पोखरा पर्यटन परिषद्को अध्यक्षमा चिरञ्जीवी पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
पोखरामा रहेका पर्यटनसँग सम्बन्धित १५ वटा संघसंस्थाको पोखरा पर्यटन परिषद् छाता संगठन हो।
परिषद्को १८ औं साधारण सभा तथा १० औं अधिवेशनले पोखरेलको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
परिषद्को उपाध्यक्षमा गोपी बहादुर भट्टराई, महासचिवमा डिल्ली प्रसाद गौतम, सचिवमा तारानाथ पहारी चयन भएका छन्। यस्तै, सदस्यहरूमा कृष्ण प्रसाद भण्डारी, रामजी घिमिरे, रामचन्द्र शर्मा चयन भएका हुन्।
परिषद्को पहिलो बस्ने बैठक तीन जना सदस्यबाट एक जनालाई कोषाध्यक्षका लागि मनोनित गरिने नवनियुक्त अध्यक्ष पोखरेलले जानकारी दिए।
यसअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सभाको उद्घाटन गर्दै पोखरालाई मंसिरसम्ममा पर्यटनको राजधानी घोषणा गरिने तयारी गण्डकी प्रदेश सरकारले गरेको बताए।
मन्त्री लम्सालले पोखरालाई पर्यटनको राजधानी बनाउने तयारी सुरू भएको र मंसिर मसान्तसम्ममा औपचारिक घोषणा गरिने बताए। उनले पोखरालाई पर्यटनको राजधानी बनाउनका लागि पहिले पूर्वाधार निर्माणमा आफूहरू जुट्ने बताए। तर के/ के पूर्वाधार निमार्ण गर्ने भन्ने बारेमा भने उनले उल्खेल गरेनन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले पर्यटन क्षेत्रमा देखिएका विकृति, विसंगति हटाएर पोखरा सुरक्षित छ भन्ने सन्देश दिन सके पोखरालाई चौविसै घण्टा खोल्न आफूहरू तयार रहेको बताए।
गण्डकी प्रदेशका सांसद राजिव पहारीले पर्यटनमा छलाङ मार्न पोखरालाई अन्तर्राष्ट्रिय सहरको रूपमा प्रचार प्रसार विकास गर्नुपर्ने बताए।
परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ, परिषद्का अर्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराई लगायतले पर्यटनमा ठगी, लुटपाट मच्चाउनेलाई कारबाही गर्नुपर्ने बताए ।