पोखराको हाइग्राउण्ड एड्भेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केबलकारको टिकट नि:शुल्क पाउने भएका छन्।
जिपलाइन बुक गरेपछि केबलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सकिन्छ। लेकसाइड पामे रोडमा रहेको सेती बगरबाट सराङ्कोट पुग्ने केबलकारको दूरी २.१६ किलोमिटर पार गर्न नै मिनेट लाग्छ।
केबलकारको टप स्टेसनबाट पाँच मिनेट हिँडेपछि सराङ्कोटको भ्यु टावर पुगिन्छ। समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्ल्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।
जिपलाइनको टप स्टेसन सारङ्कोटबाट बटम स्टेशन हेम्जासम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ। यति धेरै भिरालो भएको जिपलाइन विश्वमै अरू नभएकोले अफिसियल वर्ल्ड रेकर्डमा 'विश्वकै भिरालो जिपलाइन'का रूपमा दर्ता गर्न आवेदन दिइएको र सोको लागि काम भैरहेको कम्पनीले बताएको छ।
उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दूरी सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रतिघण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ।