सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ।
खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।
जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।
कम्तीमा १० दिनका लागि उक्त ‘हेली प्याकेज’को सुरुआत हुने खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।
खप्तड पुग्ने रहर मनभरी बोकेका तर जाने समय अभावका कारण जान नसकेका पर्यटकहरुलाई हरेक वर्ष जस्तै यस वर्ष पनि हेलिटुरको व्यवस्था गरिएको हो’, खप्तड होमस्टे झिग्राना एवं खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशकसमेत रहेका दिपक बहादुर खड्काले भने।
यतिखेर हिउँदको समय भएकोले खप्तड बडिमालिकाको दर्शनसँगै हिउँको स्पर्श गरेर फर्किनसक्ने व्यवस्था गरिएको र यहाँको स्थानीय परिकारको नौलो स्वाद दिलाउन खप्तड होमस्टे झिग्राना समेत सञ्चालन गरिएको छ।
सो दृश्यावलोकनको लागि कम्तिमा ५ जनाको समूह अनिवार्य गरिएको र दुरी अनुसार प्रति व्यक्ति हेलिचार्ज १२ हजार देखि ४० हजार सम्म लाग्दछ।
खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको आयोजकले जनाएको छ।
गत वर्ष पनि यहाँ ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो । हेलिकोप्टरमार्फत गत वर्ष १३५ जनाले खप्तडको भ्रमण गरेका थिए।‘