पर्यटकीय राजधानी पोखराबाट ९ किलोमिटर उत्तरपूर्वमा अवस्थित थाम–ल्हाम्जा गाउँलाई ग्रामीण पर्यटनको नमूना गन्तव्यका रूपमा विकास गरिने भएको छ। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बिवानले थाम–ल्हाम्जासहित मुलुकका १४ जिल्लाका १४ गाउँलाई नमुना गाउँका रुपमा विकास गर्ने अभियान अघि बढाएको छ।
उसको अभियानमा कास्की जिल्लामा गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपाल, गण्डकी शाखाले सहकार्य सुरू गरेको छ। शनिबार भिटोफ गण्डकीको तेस्रो अधिबेशन तथा सातौं साधारण सभा थाम गाउँमा आयोजना गरेर उसले हातेमालोको सन्देश दिएको हो।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि-वानका गर्भनर विशेश्वर आचार्यलाई प्रमुख अतिथि बनाएर भिटोफले कार्यक्रम गरेको हो।
लायन्स क्लबले गाउँमा मिल, मौरीघार, धान काट्ने मेशिनलगायत सामान हस्तान्तरण गरिसकेको छ भने उसले ८ घरमा सामुदायिक होमस्टे शुभारम्भ गर्ने तयारी गरेको छ। यसमा भिटोफले मद्दत गर्दैछ।
मादी गाउँपालिका–५ मा पर्ने थाम–ल्हाम्जामा गुरुङ र बिक समुदायको बसोबास छ। गाउँबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला छर्लङ्ग देखिन्छन्। गाउँसम्मै मोटर बाटो भएकाले विशेषतः आन्तरिक पर्यटक लोभिनेमा गाउँलेहरू आशावादी छन्।
‘हामी होमस्टेका लागि घर छनौट गरिरहेका छौं’, लायन्स मोडल भिलेज व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङले सेतोपाटीसँग भने, ‘मेरो मोबाइल नंम्बर ९८१८६६३६९२ मा सम्पर्क गरेर आउने पर्यटकलाई अहिले पनि हामी खाना र बासको व्यवस्था मिलाउँछौं।’
हिमाली सौन्दर्य, गुरुङ संस्कृति र आत्मीय वातावरण त छँदैछ, गाउँको शिरमा आकर्षक ‘रानी ओडार’ समेत छ। चराको चिरबिर सुन्दै प्रकृतिसँग मितेर गाँस्दै बिहानै रानीओडारसम्म हाइकिङ गर्दा छुट्टै आनन्द मिल्छ।
पत्रकारद्वयलाई पुरस्कार
पत्रकारितामार्फत निरन्तर ग्रामीण पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने दुई जना पोखरेली पत्रकारलाई भिटोफ गण्डकीले ग्रामीण पर्यटन पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल टेलिभिजनका पत्रकार परशुराम आचार्य र पोखरा टेलिभिजनका समाचार प्रमुख पुष्प दाहाललाई जनही ११ हजार १ सय ११ रूपैयाँ र सम्मानपत्र हस्तान्तरण गरियो।
एक्सिलेन्ट लिडिरसिप अवार्ड
कार्यक्रममा पर्वत जिल्लाको लप्सीबोट सामुदायिक होमस्टे र मुस्ताङ जिल्लाको थकाली सामुदायिक होमस्टे, ठिनीलाई एक्सिलेन्ट लिडरसिप अवार्ड प्रदान गरियो।
कुशल नेतृत्वबाट ग्रामीण पर्यटनलाई गति दिएकाले उनीहरूलाई सम्मानित गरिएको भिटोफ गण्डकीका अध्यक्ष नवराज अधिकारीले बताए। लप्सीबोटमा गुरुङ समुदायले होमस्टे सञ्चालन गरेका छन् भने ठिनीमा थकालीले।
त्यसैगरि बागलुङको तोरिखोला सामुदायिक होमस्टे र ढोरपाटनको पाखाथर सामुदायिक होमस्टेलाई ‘गन्तव्य वर्ष’ घोषणा गरियो। यी दुवै ठाउँमा मगर समुदायले होमस्टे सञ्चालन गर्दै आएका छन्। अध्यक्ष अधिकारीकाअनुसार भिटोफको नयाँ नेतृत्वले गन्तव्य वर्ष घोषणा गरिएका गाउँहरूमा प्रवद्र्धनात्मक भ्रमण र तालिमको व्यवस्था मिलाउनेछ।
ग्रामीण पर्यटन दूत भादगाउँलेलाई सम्मान
विगत अढाई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील पत्रकार अमृत भादगाउँले भिटोफ गण्डकीका ‘ग्रामीण पर्यटन सद्भावना दूत’ हुन्। गाउँगाउँमा डुलेर पर्यटन पत्रकारितामार्फत गाउँलेको मनोबल बढाउन, गाउँको प्रचार गर्न, नीति निर्मातालाई झक्झक्याउन र गाउँ पर्यटनको पैरवी गर्न महत्वपूर्ण योगदान पुर्याएस्वरूप उनलाई भिटोफले सद्भावना दूत घोषणा गरेको थियो।
‘कोभिडका कारण लकडाउन भएका बेला जुम मिटिङबाट पर्यटन दूत घोषणा गरेका थियौं। प्रमाणपत्र दिन पाएका थिएनौं’, कार्यक्रममा भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले भने, ‘त्यसैले आज हामीले भौतिक रुपमा उपस्थित भएर उहाँलाई त्यो प्रमाणपत्र हस्तान्तरण गरेका हौं।’
केही समयअघि भिटोफले गण्डकी प्रदेशका ५० नमुना गाउँको जानकारी समेटेर बनाएको डिजिटल एप्स ‘भिजिट गण्डकी’का कन्टेन्ट राइटर एवं फोटोग्राफर पनि पत्रकार भादगाउँले नै हुन्।
भिटोफमा नयाँ नेतृत्व
भिटोफ गण्डकीको तेस्रो अधिबेशनबाट युवा पर्यटनकर्मी उदय सुवेदीको नेतृत्वमा सर्वसम्मत नयाँ समिति बनेको छ। जसमा निवर्तमान अध्यक्ष नवराज अधिकारी, उपाध्यक्ष शोभाकुमारी अधिकारी, सचिव सुशिला भण्डारी, कोषाध्यक्ष कृष्ण भारती तथा सदस्यहरूमा शिवराज त्रिपाठी, मेघमान श्रेष्ठ, चिन्तामणि पोख्रेल, रेमश अर्याल र विश्व क्षेत्री छन्।
अधिवेशनस्थल थाम गाउँमा स्थानीयले फूलमाला, लोकल परिकार र नृत्यले सहभागीको स्वागत गरेका थिए। कार्यक्रममा लायन्सका अगुवा विशेश्वर आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, भिटोफका सल्लाहकार टिकाराम सापकोटा, प्राध्यापक डा. प्रेम शर्मा, भिटोफ केन्द्रका अध्यक्ष ध्रुब सिंखडा, भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारी, पूर्व अध्यक्ष रविन्द्र पौडेल र कोषाध्यक्ष सुशिला भण्डारीले ग्रामीण पर्यटनको महत्व माथि प्रकाश पारेका थिए।
नवनिर्वाचित अध्यक्ष सुवेदीले भिटोफलाई अझै उचाइमा पुर्याउन नयाँनयाँ प्रवद्र्धनात्मक कार्यक्रम गर्ने प्रतिबद्धता जनाए। उनले गण्डकी प्रदेशका सबै जिल्लाहरूमा घुमेर ग्रामीण पर्यटनकर्मीलाई हौस्याउने र नयाँ ठाउँमा ग्रामीण पर्यटन शुभारम्भ गर्न पहल गर्ने जानकारी दिएका छन्।