पर्यटन आकर्षणको केन्द्र मुस्ताङ प्राकृतिक रुपले मात्र होइन धार्मिक तथा पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको भन्ने सन्देश दिने गीति एल्बम ‘हाम्रो मुस्ताङ’ विमोचन गरिएको छ।
नेकपा एमालेका युवा नेता तथा सांसद रविन्द्र अधिकारी, गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, गीतकार बिपिन किरण, संगीतकार मिलन मोक्तान, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले उक्त एल्बमको संयुक्त काठमाडौंमा विमोचन गरेका हुन्।
समारोहमा मुस्ताङको सुन्दरतालाई वर्णन गर्दै रचना गरिएको एल्बमको शीर्षक गीत ‘हाम्रो मुस्ताङ’ को म्युजिक भिडियो प्रिमियर समेत गरिएको थियो।
गीतमा गायिका टीका प्रसाईंको स्वर छ। सन्तोष कोन्मेको निर्देशन, छायांकन तथा सम्पादन रहेको उक्त भिडियोका परिकल्पनाकार बादल थकाली हुन्। पर्यटकीय दृष्टिकोणबाट विश्वकै सुन्दर ठाउँ मुस्ताङको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार गर्ने उदेश्यले उक्त म्युजिक भिडियो तयार पारिएको हो।
विमोचन समारोहमा एल्बमका परिकल्पनाकार बादल थकालीले एल्बममार्फत मुस्ताङको प्राकृतिक सौन्दर्यसहित कोरला नाका खुलाउनका लागि आह्वान समेत गरिएको जानकारी दिए।
गीतकार बिपिन किरणले शब्दमार्फत मुस्ताङको सेरोफेरोमात्र समेटेका छैनन्, गीतैमार्फत कोरला नाका खोल्न आग्रह समेत गरिएको छ।
मुस्ताङको प्रचार–प्रसार गर्ने उदेश्यले तयार पारिएको उक्त गीति एल्बममा सात वटा गीत समावेश छन्। एल्बमका गीतमा टीका प्रसाईंसहित कृष्ण काफ्ले, रेश्मा पुन तथा लेखराज गुरुङका स्वरहरु सुन्न सकिन्छ। एल्बमका सबै गीतमा मिलन मोक्तानको संगीत निर्देशन छ।
एल्बमका गीतमार्फत मुस्ताङको पर्यटकीय आकर्षण, धार्मिकस्थल, कला, संस्कृतिलाई उजागर गरिएको निर्माता निरज थकालीले बताए।
विमोचन समारोहमा युवा नेता रविन्द्र अधिकारीले गीत–संगीतको माध्यमबाट आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य राखिएकोमा खुशी व्यक्त गरे।
गीतकार बिपिन किरणले गीतमार्फत मुस्ताङको झझल्को दिन खोजिएको बताए।
https://youtu.be/KIqRs3ltUCo