ऋतु चक्रहरूमा सम्भवतः सबैभन्दा महत्वपूर्ण हो वर्षा र शरद ऋतु। यो बेला बर्खे झरीले जग सारा हराभरा हुन्छ, किसानले अन्रबाली लगाउँछन्, वनजंगल र माटाेले वर्षैभरिका लागि जल सिंचन गर्छन्।
यहीबेला हिमाली र उच्च पहाडी भेगतिर प्रकृतिकाे एउटा सुन्दर खेला सुरू हुन्छ। अन्य समयमा सुख्खा र बेजान हिमाली पाटनहरू यो बेला हराभरा हुन्छन्, जंगली फूलहरू पाखैभरि ढकमक्क फुलेका हुन्छन्। लाखाैं कराेडाैं खर्च गरेर बनाइएका बगैचाभन्दा सुन्दर देखिन्छ याे प्रकृतिकाे बगैंचा।
अन्तर्राष्ट्रिय पर्यटकलाई त परकाे कुरा, आन्तरिक पर्यटकहरूमा पनि यसबारे निकै कम ज्ञान छ। त्यसमाथि बर्सेनि यही बेलामा जाने बाढीपहिराेका कारण धेरै कम मानिसहरू घुम्न निस्कने गर्छन्।
पर्यटन व्यवसायीकाे भाषामा भन्दा याे ‘अफ सिजन’ हाे।
तर हाम्रा लागि भने यात्राका गर्नका लागि वर्षभरिकै उत्तम समय यही बेला हो। याे बेला जति प्रकृतिकाे रंगीन आभा सायदै अरूबेला भेटिएला! त्यसैले यो बेला यात्रामा निस्किन चाहनेका लागि हामीले ६ उत्कृष्ट मनसुन गन्तव्यहरू छनोट गरेका छौं।
काेरी, कास्की
झण्डै ३८०० मिटर उचाइमा रहेकाे काेरी एउटा सुन्दर चरनक्षेत्र हाे। सिक्लेसी र लमजुङका स्थानीयहरू अहिले पनि यहीँ पाटनमा भेडीगाेठ राख्छन्। जेठ महिनादेखि भदाै अन्तिमसम्ममा यहाँ विभिन्न थरीका जंगली फूलहरू ढकमक्क फुल्छन्। माैसम खुलेकाे बेला यहाँबाट अन्नपूर्ण, लमजुङ हिमश्रृंखलादेखि गाेरखाकाे हिमालचुली लगायतका हिमालहरू क्षितिजैभरि असरल्लै देखिन्छन्। साथै माछापुच्छ्रे हिमाललाई फरक काेणबाट नियाल्न सकिन्छ।
ताङतिङ, सिक्लेस र परकाे पाेखरा बजार पनि माैसम उघ्रिँदा स्पष्ट देखिन्छ। काठमाडौंदेखि करिब ५ दिनमा पूरा गर्न सकिने याे ट्रेकमा गुरूङ गाउँ समाज र संस्कृतिसँग भिज्ने माैका पाइन्छ।
कसरी जानेः
पोखराबाट ताङतिङ गाउँ गाडीमा २ घण्टा र सिक्लेस ४ घण्टामा पुग्न सकिन्छ। त्यहाँबाट करिब दुई दिनको हिँडाइपछि कोरी पुगिन्छ।
थप विवरणका लागिः
पाँचपाेखरी, सिन्धुपाल्चाेक
काठमाडौंदेखि केबल ८० किलोमिटरको दूरीमा रहेको पाँचपोखरी नाम अनुसार नै पाँच साना(ठूला पोखरीहरू भएको सुन्दर सिमसार क्षेत्र हो।
अहिले भोताङ गाउँसम्म गाडी पुगेका कारण यो ठाउँ पुग्न निकै सहज भएको छ। यस क्षेत्रमा भएका पाँच कुण्डहरू( सूर्यकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, भैरव कुण्ड र गणेश कुण्ड हुन्।
नेपालमा धेरै पाँचपोखरी नाम गरेका स्थानहरू छन् तर यहाँ जतिको स्पष्ट पाँचपोखरी अरू क्षेत्रमा देखिँदैन। पोखरीबाट करिब आधा घण्टा माथिको भ्यू प्वाइन्टबाट तलपट्टिका पाँचै कुण्डलगायत उत्तरपट्टिका लाक्पा दोर्जे, फुर्वी छ्याछु, जुगल हिमाल श्रृंखलाका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। मनसुनका बेला यहाँ पनि ढकमक्क जंगली फूलहरू फुलेका हुन्छन्।
जनैपूर्णिमामा तीर्थयात्रीहरूको ठूलै भीड लाग्ने भएकाले फूलहरू मान्छे नपुग्ने ठाउँतिर अलि बाक्ला भेटिन्छन्। स्थानीयलगायत सरकारी निकायको पहलमा यहाँसम्म पुग्ने राम्रो गोरेटो बाटो बनेको छ। जसका कारण पदयात्रीहरू हराउने झुक्किने सम्भावना निकै कम हुन्छ। बाटोमा पर्ने टुप्पी डाँडा, ताङ्कु र नोश्यामपाटी पनि बसिरहुँ लाग्ने जस्ता ठाउँ छन्। काठमाडौंबाट निकै नजिक भएर पनि यो ठाउँ अझै ओझेलमा छ।
Photo : Lhakpa Gyalbu Hyolmo
कसरी जानेः
जाेरपाटीबाट भाेताङ जाने गाडीमा करिब ५ देखि ६ घण्टामा भाेताङ गाउँ वा छिम्ति पुगिन्छ। एक रात गाउँमा बिसाएर भाेलिपल्टदेखि पदयात्रा सुरू गर्न सकिन्छ। एकैदिन करिब २००० मिटरभन्दा बढी उचाइ चढिने भएकाले नाेश्यामपाटीमा एक रात बिसाएर गए सहज हुन्छ।
थप विवरणका लागि
मेमेपाेखरी, लमजुङ
लमजुङ जिल्लाकाे उत्तरी भेगमा पर्ने मेमेपाेखरी मनसुन यात्राका लागि अर्काे उत्कृष्ट गन्तव्य हाे। यात्रा सुरूआतमै गुरूङ समुदायसँग भिज्ने अवसर पाइन्छ। हिले टक्सारदेखि मेमे पुगिन्जेल प्राय: हरेक ठाउँ, ढुंगा र देउरालीका किंवदन्ती उत्तिकै राेचक छन्।
बाटाेमा पर्ने बराह पाेखरीको शान्त र रमणीय दृश्यले यात्रामा थकान महसुस हुँदैन। उकालाे लाग्दै गर्दा भेडीगाेठहरूमा चिया-नास्ता खाँदै रमाइला गफ गर्नुको बेग्लै आनन्द छ। स्थानीय विश्वास अनुसार भेडीगाेठमा कसैलाई निम्ता गर्नुहुन्न भन्रे मान्यता छ। पाहुनालाई भित्र आउनुस् भन्याे भने पाहुनासँगै जंगलका भूतप्रेत र खराब तत्व नि गाेठ छिर्छन् रे!
नाले पछिकाे बाटाे भने केही जाेखिमपूर्ण छ। मेमे पुग्नुअघिकाे छबे गाैंडा उक्लिँदा आङ सिरिङ्ग हुन्छ। तर यो सबै पार गरेर जब मेमेपाेखरी पुगिन्छ, सारा थकान र भाेक, अगाडिकाे साैन्दर्यले मेटाइदिन्छ।
ताल पहिलाेचाेटि देख्ने मान्छेकाे टाउकाे रिङ्गाएपछि याे पाेखरीकाे नाम मेमेपाेखरी भएकाे रे! यहाँ नजिकै अन्य साना तीन वटा ताल छन्। एक घण्टामाथि अर्काे धार्मिक महत्व भएकाे दूधपाेखरी अवस्थित छ।
कसरी जानेः
लमजुङ वेशीसहरबाट डेढदेखि दुई घण्टामा हिले टक्सार पुगिन्छ। त्यहीँ गाउँबाट पैदलयात्रा सुरू गर्दै करिब तीन दिनकाे हिँडाइमा मेमेपाेखरी पुग्न सकिन्छ।
थप विवरणका लागि:
बडीमालिका, त्रिवेणीपाटन, बाजुरा
धार्मिक रूपले निकै महत्वपूर्ण शक्तिपीठ हाे बडीमालिका। तर हामी सबैले कल्पनामा राखेकाे सुन्दर फाँटहरूका तस्बिर भने त्रिवेणीपाटनका हुन्। प्रचारप्रसारकाे सुरूआती दिनमै बडीमालिका भनेर तस्बिरहरू बाहिर आएपछि धेरैकाे मनमा त्यस्ताे पर्न गएकाे हाे।
त्रिवेणीपाटन वरपरका थुम्काहरूमध्ये सबैभन्दा पश्चिमपट्टिकाे थुम्कामा अवस्थित छ बडीमालिका मन्दिर। हरेक साल यहाँ बाजुरा, अछाम र कालीकाेटका स्थानीयसँगै नेपालभरिका तीर्थारुहरूकाे भीड लाग्ने गर्छ। सुदूरपश्चिममा पर्ने भए पनि यहाँ पुग्न पहिलेजस्ताे लामाे समय लाग्दैन।
त्रिवेणीपाटनकाे भूबनाेट त आश्चर्यमयी छ नै, सँगै पर-परसम्म फैलिएको विशाल पाटन र ‘विन्डाेज एक्सपी’ काे वालपेपरजस्ता पहाडहरूसँगै भातीज्युलका स-साना पाेखरीहरू अनन्य छन्। नेपालभरिमै सायदै यस्ताे भूगाेल अन्त कतै पाइएला!
बर्खामासमा यहाँ बसाइएका गाेठ र त्रिवेणी धामका धर्मशालाले बसाइ केही सहज बनाइदिन्छ। माैसम खुलेकाे बेला अपि र साइपाल श्रृंखला देखिन्छ भने रातमा नांगो आँखाले ‘मिल्की वे’ नियाल्न अर्कै आनन्द हुन्छ। सँगसँगै पाटनदेखि बडीमालिका सम्मकाे यात्रा उत्तिकै राेमान्चक छ। जनै पूर्णिमाकै बेला पुगे त झन् कर्णाली र सुदूरपश्चिमका फरक लाग्ने बाेली र संस्कृतिसँग प्रत्यक्ष उठबस गर्न पाइन्छ। प्राकृतिक सुन्दरता सँगसँगै तीर्थ गरेकाे पुण्य आर्जन त हुने भैहाल्याे।
कसरी जाने:
नेपालगन्जबाट धनगढी हुँदै बाजुराकाे मार्तडी अथवा कालीकाेटकाे मुम्राबाट लगभग डेढदेखि दुई दिनकाे हिँडाइमा त्रिवेणीपाटन पुग्न सकिन्छ। त्रिवेणीपाटनबाट बडीमालिका करिब चार घण्टाकाे दूरीमा छ।
थप विवरणका लागि:
रामाराेशन, अछाम
एकचोटि ताल नगरी भनेर चिनिने पोखरा लेखनाथ सम्झिनुस् अनि कल्पना गर्नुस्-६५० मिटरको साटो २४०० मिटरको उचाइमा त्यस्तै तालहरू। अनि स्वच्छ हावा, शान्त वातावरण, मिजासिला स्थानीय र शुद्ध अर्गानिक खाना, यो अवास्तविक लाग्ने कल्पनाको मूर्तरूप हो अछामको सुन्दर रामारोशन।
बडीमालिका यात्रापछि हामी यहाँ पुगेका थियाैं। रामाराेशन क्षेत्रमा पाइला पर्नासाथ हामीले छुट्टै आराम र राहतकाे महसुस गर्याैं। १२ बण्ड अर्थात १२ पाेखरी/ताल र १८ खण्ड अर्थात १८ सानाठूला मैदानहरूकाे क्षेत्रका रूपमा परिचित रामाराेशन सिमसार क्षेत्रमा सूचित क्षेत्र हाे। सुरूवाल आकारकाे जिंगले ताल यहाँको सबैभन्दा ठूलाे ताल हाे। जहाँ डुंगासयर गर्दाको अनुभूति बेग्लै हुन्छ।
सग्लो पानी बग्ने खाेल्साखाेल्सीमा खुट्टा भिजाउँदै बाटुल्ला ताल, तल्लाे र माथ्लाे धाउन्ने ताल घुम्दाकाे आनन्द छुट्टै छ। भुइँसम्म छ्याङ्गै देखिने नीलाे सफा पानी भएकाे नीला बण्डमा त हामीले ठिहिर्याउँदै भए पनि पाैडी खेल्याैं। यहाँका केही भू-भाग र तालहरू प्राकृतिक प्रकाेप र मानवीय गतिविधिका कारण नासिएकाे पाइयाे तर तिनकाे पुनर्उत्थानमा स्थानीय सरकार र पर्यटन समिति लागिपरेकाे छ। नजिकैका गाउँहरूमा देउडा, भुवाे, रत्याैडि लगायत सुदूरपश्चिमका दुर्लभ सँस्कृतिकाे अनुभव लिन पाइन्छ। गाडीबाट सहज रूपमा पुग्न सकिने रामाराेशन सबैले एकचाेटि पुग्नै पर्ने ठाउँ हाे।
कसरी जाने:
धनगढीबाट सिधै रामाराेशनका लागि गाडी छुट्छ। जहाजबाट साँफेबगर गए समय अझै छाेटिन्छ।
थप विवरणका लागि
घाङ्घ्री सर्किट, नुवाकाेट, रसुवा
लाङटाङ र गोसाइँकुण्ड पदमार्ग नेपालकै चर्चित पदयात्राहरूमध्ये एक हो। धार्मिक महत्वका कारण गोसाइँकुण्ड सबैलाई थाहा भएको ठाउँ हो। कतिले त ट्रेकिङको सुरूआत नै यहीँबाट गरेका हुन्छन्। तर देशविदेशमा यति लोकप्रिय यही पदमार्ग छेवैको नौकुण्ड उपत्यका, झ्याकुङ चुली, राउचुली जस्ता ठाउँहरूबारे निकै कमलाई थाहा छ।
यसको धार्मिक महत्व नभएको पनि हैन। कालकुट विषको डाह शान्त पार्न हिँडेका भगवान शिवपार्वती यहीँ घाङ्घ्री पदमार्गको बाटो हुँदै गोसाइँकुण्ड पुगेको मानिन्छ। सोहीअनुसार दुप्च्रश्वरबाट माथि लाग्दा भेट हुने सागर कुण्ड, निकुञ्ज प्रवेशपछि भेटिने अग्नि कुण्ड, झ्याकुङ कुण्ड, राजा रानी कुण्ड, सेरा कुण्ड सबका आफ्नै कथा र किंवदन्ती छन्।
शिवपार्वतीको पदचाप पछ्याउँदै आएका जोगीहरूको मृत्यु भएको ठाउँ मानिने जोगिमारा, अनि राउचुलीबाट देखिने लाङटाङ, गौरीशंकर र गणेश हिमालका श्रृंखलाले मनै लोभ्याउँछ।
मानवीय चहलपहल कम भएकै कारण यो क्षेत्रमा मनसुनको समय हरियाली छाउँछ, छटाछटाका रंगीविरंगी फूलहरूले बाटो नै ढकमक्क ढाकिन्छ। गोसाइँकुण्ड, सूर्यकुण्ड, भैरवकुण्ड लगायतका चर्चित कुण्ड समेट्ने यो पदमार्गमा ह्योल्मो समुदायको संस्कृति र आतिथ्यको मीठास पनि उत्तिकै आकर्षक छन्।
All Photos by Lhakpa Gyalbu Hyolmo
कसरी जानेः
काठमाडौंबाट नुवाकाेटकाे दुप्चेश्वर गएपछि पदयात्रा सुरू हुन्छ। कम चर्चित भएपनि स्थानीयसँग सम्पर्क राखेर गएमा अथवा जनै पूर्णिमाका बेला गए सजिलाे पर्नेछ।
थप विवरणका लागि
तस्बिरहरूः रिशभ अधिकारी र हिमालय भट्ट