गीत, संगीत र चलचित्रको भीडभाड रहने सिड्नी सहरमा आइतबार केही फरक र अलग कार्यक्रमले निकै चर्चा पायो।
सधैं दोहोरी, गायक अनि चलचित्रका नायक नायिकाको चर्चा हुने सिड्नी सहरमा नेपाली चेलीहरूले र्याम्पमा ढाकाका चौबन्दी र युवाहरूले दौरा सुरुवालमा ढाका टोपीले सजिएर क्याटवाक गरेको दृष्य साँच्चिकै हेर्न लायक रहेको थियो। डिजाइनरहरू युवी थापा, मनिष राइ र मुकु श्रेष्ठका आकर्षक डिजाइनहरूले सिड्नीमा पनि चर्चा बटुलेका छन्।
फेसन शोको आकर्षक रूपमा नेपाली चलचित्रकी नायिका वर्षा राउत र उनका श्रीमान् सन्जोग कोइराला रहेका थिए।
‘नेपालका पनि आफ्नै पहिरन र पहिचान छन् जसले मुलुक चिनाउने गर्छन्,त्यस्ता पहिरनहरूलाई फेसन शोमार्फत् अस्ट्रेलियामा पनि चिनाउने प्रयासको थालनी गरेको हुँ’, आयोजक ग्लाम नेपालका दीपक ज्ञवालीले भने।
चर्चित मोडलहरू सविता कार्की, एना शर्मा, निती शाह लगायत सिड्नीका एक दर्जन नेपाली चेलीहरूले विभिन्न नेपाली डिजाइनरहरूको पहिरनमा सिड्नी रंगाएका थिए।
म्यान हन्ट इन्टरनेशनलका विजेता विवेश श्रेष्ठलगायत स्थानीय नेपाली मोडलहरूले दौरा सुरुवाल अनि टोपी र श्रेष्ठ टेलरिङको डिजाइनमा वाक गरेका थिए।
हिजो आज बदलिँदो माहौलमा फेसनको रूपमा पनि फेरिएको छ, हिजो रोम र पेरिसमा आधुनिक पाश्चात्य पहिरनको परिचय बनेका फेसन शोहरू बिस्तारै-बिस्तारै परम्परागत पहिरन र आफ्नो उत्पादनको परिचय दिने भावमा फैलिन थालेको बताउँछन् कार्यक्रम सञ्चालक सुरजसिंह ठकुरी।
युवा अभियन्ता दीपक ज्ञवालीले आफ्नो पहिचानलाई मुलुकको पहिरनमार्फत् उजागर गर्ने प्रयास गरेका छन्।
‘हाम्रा परम्परागत पोशाकहरू ढाका टोपी र गुन्यू चोलीको पहिरन पनि फेसन शोका गहना बन्न सक्छन् भन्ने मेरो सोच थियो र अहिले यो पूरा भएको छ,’ आयोजक दीपक ज्ञवालीले भने।
‘नेपाली ढाका र यसबाट निर्मित पोशाकहरू अत्यन्तै उत्कृष्ट र राम्रा छन्,यसबाट बनेको पहिरनहरूले राम्रो बजार पाउन सकिरहेको छैन, हामीले यस शोमार्फत् नेपालमा हाम्रै डिजाइनरले निर्माण गरेका उत्कृष्ट पहिरनलाई पश्चिमी बजारमा पनि लोकप्रिय बनाउन सकिन्छ भन्ने ध्येय बोकेर ग्लाम नेपालको आयोजना गर्न लागेका हौं, ज्ञवालीले भने ।
डिजिटल जेनेरेसनको प्रस्तुतीका रूपमा सम्पन्न ग्लाम नेपाल इन्टरनेसनल फेसन शोलाई नेपिन्डो समूहले सघाएको थियो। सिड्नीको मार्टिनप्लेसस्थित सोफीटेलमा सम्पन्न भएको हो।
यस कार्यक्रमले नेपाली डिजाइनर र मोडलहरू पनि कमजोर छैनन् भन्ने तथ्य उजागर गरेको नेपिन्डोको निर्देशक उषा किरण बारिया पोखरेलले बताइन्।