अन्नपूर्ण पदमार्ग क्षेत्रमा काम गर्ने पर्यटन मजदूरले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन्।
अन्नपूर्ण पदमार्ग क्षेत्रको अन्नपूर्ण ११ टाडापानी, देउराली, सिप्रुङ, मनाङ र मनास्लु क्षेत्रमा गत असोज १ गतेबाट खानाको रकम एकमुष्ट रकम उठाउने र कुपन दिएर मात्रै खाना खुवाउने लगायत अन्य विषयमा उत्पन्न समस्याहरूले आफूहरू मर्कामा परेको भन्दै मजदूरहरु आन्दोलनमा उत्रिएका थिए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, टाडापानी पर्यटन व्यवस्थापन समिति अन्नपूर्ण गाउँपालिका ११ धान्द्रुक, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र विभिन्न पर्यटन मजदूर संघ, संगठनहरू, पर्यटन प्रहरीका प्रतिनिधिबीच आइतबार छलफलमा सहमति जुटेपछि मजदूरहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
सरोकारवाला पक्षहरू बसी छलफलपछि युनिट्राभ गण्डकी प्रदेश कमिटी र अखिल नेपाल पर्यटन मजदूर संघ कास्कीले घोषणा गरेका संयुक्त आन्दोलनका सबै कार्यक्रम स्थगित भएको सहमतिमा उल्लेख छ ।