तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको बुटवलको जितगढी किल्ला ऐतिहासिक सम्पदा स्थलको रूपमा विकास भइरहेको छ।
युद्धमार्फत् आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स.१८७१ देखि ७२ सम्म भएको युद्धमा वीर नेपाली सेनाले यही क्षेत्रबाट विजय हासिल गरी अंग्रेस फौजलाई फिर्ता पठाएको इतिहास छ।
१८७१ देखि १८७२ सम्म नेपाल/अंग्रेजका बीचमा युद्ध भए। अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन।
कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोसी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाइँ भयो।
बुटवलमा भने नेपालले जित हासिल गरेको थियो। कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही विरताको चिनो हो बुटवलको जितगढी किल्ला। जसले अहिले पनि नेपाल/अंग्रेज युद्धलाई सम्झाउँछ।
बुटवल गढी कब्जा गरी तत्कालीन पाल्पा राज्य हान्ने र तिब्बतसम्म पुग्ने उद्देश्यका साथ अंग्रेज गभर्नर लर्ड हेस्टिङ्सको निर्देशनमा मेजर जेनेरल सुलिभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वको अंग्रेज फौजलाई नेपाली सेनाले पराजित गरेको इतिहासका जानकार विमल बहादुर शाक्य बताउँछन्।
जनरल ऊडकै नेतृत्वमा दुई पटक भएको आक्रमणमा बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेज फौजमाथि आक्रमण गरी विजय प्राप्त गरेको थियो।
शाक्यका अनुसार आधुनिक हतियारमा आएका अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली फौजले पराजित गरेपछि बुटवलगढीको नाम जितगढी रहन गएको थियो।
अहिले बुटवल उपमहानगरपालिकाले त्यही ऐतिहासिक महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रूपमा विकास गर्न थालेपछि जितगढीको मुहार फेरिएको छ। गुरूयोजना बनाएरै जितगढीको विकासका लागि काम सुरू गरिएपछि दुई वर्ष पहिले नै कर्णेल उजिरसिंह थापाको ९ फिट उचाइको पूर्णकदको तामाको शालिक निर्माण र ५५ फिटको टावरमा राष्ट्रिय झण्डा फहराइएको छ।
चार वर्ष पहिलेसम्म गढिकिल्लासम्म भएको अतिक्रमणलाई हटाएर बुटवल उपमहानगरपालिकाले जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकहरूको शालिक निर्माण गरेको छ।
जितगढी किल्लाकै स्वरूपमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकहरूका अर्धकदका शालिक निर्माण गरिएका छन्।
उक्त लडाइँमा तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सूर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानिया, दलखम्ब थापा, काजी वीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतले विरगती प्राप्त गरेका थिए।
शाक्यका अनुसार अंग्रेज सरकारको सेनाले अवैध सरकारलाई तिरो तिरेको प्रमाणका आधारमा तिब्बतसम्मको व्यापारिक नाका कब्जा गर्ने उद्देश्यका साथ बटौलीबाट आक्रमण सुरू गरेको थियो।
जनरल सुलेमान र जनरल ऊडको नेतृत्वमा आएको अंग्रेज फौजलाई कर्णेल उजिरसिंह थापा मगरको कमाण्डको नेपाली सेनाले दुई पटकसम्म पराजित गर्दै भारतको गोरखपुरसम्म लखेटेको थियो।
बुटवलको तिनाउ नदी किनारमा रहेको जितगढीमा तीन वटा गणबाट खटिएका नेपाली सेनाका फौजसँगको लडाइँमा ३ सयभन्दा बढी अंग्रेज सैनिकको मृत्यु भएको थियो। वीरतापूर्वक अंग्रेज फौजमाथि विजय प्रात गरेको सोही स्थानको संरक्षण र प्रवर्द्धनका लागि वीर योद्धाहरूको शालिक, वाटर फाउण्टेन र झिलिमिली बत्ती सहितको फूलबारी र नजिकै युद्ध संग्रहालय समेत निर्माण भइरहेको छ।
बुर्जा शैलीमा बनाइएको मूलगेटको डिजाइन राजा मणिमुकुन्द सेनको पालामा चलेको शैली हो।
मध्यभागमा नेपालको झण्डा राखिएको गेटको दुवैतर्फ तोप राखिएका छन्।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सरकारकै बेवास्ताको कारण केही वर्ष अघिसम्म स्थानीयको अतिक्रमणमा परेको जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानसहित विकास गर्न लागिएको बताए।
आफू जिल्ला विकास समितिको सदस्य रहेको बखत २०५४ सालमा थोरै बजेट छुट्याएर संरक्षणको पहल गरिए पनि आफैं बुटवलको मेयर भएपछि त्यसलाई पूर्णता दिन सकिएको उनले दाबी गरे।
पहिलो वर्ष भित्री संरचना निर्माण लगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन गरी काम सुरू गरिएकोमा गतवर्ष एक करोड बजेट विनियोजन गरी गुरूयोजना बनाएरै सम्पदा स्थलमा विभिन्न संरचना निर्माण गरिएका हुन्।
जितगढी सम्पदा स्थलको करिब दुई विगाह जग्गाको र त्यससँग महत्व जोडिएका अरू क्षेत्रहरू समेतलाई जोडेर उपमहानगरले गुरूयोजना तयार गरेको छ।
गढी किल्लामा निर्माण गरिने सम्पूर्ण संरचनाको लागि ८ करोड १२ लाख ८९ हजार २७ रुपैयाँ लागत अनुमानसहित काम सुरू गरिएको छ भने जग्गा अधिग्रहण र मुआब्जाका लागि झण्डै एक अर्ब लागत अनुमान गरी प्रदेश सरकार तथा संघीय सरकारमा पठाइएको उपमहानगरपालिकाका प्रमुख सुवेदीले जानकारी दिए।
जितगढी किल्लाको संरक्षणका लागि प्रदेश र संघ सरकारले पनि चासो दिएका छन्।
बुटवल उपमहानगरपालिकाको १ करोड बजेटसँगै गत वर्ष प्रदेश सरकारले १ करोड ६० लाख र संघीय सरकारले ५० लाख रुपैयाँ बजेट छुट्टाएका थिए।
गुरूयोजनामा जितगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १) लाई प्राचीन बजार र पुरातात्विक स्थलको रूपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्य बताउँछिन्।
जितगढीमा वि.सं.१८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग पराजित भई अंग्रेज सेना नेपालबाटै फर्किएको दिनलाई जितगढी विजय उत्सव दिवसका रूपमा मनाउन थालिएको छ।
चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्ला १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिन्छ। वीरताको इतिहास बोके पनि खण्डहर बनेको किल्लाको संरक्षणको लागि वि.सं. २०५२ सालमा पुरातत्व विभागले गढीको पर्खालको बीच भागको उत्तरतर्फ उत्खनन् गर्दा पुरिएको पर्खालको पेटी भेटिएको थियो।