रमणिय जिल्ला म्याग्दीमा धेरै हिल स्टेशन छन्। पुनहिल, केभहिल, ताकम, झाँक्रीपानी, टोड्के, लभ्लीहिल, मालिका, भेडीओडार आदि। पछिल्लो समय भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास हुँदैछ।
रघुगंगा गाउँपालिका–२ मा पर्ने भेडीओढार (२५०० मिटर) बाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देखिन्छ। सबैभन्दा ठूलो कुरा, यस ठाउँमा पुग्दा ऊर्जा बढ्छ।
धौलागिरि आइसफल पदमार्गमा पर्ने भेडीओढारले पुनहिलको झल्को मेटाउँछ। डाँडाबाट चुरेन, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरिदेखि माछापुच्छ्रेसम्मको हिमशृंखला देखिन्छन्।
डाँडामा ओढार छन्। हिउँदमा यहाँ गाउँघरका भेडा राखिन्छ। त्यसैले यसको नाउँ भेडीओढार राखिएको। ओढार मास्तिरको ढुँगामा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ। भ्यू पोइन्ट नजिकैको डिलबाट धौलागिरिको मनोरम दृश्य देखिन्छ।
सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि प्रवर्द्धन गर्न छानेका सय गन्तव्यको सूचीमा ‘रूइसे–भेडीओढार–धौलागिरि आइसफल पदमार्ग’ पनि परेको थियो।
भेडीओढारको बेस क्याम्पलाई रुइसे भनिन्छ। रुइसे पिकनिक स्पटका रुपमा विकसित भैसकेको छ। रुइसेसम्म सडक सञ्जाल जोडिएको छ। यहाँ स्थानीय कमला शाहीले सामान्य होटल सञ्चालन गर्दै आएकी छिन्।
रुइसे (२२०८ मिटर) मा रात बसेर बिहान एक घण्टा उकालो चढेर भेडीओढार पुग्नु बेस हुन्छ।
रघुगंगा गाउँपालिकाले रूइसे क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ।
रूइसे पुग्न बेनीबाट गलेश्वर हुँदै उकालो लाग्नु पर्छ। भेडीओढार यात्रामा निस्कँदा बीच बाटोमै पर्ने राखु भगवती मन्दिर दर्शन गर्न सकिन्छ। राखु कोट भगवती मन्दिर संरक्षण समितिका सचिव कृष्णबहादुर शाहीकाअनुसार भगवती दर्शनले मनोकामना पुरा हुन्छ।
इतिहासअनुसार विक्रम संवत १८३६ मा महारानी शुवर्ण प्रभादेवीले मुक्तिनाथ दर्शन गर्न यात्रामा निक्ने तिर्थालुको खाना र बासका लागि राखु भगवतीमा गुठिको व्यवस्था गरेकी थिइन्। हालै पुरातत्व विभागको सहयोगमा मन्दिर पुननिर्माण भएको छ।
आन्तरिक पर्यटकका लागि भेडीओढार आकर्षक छ। आन्तरिक पाहुनालाई लिएर बरोबर भेडीओढार पुग्ने गरेका बेनीबजारका जीप चालक शेरबहादुर गुरुङ भन्छन्, ‘रुइसे आफैंमा सुन्दर छ। भेडीओढार पुगे झनै राम्रो हुन्छ।’
रूइसे नजिकैका गाउँहरू सिजल, साझापानी र बेग सिरुबारीमा होमस्टे गराउन आवश्यक देखिन्छ।
एउटा खुसीको कुरा, भेडीओढारजस्ता नयाँ पर्यटकीय गन्तव्यहरु मात्र होइन, समग्र म्याग्दीका पर्यटकीय सम्पदा समेटेर फोटो बुक प्रकाशन हुँदैछ। म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यको पहलमा प्रकाशन हुन लागेको पुस्तक म्याग्दी चिनाउने आँखिझ्याल बन्ने विश्वास गरिएको छ।
भेडीओढार तपाईंको प्रतिक्षामा छ। एक पटक घुम्न जाने होइन त ?
कसरी पुग्ने ?
काठमाडौं–बेनी २८८ किमि, बसमा १० घण्टा। बेनी–गलेश्वर–रुइसे १७ किमि, जिपमा दुई घण्टा। बेनीबाट रुइसेसम्म रिर्जभ्ड जिप वा मोटर बाइकमा। रुइसे–भेडीओढार १ घन्टा पदयात्रा।