मेलवर्नमा जारी ओली एन्ड एसोसियट्स एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत सगरमाथा र गोर्खालीले जित हात पारेका छन्।
पहिलो खेलमा सगरमाथा स्टार्सले एससिसी रेनिगेड्सलाई सहजै हराएको थियो।
टस जितेर बलिङ रोजेको सगरमाथाले एससिसीलाई १७.३ ओभरमा ६० रनमा समेट्यो। ६१ रनको लक्ष्य उसले ९.५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो।
एमसिसीलाई सस्तैमा समेट्ने क्रममा सगरमाथाका सुरज थापा र कुशल तुलाधारले समान ४-४ विकेट लिए।
असिम सुवेदी र सुरज सुवेदीले उत्कृष्ट प्रदर्शन गर्दै सगरमाथालाई सहज जीत दिलाए। यी दुईले क्रमशः २३ र १६ रन बनाए। विक्रम र सजिन श्रेष्ठले एक एक विकेट लिए।
एससिसीका सुरज थापा म्यान अफ द म्याच भए ।
त्यस्तै, आजै भएको दोस्रो खेलमा गोर्खाली क्रिकेट क्लबले वेरिबी टाइटान्सलाई हरायो।
टस जितेर ब्याटिङ गरेको बेरिबीले २३.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो। उसका लागि वेरिबीका आशिषले ४८ रन जोडे। त्यस्तै, अविनाश पौडेलले ३८ रन र सुमित चौधरीले २० रन जोडेका थिए।
गोर्खालीका शिव अधिकारीले ४ विकेट, जेम्स थापाले २ विकेट र सागर पौडेलले २ विकेट लिए ।
१ सय ९२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गोर्खालीले २२.३ ओभरमै विजय लक्ष्य भेट्टायो। उसका लागि अनिल खनालले ६०, केशव पन्तले ४६ र जेम्स थापाले ३० रनको योगदान गरे।
वेरिबीका सन्जय कँडेल र रसिमले क्रमशः २ र १ विकेट लिए।
भिक्टोरियान नेप्लीज क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेका गोर्खालीका अनिल खनाललाई म्यान अफ द म्याच भए।
मेलवर्नमा छरिएर रहेका नेपाली क्रिकेटरहरुलाई एकतामा बाध्ने प्रयास स्वरुप क्रिकेट प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय क्रिकेटर यशवन्त सुबेदीले जानकारी दिए।