हिउँ खेल्नै भनेर साथीहरूसँग माघ २९ गते शनिबार मध्यान्ह क्रपुडाँडा (३,०८५ मिटर) मा पुगेका दमौलीका गीतकार सागर उदास रोमाञ्चित बने। हिउँमा मात्र साँढे तीन घण्टा हिँडेका उदास जब क्रपुडाँडाको थाप्लोमा पुगे तब त्यहाँको वातावरण देखेर औधी रमाए।
झलमल्ल घाम। उत्तरमा अन्नपूर्ण चौंथो, अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको लर्कन। डाँडामा पुग्दा उनले ५ घण्टा पदयात्रा गर्दाको थकाई भुले। हिउँमा लडिबुडी गरेर धितमरुञ्जेल तस्बिर खिचे। अनि तत्कालै केही गीत र मुक्तक रचना गरेर वाचन गरे।
त्यहाँ जम्मा भएका युवाले पर्रर तालि बजाए।
‘जिन्दगीमा पहिलो पटक हिउँ खेल्न आएको’, उनले भने, ‘स्वर्गमै पुगेको अनुभूति भयो।’
साँच्चै क्रपुमा हिउँ खेल्नेहरूको मेलै लागेको थियो। कोही तस्बिर खिचिरहेका, कोही हिउँमा लडिबुडी गरिरहेका, कोहि आपसमा हिउँ छ्यापाछ्याप गरिरहेका। कोही टिकटक बनाइरहेका। सबै आ–आफ्नै धुनमा मस्त।
क्रपुको थाप्लोभरि दुईदेखि तीन फिट हिउँ जमेको छ। केही दिनदेखि ‘हिउँ खेल्ने मेला’ चलिरहेको छ। अझै केही साता डाँडामा हिउँ रहनेछ।
पोखरा नजिकै पर्दछ क्रपुडाँडा। मादी गाउँपालिका–२, कास्कीमा। ताङतिङको शिर बनेर उभिएको छ क्रपुडाँडामा वर्षैभरि घुम्न सकिन्छ। बर्खामा भुइँफूल र कुहिरो, असोज–कात्तिकमा हिमाल, मंसिर–फागुनमा हिउँ र चैत–बैशाखमा लालीगुराँसको बैंस हेर्न पाइन्छ।
क्रपुबाट हिउँ पहिरो पनि देखिन्छ। अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः खसिरहन्छ पहिरो। पहिरो झर्दा गड्याङ आउने आवाजले झसंग बनाउँछ।
चराको चिरबिर, जंगली जनावरको आवाज, वनजंगल, हिउँपहिरोको दृश्य, चिसो हावापानी, हिमालसँगको सामिप्यता र सुन्दर गाउँ ताङतिङ क्रपु यात्राका विशेषता हुन्। डाँडाबाट लमजुङ र कास्कीका धेरै गामबेसी देखिन्छन्। राती बिजुलीको उज्यालोमा खुलेको पोखरा झलमल्ल देखिन्छ। बिहान सूर्योदय हेर्न पाइन्छ।
पर्यटकीय गाउँ ताङतिङ (१,६६५ मिटर) प्राकृतिक तथा ऐतिहासिकस्थल नौचुडाँडा (२,०४७ मिटर) नौलाचे (२,२०० मिटर) हुँदै क्रपुमा पुगिन्छ।
क्रपुडाँडामा सामान्य खाना र बास पाइन्छ। त्यहाँ तीन वटा टेण्टेड होटल खुलेका छन्। ती मध्ये दुइटा सञ्चालनमा छन्। क्षेत्र र खिमबहादुरसँग मिलेर तीन महिना अघि क्रपुमा होटल खोलेका ताङतिङे युवा गुमानध्वज गुरुङ भन्छन्, ‘प्रति व्यक्ति १७ सय रुपैयाँको प्याकेज बेच्छौं। यसमा वेलकम टि, ननभेज डिनर, बेड र ब्रेकफास्ट सुविधा हुन्छ।’
ताङतिङ गाउँमा भने १४ होमस्टे र ७ होटल सञ्चालित छन्। ताङतिङ आफैंमा आन्तरिक पर्यटन केन्द्रका रुपमा चम्किसक्यो। हिमाल, वन, नदी, झरना र गुरुङ संस्कृतिका लागि प्रख्यात गाउँमा शुक्रबार र शनिबार त भिड लाग्छ।
क्रपुडाँडा क्षेत्रको प्रवर्द्धनका लागि केही वर्ष अघि गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले प्रवद्र्धनात्मक अध्ययन भ्रमण गरेको थियो।
उसले ताङतिङ, क्रपुडाँडा र याङ्जाकोटलाई जोड्ने होमस्टे ट्रेलको सभाव्यता अध्ययत गरेको थियो।
‘त्यही बेलादेखि क्रपुडाँडा चर्चित भएको हो’, दोस्रो पटक क्रपुडाँडामा पुगेका भिटोफ गण्डकीका संस्थापक अध्यक्ष तारानाथ पहारीले भने, ‘मोटर बाटो जोडिएसँगै यहाँ आन्तरिक पदयात्रीको चहलपहल बढ्दै गएको छ।’
ताङतिङको सामुदायिक होमस्टे, क्रपुडाँडाको टेण्ट र याङ्जाकोटको सामुदायिक होमस्टेमा एक–एक रात बस्ने गरी यात्रा योजना बनाउँदा प्रकृति र संस्कृतिको मिठासमा रम्न सकिन्छ।
क्रपुबाट गुरूङ समुदायको आदिम भूमि क्होंलासोंथर, लमजुङको घलेगाउँ, दूधपोखरी र मनाङसम्म पदयात्रा गर्न सकिन्छ।
ताङतिङतिरबाट क्रपुडाँडासम्म मोटर बाटो जोडिएको छ। अहिले हिउँ परेकाले ताङतिङबाट हिँड्नुपर्छ, अबका केही सातापछि हिउँ पग्लिन्छ। त्यतिबेला गुराँसले डाँडा राताम्मे बन्छ। अनि बाइक वा जिपमा डाँडासम्मै पुग्न सकिन्छ।
हिल स्टेशनका रुपमा क्रपुडाँडा चम्कन सक्छ। त्यहाँ व्यवस्थित होटल, खानेपानी र बिजुलीका लागि स्थानीय सरकारले बेलैदेखि पहल गर्नुपर्ने देखिन्छ।
पटकपटक क्रपुडाँडा पुग्न मन लाग्छ। गीतकार सागर उदास र पर्यटनविज्ञ पहारी पनि गुराँस फूल्ने बेला फेरि क्रपुडाँडामा आउने वाचा गरेर फर्किएका छन्।
‘पर्यटकले पहिल्यै खबर गरेर घुम्न आउँदा सजिलो हुन्छ’, पर्यटन अभियन्ता एवं ‘ताङतिङ मेरो गाउँ’ पुस्तकका लेखक प्रकाश गुरुङ भन्छन्, ‘आफूले घुम्ने गन्तव्यका बारेमा राम्रो ज्ञान लिएर व्यवस्थित भएर यात्रा गरेमा सजिलो हुन्छ।’
तपाईं पनि हिउँमा रमाउने होइन त ? के थाहा भोली हिउँ पर्छ कि पर्दैन, अहिले हिउँ जमेका बेला क्रपुडाँडा घुम्ने मौका नगुमाऔं।
सुझाब
- बाक्लो हिउँ जमेकाले ताङतिङ गाउँभन्दा मास्तिर बाइक वा जिप यात्रा सम्भव छैन। हाललाई पदयात्रा गर्नुपर्छ। त्यसैले ट्रेकिङ बुट र लौरो जरुरी हुन्छ।
- न्याना कपडा लगाउने। निधार छोप्ने माकल टोपी लगाउने र हिउँको रिफ्लेक्सनबाट बच्न कालो चश्मा लगाउने।
- ताङतिङमा बिजुली र वाइफाई सुविधा छ। क्रपुडाँडामा बिजुली छैन। मोबाइल फोन चार्जका लागि व्याकअप बोक्ने। अन्धाधुन्ध फोटो तथा तस्बिर नखिच्ने, ब्याट्रि बचत गर्ने।
- क्रपुडाँडामा फोन लाग्दैन। तर मोबाइलमा म्यासेज आदानप्रदान हुन्छ। त्यसैले फोन वा म्यासेजमार्फत सम्पर्क गरेर बास बस्ने ठाउँ बुक गर्नु बुद्धिमानी हुन्छ। ताङतिङ गाउँमा भने सजिलै फोन लाग्छ।
- हिउँमा हिँड्न सजिलो हुँदैन। थर्मसमा तातोपानी बोकेमा ठाउँठाउँमा थोरैथोरै पानी पिउँदै हिँड्न सकिन्छ। सुस्तरी उकालो चढ्ने।
- पदयात्राका लागि झोलामा खाजा र पानी बोक्ने। साँझका लागि टर्चलाइट पनि। अर्को कुरा सिल्पिङ ब्याग बोकेमा राम्रो हुन्छ।
- ताङतिङमा एक रात बसेर ब्रेकफास्टपछि उकालो लागेर अर्को रात क्रपुमा बस्दा राम्रो हुन्छ। त्यही दिन क्रपु पुगेर ताङतिङ फर्कन पनि भ्याइन्छ, यसो गर्दा थकाई बढी हुन्छ।
- ताङतिङमा क्रपुडाँडाको विषयमा राम्रो बुझेर यात्रा गरेमा सजिलो हुन्छ।
कसरी पुग्ने?
काठमाडौं–पोखरा २०० कि.मि. बसमा ६ घण्टा अथवा २५ मिनेट हवाई यात्रा।
पोखराको काहुँखोला–ताङतिङ २१ कि.मि. सम्म सार्वजनिक बस तथा जीप चल्छन्। मोटरसाइकल ताङतिङ गाउँमै पुग्छ।
ताङतिङ–क्रपुडाँडा १० कि.मि. हिँडेर क्रपुडाँडा पुग्न ४ घन्टा। हिउँ नभएका बेला क्रपुडाँडासम्म मोटरबाइक वा जिपमा जान सकिन्छ। कास्कीको याङ्जाकोट, भाचोक, वार्चोक तथा लमजुङको सिङ्दीबाट पनि क्रपुडाँडा पुग्न सकिन्छ।
सम्पर्क
- ताङतिङका पर्यटन अभियन्ता प्रकाश गुरुङ–९८५६०२८८२७
- ताङतिङ होमस्टेकी सचिव पुनम गुरुङ–९८४६४४९०९५
- क्रपुडाँडाका होटल व्यवसायी गुमानध्वज गुरुङ–९८४६५३१८५०/९८०६७९५९९०