मिन्टोको कम्युनिटी हलमा नेपालीलाई लक्षित गरी स्वास्थ्य चेतना कार्यक्रम आयोजना गरिएको छ।
साउथवेस्ट नेप्लिज कम्युनिटीको आयोजना र ल्युमिया नेप्लिज कम्युनिटीको सहआयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै साउथवेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष डा. देवेन्द्र सापकोटाले समुदायको स्वास्थ्य, शिक्षा, साँस्कृतिक पहिचान र धार्मिक तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि कार्ययोजना अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गरे।
‘हामी दक्षिण पश्चिम सिड्नीमा बसोबास गर्ने नेपालीहरूको बृहत्तरहितका लागि कार्य गर्न लागिपरेका छौं र यसमा काउन्सिलको सहयोगात्मक भूमिकाको अपेक्षा गरेका छौं’, उनले भने।
कार्यक्रमका सहआयोजक ल्युमिया नेप्लिज कम्युनिटीका अध्यक्ष प्रकाश हुमागाईंले स्वास्थ्य जनचेतना जस्तो महत्त्वपूर्ण र शिक्षाप्रद विषय विशेष गरेर नेपाली समाजमा अत्यन्त आवश्यक रहेको र यस्ता कार्यक्रममा विभिन्न नाममा छरिएर रहेका नेपालीहरू एक ढिक्का भई निकट भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताए।
‘समुदायका नाममा हामी धेरै राजनीतिक टिकाटिप्पणी र खिचातानीका कुरा गरेर समय व्यतित गरिरहेका छौं, तर स्वास्थ्य, शिक्षा, साँस्कृतिक पहिचान जस्ता कार्यक्रम गरेर समाजमा नयाँ पहिचान बनाउन पनि हामी एकजुट हुनुपर्ने समय आइसकेको छ, त्यसैले ल्युमिया नेप्लिज कम्युनिटी निकट भविष्यमै अन्य समुदायसँगको सहकार्यमा यस्ता विविध रचनात्मक कार्यक्रम गर्ने कार्ययोजनाका साथ अघि बढिरहेको छ’, पुराना पत्रकार समेत रहेका अध्यक्ष हुमागाँईले भने।
आर्कषणका केन्द्रविन्दु चिकित्सकहरू
कार्यक्रमका मुख्य आर्कषक बनेका थिए डा. कुमुद धिताल र डा. सिताराम जोशी। मुटु प्रत्यारोपणमा विश्वमै चर्चित बनेका डा. धितालले कार्यक्रममा मुटुरोग र असल स्वास्थ्यसम्बन्धी विविध जानकारीमूलक सामग्री प्रस्तुत गरेका थिए।
अर्का चिकित्सक सीताराम जोशीले ‘जेरियाटिक स्वास्थ्य’ सम्बन्धी प्रस्तुतीलाई अत्यन्त सरल, आकर्षक र सरल ढंगबाट प्रस्तुत गरेका थिए।
अर्का डा.प्रविण पाठकले ‘पुरुष स्वास्थ्य र प्रोस्टेट स्क्रिनिङसम्बन्धी, डा. बाबुराम बस्ताकोटीले मधुमेह जाँच, परीक्षा र उपचारसम्बन्धी, डा. रुपेश केसीले दाँत सम्बन्धी, डा. महेन्द्र नेपालले मानसिक रोगसम्बन्धी र डा. अन्जु पाण्डेले पाठेघरको क्यान्सरसम्बन्धी विभिन्न चेतनामूलक प्रस्तुति दिएका थिए।
त्यस्तै, फरमिला सापकोटाको ‘स्तन क्यान्सर र उपचार’ सम्बन्धी प्रस्तुतिले उपस्थित अभिभावक र विशेष गरेर महिला सहभागीहरूका लागि शिक्षाप्रद रहेको कार्यक्रममा सहभागी जानकी रानाभाटले सेतोपाटीलाई बताइन्।