जाउँ है पोखरा अभियान लिएर पश्चिमाञ्चल होटल संघ पोखराको टोली सोमबार बुटवल आएको छ।
संघले दुई दशकअघि अगाडि सारेको ‘जाउँ है पाेखरा’ अभियान कोरोना महामारीका कारण दुई वर्ष रोकिए पनि यस वर्ष अगाडि बढाईएको हो।
हाेटल संघ पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालमा राजनीतिक द्वन्द्व चरम उत्कर्षमा पुग्दै गर्दाको अफ्ठ्यारो अवस्थामा सुरू गरिएको यो अभियानलाई कोरोना महामारी पछि पनि निरन्तरता दिन लागिएको जानकारी दिए।
कोभिड महामारीका कारण नेपाली पर्यटन नराम्ररी थला परेको अवस्थामा यो अभियानले पर्यटन क्षेत्र केही चलायमान हुने उनले विश्वास गरे।
फागुन ८ गते पोखराबाट हिँडेको अभियान टोली बुटवलपछि हेटौडा, विरगन्ज र चितवनसम्म पुग्नेछ।
अभियानका संयोजक विकल तुलाचनले भूकम्प र कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उठाउन अभियानमार्फत पर्यटकीय माहोल सिर्जना गर्दै सकारात्मक सन्देश प्रवाह गर्न लागिएको जानकारी दिए।
उनले सुस्ताएको आन्तरिक पर्यटनलाई पुनः उत्थान गर्नु अभियानको मुख्य उद्देश्य रहेको बताए।
साथै नयाँ वर्षका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको निमन्त्रणासमेत अभियानकै क्रममा गरिएको तुलाचनले बताए।