पोखराको विन्ध्यवासिनी मन्दिरमा दर्शनका लागि आउने वृद्धवृद्धा एवं शारीरिक अपांगता भएकाको सहजताका लागि लिफ्ट निर्माण भएको छ।
लिफ्टको राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार उद्घाटन गरेकी हुन्। राष्ट्रपति भण्डारीले राष्ट्रको प्रमुख धार्मिक क्षेत्र विन्ध्यवासिनी मन्दिरमा जेष्ठ नागरिक शारीरिक रूपमा अशक्तहरूका लागि सहज हुनेगरी लिफ्ट निर्माण भएको भन्दै खुसी व्यक्त गरिन्।
साँस्कृतिक रितिरिवाज परम्परा, प्रचलनसहित अनेकतामा एकता भएका सुन्दर मुलुकका बासिन्दा रहेको उनले बताइन्।
जनसमुदायमा स्व:स्फूर्त रूपमा जागृत भएको श्रद्धा र आस्थाका भावनाहरूले गर्दा हाम्रा ऐतिहासिक र साँस्कृतिक धरोहरहरूको संरक्षण स्वंयम जनस्तरबाट हुँदै आएको राष्ट्रपतिले बताइन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक सांस्कृतिक एवम् पर्यटकीयस्थललाई समृद्धिसँग जोड्नुपर्ने बताए। प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नु आवश्यक रहेको उनले बताए।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वका १० महत्वपूर्ण प्राकृतिक सहरमध्येको पोखरालाई पर्यटकीय महानगरपालिका बनाउन माग गरिएको बताउँदै राष्ट्रपतिमार्फत् सङ्घ सरकारको ध्यानाकर्षण गराए। मन्दिरको व्यवस्थापनका साथै स्रोत पहिचान र परिचालनमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिले चालेको कदमको उनले प्रशंसा गरे।
व्यापारिक घराना लक्ष्मी ग्रुप र हुन्डाइ मोटर्स कोरियाको संयुक्त लगानीमा करिब १ करोडको लागतमा लिफ्ट निर्माण भएको हो।
६० फिट अग्लो लिफ्टमा १० जनासम्म चढ्न मिल्नेगरी व्यवस्थापन गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए। विन्ध्यवासिनी मन्दिरमा दैनिक तीन हजार जनाले दर्शन र भ्रमण गर्न पुग्दछन्।
लिफ्ट नहुँदासम्म जेष्ठ नागरिक र अशक्त, शारीरिक अपांगता भएका मन्दिरको दर्शन गर्नका लागि असुविधा हुँदै आएको थियो। लिफ्ट सञ्चालनमा आएसँगै सहज हुने अध्यक्ष श्रेष्ठले बताए।
कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरपालिकाका मयेर मान बहादुर जिसी लगायतले शुभकामना दिएका थिए।