करिब एक हजार नेपाली विद्यार्थी पढ्दै गरेको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेसनल प्रालि (एआइबिटी इन्टरनेसनल) खारेजी भएको एक साता नबित्दै पुन: सञ्चालनमा आउने भएको छ।
अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले दर्ता खारेजी गर्ने निर्णय गरेपछि खारेजीविरूद्ध कलेज प्रशासन संघीय अदालतमा पुगेको थियो।
अदालती प्रकृयामा कलेज प्रशासन गएपछि सुनुवाइ हुनुअघिनै आस्क्वाले आफ्नो निर्णयमाथि पुनर्विचार गर्दै फिर्ता लिएपछि कलेज पुन: सञ्चालनमा आउने भएको हो।
एआइबिटी इन्टरनेसनलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आस्क्वाको निर्णय सार्वजनिक गर्दै भनेको छ, ‘यसले विद्यार्थीहरूमा सकारात्मक सन्देश गएको छ।
अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यस्ता निर्णय गरेता पनि यहाँको कानुनमा सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावोलकन गर्ने अधिकार रहन्छ।
यसरी पटक/पटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको शैक्षिक सोच र मनोविज्ञानमा प्रभाव गरेको काउन्सिल अफ इन्टरनेसनल स्टुडेन्ट अस्ट्रेलिया(सीसा)का अध्यक्ष विजय सापकोटाले बताए।
बन्द गर्ने निर्णय र स्टे अर्डर अनि पुन: निर्णय फिर्ता जस्ता विषयहरूले विद्यार्थीको पढाइ र सोचाइमा समेत फरक पर्ने हुनाले आस्क्वाले आफ्नो निर्णयलाई गम्भीरतापूर्वक लिनुपर्ने सापकोटाको भनाइ छ।
सापकोटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आकर्षक गन्तव्य बनेको अस्ट्रेलियामा यस किसिमका सरकारी नीति र ढुलमुले नीतिले ठूलो प्रभाव पर्न सक्ने बताए।