नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको गण्डकी प्रदेश अधिवेशन र लोक सेवा आयोगका विभिन्न परीक्षाका कारण पछिल्लो हप्ता पोखराको पर्यटनमा राहत मिलेको छ।
कोरोना कहरका कारण प्रभावित भइरहेको पोखराको पर्यटनलाई आन्तरिक पर्यटनले केही मात्रामा भए पनि भरथेग गरिरहेको अवस्थामा कांग्रेसको प्रदेश अधिवेशनमा आएका एघार सय भन्दा बढी प्रतिनिधिसँगै पर्यवेक्षक तथा कांग्रेसी कार्यकर्ता र लोकसेवाका विभिन्न पदका लागि परीक्षा दिन आएका परीक्षर्थीका कारण पछिल्लो हप्ता पोखराका होटल भरिएका थिए।
कांग्रेसको अधिवेशनमा एघार सय प्रतिनिधिका लागि लेकसाइडका होटलमा बस्ने व्यवस्था मिलाइएको थियो।
प्रतिनिधिसँगै संघीय संरचनाअनुसार पहिलो पटक भएको अधिवेशन हेर्न ठूलै सङ्ख्यामा जिल्ला-जिल्लाबाट आएका पर्यवेक्षक एवं कार्यकर्ताले पोखरा भरिएको थियो।
कांग्रेस अधिवेशन र लोक सेवाको परीक्षाले यहाँका होटल व्यवसायीलाई ठूलै राहत पुगेको पश्चिमाञ्चल होटल सङ्घ(हान) पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
उनका अनुसार अधिवेशन र परीक्षाका कारण पछिल्लो हप्ता साना तथा मझौला होटलको क्षमताको ७० देखि ८० प्रतिशतसम्म भरिएका थिए।
ठूला होटलमा भने सोही अनुपातमा पर्यटक नभरिए पनि केही न केही राहत भने पुगेको उनले जानकारी दिए।
पोखरा पर्यटकीयस्थल हुनुका साथै गण्डकी प्रदेशको राजधानी भएका कारण राष्ट्रिय एवं प्रदेशस्तरका कार्यक्रमले यहाँको होटल व्यवसायमा समय-समयमा सहयोग पुग्ने गरेको लेकसाइडस्थित होटल एसियाका सञ्चालक धर्मराज पन्थीले बताए।