प्रकृतिको सुन्दर उपहार हो– चाङ्गा। सिर्कुम गाउँको शिरमा अवस्थित खर्क। मंगला गाउँपालिका–५, म्याग्दीमा पर्ने चाङ्गा (२,२५० मिटर) घमाइलो छ। त्यहाँ पुग्दा मनै रमाइलो हुन्छ।
खर्कबाट गुर्जा, चुरेन, धौलागिरि, मानापाथी, अन्नपूर्ण, नीलगिरी र माछापुच्छ्रे हिमालको लामो लर्कन देखिन्छ। हिउँदमा पुग्दा एक टकले हेरिरहुँझैं लाग्छ। हिमाललाई अंगालोमा बेरिरहुँझै लाग्छ।
डाँडाको काखमा बसेका गाउँहरू सिर्कुम र टिकावाङका बासिन्दाको खर्क हो चाङ्गा। त्यहाँ दलित, मगर र क्षेत्री समुदायको बसोबास छ। वडाध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीकाअनुसार हाल त्यहाँ १२ परिवार स्थायी रुपमा बस्छन्।
पहिलेपहिले गाउँलेहरू बर्खामासमा खर्कमा गोठ राख्थे। भेडा र भैंसी पाल्थे। खर्कमा भेडा चरिरहेका दृश्य अचेल पनि देखिन्छ।
त्यहाँ फराकिला बारीका पाटा छन् जहाँ उनीहरू मकै, आलु, कोदो, साग आदि रोप्छन्। चियाखेतीको सम्भावना समेत अध्ययन गरिँदैछ।
बेग्लै संसार छ चाङ्गाको। पहारिलो घाम ताप्न पाइन्छ। प्रकृतिसँग साइनो गाँस्दै, चराको चिरबिरमा रमाउँदै गाउँलेपन नियाल्न सकिन्छ। आत्मीय, इमान्दार र सहयोगी छन् गाउँलेहरू।
खर्कमा बराह मन्दिर पनि छ। खर्कबाट करिब ५ घन्टा पदयात्रा गरेमा म्याग्दी र बागलुङको सिमा तीनचुले पुगिन्छ। तीनचुलेमा शिवपार्वतीको मन्दिर छ। तीनचुलेसम्म मोटर बाटो जोड्न सके राम्रो हुन्छ।
जैविक विविधताका हिसाबले पनि चाङ्गा आकर्षक मानिन्छ। विभिन्न प्रकारका जडीबुटी, चरा र जंगली जनावर पाइन्छ।
सिर्कुमका अगुवा हर्कबहादुर बुढाथोकीकाअनुसार खर्कमा दुम्सी, घोरल, बाँदर, मृग, बाघ, भालु, कालिजलगायत जनाबर तथा चरासँग जम्काभेट हुन सक्छ।
जंगलमा सुनाखरी र लालीगुराँस फूल्छन्। फागुन–चैतमा गुराँसको वैंशले उज्यालिन्छ चाङ्गा।
खर्कमा खाना र बास बस्ने सुविधा छैन। क्याम्पिङ गरेर बस्नुपर्ने बाध्यता छ। तल सिर्कुम गाउँमा चाहिँ खाना र बास पाइन्छ।
सिर्कुम जाने बाटोमा पर्ने झाँक्रीपानीमा पनि होमस्टे सुविधा छ। अहिलेका लागि सिर्कुममा रात बसेर बिहानै चाङ्गा उक्लिनु बेस हुन्छ।
मंगला गाउँपालिकाले झाँक्रीपानी, टोड्के र चाङ्गालाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ। त्यसका लागि उसले पूर्वाधार विकासका केही काम पनि गरिसक्यो।
टोड्केमा रिसोर्ट खुलिसकेको छ भने झाँक्रीपानीमा होमस्टे ।
चाङ्गामा पनि बिजुली पुर्याइएको छ। खर्कसम्मै सडक ट्रयाक खुलाइएको छ। तर बर्खाको पानीले ठाउँठाउँमा सडक बिगारेकाले माथिसम्म गाडीमा जान सकिँदैन।
‘हामी डोजरले सडक सफा गर्दैछौं’, वडाध्यक्ष क्षेत्रीले भने, ‘एक हप्तापछिदेखि खर्कमै जीप वा मोटरबाइक लान सक्ने बनाउँदैछौं।’
चाङ्गाको प्रचार गर्न बेनीबजारका उद्यमी एवं म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यको नेतृत्वमा चाँडै नै त्यहाँ मिडियाकर्मी र विज्ञहरूसहित क्याम्पिङ गर्ने योजना बन्दैछ।
त्यहाँको अवस्था मिहिन ढङ्गले केलाउन र पर्यटकीय संभावना उजागर गर्न मंगला गाउँपालिकाले पनि कार्यपालिकाको पूर्ण बैठक नै चाङ्गामा राखे राम्रो सन्देश फैलने थियो।
समग्रमा, चाङ्गाखर्क घमाइलो छ जहाँ हप्तौं बसेर योग तथा ध्यान गर्न सकिन्छ। सबैखाले पर्यटक रमाउन सक्ने चाङ्गालाई आध्यात्मिक पर्यटनधामका रुपमा विकास गर्ने कि ?
गाउँमा पर्यटन चेतना बढाएर होमस्टे वा होटल शुभारम्भ गर्न सकिन्छ। त्यतिले मात्र पुग्दैन, राम्रो प्रचारप्रसार हुनुपर्छ। बल्ल चाङ्गामा पर्यटनको घाम लाग्छ।
चाङ्गाबाट फर्कंदा मौसमी तरकारीहरू साग, मुला, आलु, जडीबुटी आदि कोसेली ल्याउन सकिन्छ।
होमस्टे गराउँछौं भुपेन्द्र खत्री क्षेत्रीवडाध्यक्ष, मंगला गाउँपालिका–५चाङ्गामा पुग्दा थकान हराउँछ। त्यहाँ प्रकृति र संस्कृतिको मिठास पाइन्छ। चाङ्गामा स्वदेशी तथा विदेशी दुवैखाले पर्यटक रमाउन सक्छन्। अब हामी गाउँलेलाई तालिम दिलाएर होमस्टे गराउँछौं। हामीले चाङ्गासम्म सडक पुर्याइसकेका छौं। बर्खाले बिगारेको सडक सफा गर्दैछौं।
चाङ्गालाई चम्काउँछौंराजेश शाक्यपर्यटन अभियन्ता, म्याग्दी पर्यटनको प्रचुर संभावना बोकेको चाङ्गाको पूर्वाधार विकास र प्रचारप्रसारमा हामी सरोकारवालालाई झक्झकाइरहेका छौं। यसको एग्रेसिभ मार्केटिङका लागि मिडियाकर्मी र विज्ञहरूसहितको टोलीसहित हामी चाङ्गामा क्याम्पिङ गर्ने योजनामा छौं। त्यहाँ हामी पर्यटन विमर्श गर्नेछौं। र, चाङ्गालाई पर्यटकीय गन्तव्य बनाई छाड्छौं।
कसरी पुग्ने:
काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। बेनी–झाँक्रीपानी–सिर्कुम ३५ कि.मि, जीपमा ३ घन्टा। सिर्कुम गाउँबाट १ घन्टा पदयात्रामा चाङ्गा। सिर्कुमको शिरानसम्म जीपमा गए ३० मिनेट हिँडे पुग्छ।
सम्पर्क
- भुपेन्द्र खत्री क्षेत्री– ९८४१७३६३७३
- राजेश शाक्य– ९८५७६२४६०१