नेपाल पर्वतारोहण संघले ४३ अन्तर्राष्ट्रिय गाईडलाई स्पष्टिकरण सोधेको छ। नेपाली गाइडको लाईसेन्स प्राप्तिमा अवरोध गरेको भन्दै उनीहरूलाई ७ दिन भित्र लिखित जवाफ दिन भनेको हो।
यसअघि पटकपटक छलफलका लागि बोलाए पनि सहमतीमा आउन नचाहेपछि उनीहरूलाई त्यसको कारणबारे सोधिएको हो।
अन्तर्राष्ट्रिय संस्थाको लाइसेन्स प्राप्त गाईडले माउन्टेन गाईड लाइसेन्स आफूहरूले मात्र पाउनुपर्ने अडान राख्दै आएका छन्।
उनीहरूबाट चित्तबुझ्दो जवाफ नआए संघको विधानअनुसार उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरि एनएमए रातो किताव (माउन्टेन गाइड लाइसेन्स) निलम्बन हुनेछ।
एनएमएका एक पदाधिकारिका अनुसार लाइसेन्स निलम्बन परेका गाइडले हिमाल चढ्न र चढाउन पाउनेछैनन्।
पर्यटकीय आरोहणको मुख्य स्प्रिङ सिजनको मुखमा संघको स्पष्टिकरणले ४३ अन्तर्राष्ट्रय गाइडको रोजगार धरापमा परेको छ।
पर्यटन क्षेत्रका मजदुर र गाइडका छाता संगठन, नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) र नेपाल पर्वतीय पथ प्रदर्शक संघ नेपाल (मोगान) हजारौं पर्यटन मजदुरको रोजिरोटी गुम्ने अवस्थामा रहेको बेला एनएमएलाई यो मुद्दा सुल्झाउन अनुरोध गर्दै आएको छ।
अन्तर्राष्ट्रिय गाइड र नेपाली गाइडबीच आरोप प्रत्यारोप चलिरहेको छ।
सरकारको पर्यटन विभागले पर्वतीय पथप्रदर्शकलाई यसअघि वि.सं. २०७७ चैत १ गतेबाट परिचय–पत्र दिन सुरू गरेको थियो।
पर्वतारोहण सम्बन्धि तालिम दिने नेपालको एक मात्र संथा नेपाल पर्वतारोहण संघ (एनएमए)को सिफारिस अनुसार १२० जनाले परिचय–पत्र पाएका थिए।
यसैबीच एनएमएको रातो बुक भएका र संघको हरेक तालिमका प्रशिक्षकसमेत रहेका ४३ जनाले विभागले दिएको परिचयपत्र रोक्न माग गर्दै २०७७, चैत ८ गते सर्वोच्च अदालतमा रिट हाले।
पर्वतारोहणका लागि योग्य बुक होल्डर पथप्रदर्शकनै अयोग्य भएको भन्दै सर्वोच्चले चैत ९ गते अन्तरिम आदेश दिँदै परिचय पत्र वितरणमा रोक लगायो।
सर्वोच्चको आदेशले आफूहरू पीडित भएको भन्दै करिब तीन हजार माउन्टेन गाइड चिन्तित छन्।
स्वदेशी तथा विदेशी आरोहीलाई हिमाल चढाउने काममा योगदान पुर्याउँदै आएका पर्वतीय पथप्रदर्शकलाई पर्यटन विभागले वितरण सुरू गरेको परिचयपत्र दिने काममा अवरोध पुर्याउनेहरूविरुद्ध उनीहरू आक्रोशित छन्।
परिचयपत्र वितरण रोक्न अदालतमा मुद्दा दायर गरेका केही अन्तर्राष्ट्रिय माउन्टेन गाइडको कदमविरुद्ध उनीहरू आन्दोलित भएका छन्।
‘अहिले केहीले हामीविरुद्ध मुद्दा हालेका छन्। के माउन्टेन क्लाइम्वर र सहयोगी विना अन्तर्राष्ट्रिय गाइडले मात्र हिमाल चढ्न सक्छन् ?’, २५ औं पटक सगरमाथा आरोहण गरिसकेका कीर्तिमानी आरोही कामिरिता शेर्पाले कार्यक्रममा काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा भनेका थिए, ‘हामीलाई लाइसेन्स दिइएन भने हाम्रो हतियार आइसएक्स लिएर सडकमा उत्रिन्छौं।’
मोगानको कार्यक्रमका विशेष आकर्षण किर्तिमानी आरोही शेर्पा नै थिए। ‘वर्षेनि हिमाल चढ्ने रूट खोल्ने, आइसफलमा डोरी टाँग्ने, आरोहणका लागि बाटो बनाउने सबै काम हामी क्लाइम्बरले गर्ने हो। अन्तराष्ट्रिय गाइडले होइन’, तिनै शेर्पाले सोधे, ‘हामीले वाटो नखोलेसम्म हिमाल चढ्न सक्दैनन्। पर्वतीय श्रमिकले खोलेको बाटोमा हिमाल चढ्ने तर हामीले नै लाइसेन्स नपाउने?’