा भावनाले ओतप्रोत हाइकिङ क्विनमा उर्जा बढ्दै जाओस्। हाइकिङ र स्वास्थ्यको दियालो झन्झन् चम्किलो बन्दै जाओस्।