सन् २०२१ को अन्तिम दिन शुक्रबार सौराहामा आन्तरिक पर्यटकको चहलपहल बाक्लो देखिएको छ।
अंग्रेजी नयाँ वर्ष २०२२ को पूर्वसन्ध्यामा सौराहा आइपुगेका पर्यटकहरूले रेष्टुरेन्टहरू भरिभराउ देखिएका छन्।
राप्ती नदीको किनारमा रहेका रेष्टुरेन्टमा साँझदेखि पर्यटक बढ्न थालेको रेष्टुरेन्ट एण्ड बार एसोसिएसन(रेवान) सौराहाका निवर्तमान अध्यक्ष दीपेन्द्र खतिवडाले बताए।
पर्यटकको स्वागतका लागि रेवान सौराहाले झाँकी निकालेको थियो। घण्टाघर, चराचोक, हात्तीचोक, गैंडाचोक र राप्ती किनारबाट झाँकी निकालेको थियो। झाँकीमा स्थानीय थारू महिलाले लाठी नाच, नेवार समुदायले लाखे, मगरको सोरठी र पञ्चे बाजा प्रस्तुत गरिएको थियो।
क्षेत्रीय होटल संघ नेपाल सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले शुक्रबार बिहानैदेखि पर्यटक बढेको बताए।
'नयाँ वर्षमा पर्यटकको चाप सधैं बढ्छ, यस वर्ष पनि बिहानैबाट आन्तरिक पर्यटकको चहलपहल बाक्लो भएको थियो,' घिमिरेले भने, 'साँझपछि होटलहरू पनि भरिन थालेका छन्।'
उनले नयाँ वर्षमा विगत पाँच वर्षदेखि आन्तरिक पर्यटकको उपस्थिति समान देखिएको बताए।
नेकपा एमालेको महाधिवेशनको समयमा भरिभराउ भएको सौराहामा त्यसपछि भने पर्यटकको चहलपहल पातलो भएको थियो। नयाँ वर्षसँगै पर्यटक बढ्न थालेपछि यहाँका व्यवसायीहरू उत्साहित देखिएका छन्।
हेर्नुस् तस्बिर: