अस्ट्रेलियामा विगत एक दशकदेखि बसोबास गरिरहेकी नेपाली साहित्यमा क्रियाशील सानु घिमिरे ‘ज्योत्सना’को पहिलो उपन्यास ‘सिड्नी सपना’ सार्वजनिक भएको छ।
गत हप्ता सिड्नीमा सार्वजनिक भएको उक्त उपन्यास अस्ट्रेलियाको नेपाली समुदायको कथाप्रति केन्द्रित रहेको छ।
विकसित देश र सुखमय जीवनको कल्पना गरेर अस्ट्रेलिया आएकी मुख्य पात्र सृष्टिको माध्यमबाट अस्ट्रेलियामा बसोबास गरिरहेका नेपाली विद्यार्थीहरूको समस्या र चुनौतीलाई यो उपन्यासमा देखाउन खोजिएको छ।
कलेजको पढाइ , कलेजको ट्युसन फि तिर्नुपर्ने बाध्यता, त्यसपछि जीवन धान्न गर्नुपर्ने संघर्ष र काम, वयस्क उमेरमा हुने प्रेम, विवाह र यौनका अनुभूति, उत्सुकता र तीसँगै आइपर्ने समाजिक र मनोवैज्ञानिक पक्षलाई पनि उपन्यासमा उजागर गरिएको छ।
त्यस्तै अवैधानिक रूपमा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरू जो फार्ममा काम गरेर जीवनयापन गर्छन्, उनीहरूको जीवनशैली र दिनचर्यालाई उपन्यासमा उठाइएको छ।
के तपाईं नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया नआऊ भन्न चाहनुहुन्छ? भन्ने प्रश्नको जवाफमा लेखिका सानु घिमिरे ज्योत्सना भन्छिन्, ‘म यो उपन्यासको माध्यमबाट नेपाली विद्यार्थीहरूलाई अस्ट्रेलिया बुझेर मात्र आऊ, नबुझिकन झिलमिली सपनाको कल्पना गरेर नआऊ भन्न चाहन्छु, बुझेर आइयो भने दु:ख कम हुन्छ, नबुझी आइयो भने सपना र यथार्थता नमिल्दा मान्छे चरम मानसिक समस्याबाट ग्रस्त हुने गर्छ।
सिड्नी सपनामा मानवीय जीवनका प्रेम, यौन तथा सिड्नीको नेपाली समुदायमा देखिएका घरेलु हिंसा , यौन हिंसा लगायत फार्ममा काम गरिरहेका अवैधानिक रूपमा बस्न विवश नेपालीहरूको कथामा समेटिएको छ।
सांग्रिला बुक्स नेपाल-इन्डियाले बजारमा ल्याएको यो किताबको नेपालमा एक महिना अगाडि सार्वजनिकीरण गरिएको थियो ।