अंग्रेजी नयाँ वर्ष मनाउन आउने स्वदेशी र विदेशीले पोखराका होटल ८० प्रतिशत भरिएका छन्।
नयाँ वर्षका अवसरमा रेस्टुरेन्ट एन्ड एसोसिएसन अफ नेपाल (रेवान) ले आयोजना गरेको सडक महोत्सवमा सहभागी हुन आएका पर्यटकले होटल र रेस्टुरेन्ट भरिएका हुन्।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पोखरामा एक हजार पर्यटक स्तरका होटल छन्। जसमध्ये लेकसाइड आसपास मात्र ७ सय होटल छन्। यी होटलमा ३० हजारभन्दा बढी बेड रहेको सुवेदीले जानकारी दिए।
लेकसाइड आसपासका सबै होटल पूर्ण रूपमा भरिएको र पोखरा आसपासका होटल पनि ८० प्रतिशतसम्म बुक भएको सुवेदीले बताए।
‘नयाँ वर्ष मनाउन आउने पर्यटकको बसाइले पोखराका ८० प्रतिशत होटल भरिएका छन्,’ सुवेदीले भने, ‘कोरोना महामारीपछि पहिलोपटक यतिका धेरै मानिस पोखरा बस्न आएका हुन्।’
कोरोना महामारीअघि अंग्रेजी नयाँ वर्षका अवसरमा आयोजना गरिने सडक महोत्सवमा पोखराका होटलहरू पूर्ण रूपमा भरिने गर्थ्यो। गत वर्षको महोत्सवमा भन्दा यस वर्षको महोत्सवमा धेरै मानिस पोखरा आएको रेवानका अध्यक्ष लक्ष्मण बरालले बताए।
‘पोहोरको सडक महोत्सवमा कोरोनाको बढी जोखिम भएर होला, अहिलेभन्दा कम मानिस आएका थिए,’ बरालले भने, ‘यसपालि पनि जोखिम त छ नै, तै पनि देशभरबाट नयाँ वर्ष मनाउन आउने नेपालीको संख्या धेरै देखियो।’
यस वर्ष सडक महोत्सवमा नयाँ वर्ष मनाउन आउने भारतीय पर्यटकको संख्या उल्लेख्य बढेको बरालले बताए।
हान पश्चिमाञ्चलका अध्यक्ष सुवेदीले पनि होटलमा बास बस्ने १५ प्रतिशत पर्यटक भारतीय रहेको जानकारी दिए।
अंग्रेजी नयाँ वर्ष मनाउन विगत २३ वर्षदेखि लेकसाइडमा सडक महोत्सवको आयोजना गरिँदै आएको छ।
सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नाराका साथ आयोजित महोत्सवमा लेकसाइडको शहिदचोकदेखि खहरेचोकसम्म ३ किलोमिटर सडक बन्द गरेर मनाइन्छ।
तीन किलोमिटर क्षेत्रमै सडकमै खाना खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम आयोजना गरिएका हुन्छन्। यसवर्षको महोत्सवमा गृह मन्त्रालयको स्वीकृतिमा आतिसबाजी समेत गरिएको रेवान अध्यक्ष बरालले बताए।
पदयात्रामा जाने मौसमी पर्यटकको भरमा थामिएको पोखराको व्यवसाय बेमौसममा पनि गतिशील बनाउन २३ वर्ष अघि अंग्रेजी नयाँ वर्षमा सडक महोत्सव मनाउन थालिएको थियो।
तत्कालीन रेवान अध्यक्ष गणेशबहादुर भट्टराइले भारतको गोवामा अंग्रेजी नयाँ वर्ष मनाउदा देखिएको उत्सव पोखरामा संचालन गर्ने निर्णय गरेर सडक महोत्सव संचालन गर्न थालेका थिए।
निरन्तर ५ दिनसम्म सञ्चालन गरिने सडक महोत्सव गत वर्षदेखि कोरोना महामारीका कारण ३ दिन मात्र संचालन गर्ने गरिएको छ। महोत्सव शनिबार साँझ साकिँदैछ।