नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)मा सिएन पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ।
नाट्टाको निर्वाचन आउन केही दिन बाँकी रहँदा आज काठमाडौंमा संयुक्त व्यवसायी प्यानलको तर्फबाट पाण्डेको अध्यक्षतामा उम्मेदवारी घोषणा गरेको हो।
कार्यसमितिको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्ष सुनिल शर्मा, महासचिव रमेश थापा, सचिव हरिभक्त श्रेष्ठ, कोषाध्यक्ष राजकुमार थापा र सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई रहेका छन्।
यस्तै, सदस्यमा इनु थापा, कुमारमणि थपलिया, फुरी ग्याल्जेङ शेर्पा, सुदर्शन नेपाल, रमेश पौडेल, देवकी गुरुङ, राजु ढकाल र रमेश श्रेष्ठको नाम घोषणा गरेको हो ।
घोषणा सभामा अध्यक्षका दाबेदार पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा काम गर्ने बताए। उनले नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवर्द्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
नाट्टालाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी घोषणा गरेको अध्यक्षका उम्मेद्वार पाण्डेले बताए।
वाम गठबन्धननिकट पाण्डेले राजनीतिक आस्थाभन्दा माथि उठेर नाट्टामा आफूले व्यावसायिक नेतृत्व गर्न चाहेको बताउँदै सोही अनुरुप विविध विचार आस्था सम्बद्ध सबै पक्षले आफूलाई साथ हुने बताए।
उनले आफू नेतृत्वमा नभए पनि नाट्टामार्फत व्यवसायीको हकहित तथा पर्यटन, प्रवद्र्धन र विकासका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पारे।
पाण्डेले टुर्स र ट्राभल्स क्षेत्रमा रहेको समस्यालाई समाधान गर्नका लागि आफूले सबै सरोकारवालालाई समेटेर अगाडि बढ्ने स्पष्ट पारे।
यसैबीच कोषाध्यक्षका उम्मेद्वार राजकुमार थापाले संस्थाको पारदर्सिताका लागि आफूले उम्मेद्वार दिएको बताए। साना-ठूला सबैखाले संघ संस्थालाई समान हैसियतले राज्यले दिने सेवा सुविधा प्रदान गर्न र आर्थिक पारदर्शिताका लागि आफूले उम्मेद्वारी दिएको बताए।
पचास वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता संगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् भने साधारणसभामा ४६७ मतदाताले भाग लिनेछन् । यही पुस २८ गते नाट्टाको ५१ औँ साधारणसभा हुँदैछ।