पटक/पटक मिति सार्दा सार्दा अन्ततः २०७८ साल पुस ३ गते शनिबारका दिन ललितपुरस्थित कालेश्वर महादेवको दर्शनका लागि जाने पक्का भयो।
पुसको निकै चिसो बिहानीमा राम्ररी उज्यालो समेत नहुँदै हामी चार जना साथीहरू बिहान ६ः३० बजेको निर्धारित समयमा चाबहिल पिपलबोटमा जम्मा भई गाडी चढेर गन्तव्यतर्फ प्रस्थान गर्यौं।
जाडोको समय र साप्ताहिक बिदाको दिन समेत भएकाले राजधानी पूरै ब्युँझिसकेको थिएन। बाटोमा सवारीको चहलपहल खासै थिएन। गौशाला, कोटेश्वर, सातदोबाटो हुँदै हामी चापागाउँतर्फ लाग्यौं।
बाटोमा धुम्म कुहिरो र जमिनमा टम्म तुषारो जमेका थिए। धेरैपछि यस्तो तुषारो देख्दा बाल्यकालको याद आयो।
करिब ८:३० बजेतिर कोन्ज्योसोम (तामाङ भाषामा कोन्ज्योसोमको अर्थ ब्रह्मा, विष्णु, महेश्वर हुन्छ) गाउँपालिकामा पर्ने भारदेउ भनिने स्थानमा पुगेर तात्तातो चिया खायौं। घाम मज्जाले लागिसक्दा पनि वातावरण निकै चिसो थियो।
अगाडिको बाटो त्यति राम्रो थिएन। घरहरू धेरै दूरीमा फाट्टफुट्ट मात्र देखिन्थे। पसलहरू थिएनन् भन्दा पनि हुन्छ। कतै–कतैमात्र मानिस हिँडेका भेटिन्थे। स्वच्छ हरियाली र छर्लंग देखिएका हिमालहरूले गर्दा वातावरण भने मनमोहक थियोे।
हामी यिनै दृश्यहरू नियाल्दै बिहान १० बजेतिर करिब ५९ किलोमिटर यात्रापश्चात ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने गोटीखेल बजारमा पुग्यौं।
गोटीखेल एउटा सानो बजार हो। यहाँ इलाका प्रशासन कार्यालय लगायतका सरकारी निकाय छन्। यहाँ खानपिनका लागि होटल, गेष्टहाउस आदिको सुविधा पनि उपलब्ध छ। खुवाको लागि पनि यो ठाउँ प्रख्यात रहेछ। प्राचीनकालमा यमराजले महादेवको तपस्या गर्दा, मूल खोला, धामीखोला र मसान खोलाको संगममा रहेको यहाँको त्रिवेणीमा नुहाएका थिए रे! यमराज अर्थात् कालले नुहाएको भएर सो खोलालाई कालमोचन खोला समेत भनिन्छ।
कालेश्वर पुग्नु पहिले यसै स्थानमा रहेको वैतरणीधाममा स्नान गर्ने परम्परा रहेछ। यहाँको मसान खोला दक्षिणबाट उत्तरतिर बग्ने गर्छ। हिन्दू धर्मशास्त्रमा यस्ता उत्तरबाहिनी नदीको ठूलो महत्व छ। त्रिवेणी अर्थात् वैतरणीधाम व्यवस्थित रहेछ।
जलाशय बनाएर यसको वरिपरि कलात्मक ढुङ्गेधाराबाट पानी झर्ने व्यवस्था गरिएको रहेछ। यहाँ चौसठ्ठी शिवलिङ्ग, हनुमान, तारकेश्वर महादेवको मन्दिर, गौशाला र धर्मशाला पनि छ। यहाँबाट कालेश्वर जान उकालो चढ्नुपर्ने रहेछ। हामीले खानपिनको व्यवस्थाबारे बुझ्यौं। अग्रिम अर्डर गर्नुपर्ने रहेछ। त्यसैले त्यहाँको एउटा होटलको सम्पर्क नम्बर लिएर गोटीखेलबाट हामी कालेश्वरतर्फको उकालो लाग्यौं।
भर्खर भर्खर बनाएको कच्ची ढुङ्गेबाटो त्यति सहज थिएन। हाम्रो सानो गाडीलाई कतिपय ठाउँमा निकै अप्ठ्यारो पर्यो।
कति ठाउँमा हामी चारै जना ओर्लिएर गाडीमात्रै अगाडि बढाउने अवस्था पनि आयो। यहाँको यात्राको लागि सानो गाडीभन्दा जीप वा मोटरसाइकल उपयुक्त हुने रहेछ। पारिलो घाम लागेको थियो। बाटोमा पाइएला भनेर पानीको व्यवस्था नगरी हिँडेका हामीलाई बाटोमा कतै पसल र घरहरू नभएकाले पानी खान समेत कठिनाइ पर्यो। यहाँ साग र तोरीबाहेक अरू उब्जनी देखिएन। बरू धेरै ठाउँमा लोठसल्ला रोपिएका थिए। स्थानीयका भनाइ अनुसार बाहिरका व्यापारीले प्रतिकिलो तीन सय पचासमा लोठसल्लाको पात किनेर लग्दा रहेछन्।
क्यान्सरको ओैषधी बनाउन प्रयोगमा आउने यी पातहरू पाकिस्तान निकासी हुने गरेको रहेछ। यसबाट केही स्थानीयले रोजगारी त पाएका रहेछन्। तर, यी कच्चापदार्थ प्रयोग गरेर स्वदेशमै ओैषधी उत्पादन हुन सके कति राम्रो हुन्थ्यो होला भन्ने विचार पनि मनमा आए।
यहाँको बाटोमाथि चनढुंगा भनिने सानो ढुंगामा अडेको विशाल चट्टान छ। उहिले कालदेवताले त्रिवेणीमा स्नान गरी यसै ढुंगामा चन्दन घोटेर कालेश्वरलाई चढाउने गर्दथे रे। त्यही चन्दन ढुंगालाई नै अहिले चनढुंगा भन्ने गरेको किम्बदन्ती छ। हत्केलाजस्तो सानो ढुङ्गामाथि विशाल चट्टान अडिएर रहेको यो दृश्य (चनढुङ्गा) वास्तवमै अचम्म लाग्दो छ। पटक पटकका भूकम्प र प्राकृतिक प्रकोपमा समेत यो ढुङ्गा यसैगरी अडिएर रहनु दैवी शक्तिको कारण हो भन्ने स्थानीय बताउँछन्।
अन्ततः गोटीखेलबाट झण्डै ९ किलोमिटर यात्रापछि हामी कालेश्वर मन्दिर नजिकैको सवारी पुग्ने अन्तिम गन्तव्यमा पुग्यौं।
मन्दिर पुग्न त्यहाँबाट झण्डै दुई हात चौडा सानो ढुंगेबाटो हिँड्नु पर्ने रहेछ। समय खेर नफाली हामी गन्तव्यतर्फ अघि बढ्यौं। भिरमा ठाडै चढ्नु पर्ने घुमाउरो र साँघुरो करिब ३ किलोमिटर बाटो बिस्तारै चढ्दै १५ मिनेटको हिँडाइ पछि हामी महांकाल –३, गोटीखेल सिसवनमा पर्ने कालेश्वर महादेवको मन्दिरमा पुग्यौं।
मन्दिरको पूर्वतर्फ जमुन, नारानथान, पश्चिम भट्टेडाँडा, उत्तर कतवन र दक्षिणीमा गिम्दी भन्ने ठाँउहरू पर्दा रहेछन्।
डाँडाको टुप्पोमा रहेको मन्दिर परिसर निकै आकर्षक थियो। पारिलो घामसँगै चारैतिर देखिने हाँसिरहेका निकै मनमोहक थियो। हामी पुग्दा मन्दिरमा ६–७ जना दर्शनार्थीहरू थिए। दर्शन, पूजाअर्चना र अवलोकन गरेर हामीले झण्डै एक घण्टा मन्दिरमा बितायौं।
यहाँ चैत तथा वैशाख महिनाका पूर्णिमाहरू, साउनको सोमबार, माघ महिना र शिवरात्रीका दिनहरूमा भक्तजनहरूको विशेष चहलपहल हुने रहेछ।
मन्दिर संरक्षणमा लागि गठित श्री कालेश्वर महादेव क्षेत्र सुधार समितिद्वारा मन्दिरको रेखदेखदेका लागि बसेका कर्मचारी टेकबहादुर सिंतानले केही वर्ष अघिसम्म मन्दिर आउने दर्शनार्थीको साथ लागेर तल बाटोबाट कुकुर आउने र दर्शनार्थीहरू दर्शन गरेर फर्कंदा उनीहरूसँगै आएका ती कुकुर पनि साथै फर्केर पहिले आएका ठाउँसम्म जाने (अर्थात् भक्तजनलाई मन्दिरसम्म लाने र फर्काउने!) गर्थे भन्ने रोचक जानकारी पनि दिनुभयो।
तर, अहिले ती कुकुरमध्ये केही मरेका र केही विस्थापित भएका रहेछन्।
यहाँ आउने भक्तजनहरूले मन्दिरमा त्रिशूल चढाउने परम्परा रहेछ। मन्दिरमा भक्तजनहरूले चढाएका हजारौं त्रिशूलहरू थुपारिएका देखिन्छन्। ढुंगा छापिएको मन्दिर परिसर व्यवस्थित भएता पनि मन्दिरको वरिपरि छेकबार नहुँदा, अवलोकन वा तस्बिर खिच्ने क्रममा भिरबाट खसेर दुर्घटना हुनसक्ने भएकाले मन्दिर वरिपरिको छेउमा बलियो छेकबारको आवश्यकता महसुुस भयो।
कालेश्वरको उत्पत्ति कसरी भयो भन्ने कुरामा एकमत पाइँदैन। कोही, परापूर्वकालमा जंगलमा बाँस काट्न जाने क्रममा शंखुका एक गाउँलेले गिम्दीस्थित देउता खोलामा लहराबाट दूधजस्तो पदार्थ तपतप चुहिएको देखेर लहराको टुप्पो खोज्दै जाँदा कालेश्वरको डाँडामा महादेवको शिवलिंग भेटेको जनश्रृति सुनेको बताउँछन् भने कोही प्राचीन कालमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कालेश्वरमा कठोर तपस्या गर्दा महादेव प्रकट भई, कालपुरूषले स्थापना गरेको हुनाले सो शिवलिंग कालेश्वरको नामबाट प्रख्यात हुने वरदान दिएको किम्बदन्ती सुनाउँछन्।
यस्तै, सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर संसार भ्रमण गर्दा कालेश्वरमा आई कण्ठ पतन भएको र त्यस ठाउँमा कालेश्वर महादेव उत्पत्ति भएको हो भनेर आफूहरूले सुन्दै आएको पनि केही स्थानीयहरू बताउँछन्।
किम्बदन्तीहरू चाहे जेसुकै किन नहोस्, वर्तमानमा गोटीखेलस्थित कालेश्वर महादेव मन्दिर दक्षिण ललितपुरको आकर्षक धार्मिक पर्यटकीय स्थल हो। कालेश्वर महादेवलाई ललितपुर, लेलेका प्याङ गाउँवासीहरू आफ्नो कूलदेवताका रूपमा पुज्ने गर्दछन्।
इन्द्रजात्राको समयमा हुने कालेश्वर महादेव जात्रा नै यहाँको आफ्नै मौलिक जात्रा हो। मन्दिरको करिब एक घण्टाको बसाइपछि हामी फर्कियौं। माथि आउँदा जस्तो फर्किंदा गाडीलाई असजिलो महसुस भएन।
हामीले माथि मन्दिरबाटै फोनमा खाना अर्डर गरेका थियौं, ओर्लंदा खाना तयार थियो। हामीले गोटीखेलको होटलमा दिउँसो २ बजे खाना खायौं। खाना खाएर एकछिनको विश्रामपछि ३ बजे काठमाडौंतर्फ लाग्यौं।
चिसो भएकाले भारदेउ भन्ने ठाउँमा आई पुगेर ५ बजेतिर चिया पिउनका लागि रोकियौं भने साँझ ६ः१५ बजे झमक्कै परेपछि, बिहान गाडी चढेकै ठाउँमा उत्रिएर दिनभरको यात्रालाई पूर्णविराम लगायौं।
ललितपुर भन्नेबित्तिकै हामी सामान्यतया लगनखेल, जावलाखेल, पाटन र वरपरका बस्ती सम्झन्छौं। तर ललितपुरको त्यति भित्री भागमा आइपुग्दा, केही समयअघि बज्रबाराहीतिर पुगेको बेला मलाई त्यहाँको एक जना साथीले 'यहाँसम्म त ललितपुर करिब १५ प्रतिशत मात्रै होला, बाँकी ८५ प्रतिशत ललितपुर त उता अझै बाँकी छ' भनेको सम्झना आयो।
पूर्वको पुल्चोकीदेखि दक्षिण महाभारत श्रृंखलासम्मको पहाडी भू–भागमा ललितपुर फैलिएको छ।
यही पहाडी भेगमा अवस्थित दक्षिण ललितपुरबारे शायद कमैलाई मात्र थाहा छ। राजधानीसँग कुम जोडेर बसेको भएता पनि जति दक्षिणतिर लाग्यो ललितपुर उति दुर्गम देखिन्छ। तर दक्षिणी ललितपुर पर्यटकीय सम्भावना बोकेको सुन्दर भूगोल हो।
यहाँको महत्वका बारेमा व्यापक प्रचारप्रसार र आकर्षक प्याकेज ल्याउने हो भने बाह्रै महिना सजिलै जान सकिने कालेश्वर मन्दिर र वैतरणीधामलाई एकदिने धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनाउन सकिन्छ। यसका लागि सम्बन्धित सबैको समयमै ध्यानाकर्षण हुनसके आन्तरिक पर्यटन प्रवर्द्धनमा निकै टेवा पुग्नसक्ने देखिन्छ।