विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काई साइक्लिङ सुरू भएको छ।
कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा (बाग्लुङ बलेवातर्फ) स्काई साइक्लिङ निर्माण गरिएको हो। साइक्लिङ दुई तर्फी गरी छ सय मिटर रहेको बताइएको छ।
प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ रहेको साइक्लिङ खेल्न हाल सुभारम्भ छुट अन्तर्गत २ हजार ५ सय रुपैयाँमै टिकट पाइने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए।
बन्जी वा स्विङ गर्नेलाई अतिरिक्त बीस प्रतिशत छुट दिइने बताइएको छ।
गुलेली पिङ, पारिवारिक पिङ, हाइ रोप स्टेसन, स्काइ चियर, घोडाचडी सञ्चालनमा ल्याएको द क्लिफले नयाँ प्रडक्टका रूपमा स्काई साइक्लिङ सुरू गरेको कार्कीले बताए।
विश्वमा २ सय २८ मिटर उचाइमा र छ सय मिटरको कुनै पनि व्यवसायिक स्काई साइक्लिङ नरहेकोले यो नै विश्वको लामो र अग्लो व्यवसायिक जिपलाइन भएको कार्कीको दाबी छ।
विश्वकै अग्लो स्विङ समेत सञ्चालन गर्दै आइरहेको द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन्।
उक्त क्षेत्रलाई एड्भेन्चर हबका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।