अस्ट्रेलियाको प्रहरीले त्यहाँका पत्रकारमाथि खानतलासी गर्ने क्रम जारी राखेको छ।
पत्रकार लक्षित खानतलासीलाई निरन्तरता दिँदै आज अस्ट्रेलियन ब्रोर्डकास्टिङ कर्पोरेसन (एबीसी)को सिड्नीमा रहेको मुख्य कार्यालयमा छापा हानेको छ।
अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले दुर्व्यवहार गरेको भन्ने खबरका सन्दर्भमा उक्त छापा हानिएको बीबीसीले जनाएको छ।
खानतलासीका लागि एबीसी कार्यालयमा पुग्दा प्रहरीले समाचार निर्देशक र संवाददाताका नाममा जारी गरिएको सर्च वारेन्ट लिएर गएका थिए। एबीसीले सन् २०१७ मा चलाएको द फाइल्स श्रृखंलामा अफगानिस्तानमा परिचालित अस्ट्रेलियाको विशेष सैन्य फोर्सका सेनाहरूले गैरकानुनी हत्या र दुर्व्यवहार गरेको तथ्य उजागर गरेको थियो।
सरकारका गोप्य सरकारी दस्ताबेज सार्वजनिक गरेकाले छापा हान्नुपरेको अस्ट्रेलियाको प्रान्तीय प्रहरीले जनाएको छ।
यसअघि गत मंगलबार न्युज कर्पका पत्रकारको घरमा पनि प्रहरीले खानतलासी गरेको थियो।
प्रहरी छापाको अस्ट्रेलियामा विरोध भइरहेको छ। अस्ट्रेलियाको पत्रकार संगठनले पत्रकार र सञ्चारमाध्यममाथि भइरहेको यो खानतलासी देशको प्रेस स्वतन्त्रतको विपक्षमा छ।
घटनाको अस्ट्रेलियन ब्रोर्डकास्टिङ कर्पोरेसन (एबीसी)ले पनि विरोध गरेको छ।