शिक्षाको व्यापार अपार हुँदै जाँदा यसका गुण र अवगुणको फरकखाले व्याख्या हुन थालेका छन् समाजमा।
हाम्रो जस्तो अविकसित राष्ट्रबाट उच्च अध्ययनमा आउने विद्यार्थीहरूको अझ फरक खाले संघर्षका कथा व्यथाहरू छन् अस्ट्रेलियामा।
के सोचे मैले, के भयो अहिले भन्नेहरू धेरै छन यहाँ।
समुन्द्रका मनमोहक दृष्य र गगनचुम्बी घरकामुनि खिचेका फोटो देखेर विदेशिन रहर गर्नेहरू यहाँ आएर पीडा पोख्दै गरेको दृष्य धेरै देखिन्छन् यहाँ। हाल करिब पचास हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन्।
अरब र मलेसियामात्र हैन, अमेरिका,अस्ट्रेलिया र जापान अनि कोरिया जाने नेपाली युवायुवतीमा पनि डिप्रेसनको ठूलो समस्या देखिन थालेको छ।
यतिखेर अमेरिका, अस्ट्रेलियामा पनि नेपाली युवायुवती झुण्डिएर वा अन्य कारणले आत्महत्या गरेको समाचारहरू प्रशस्तै आउन थालेका छन्।
युवायुवतीको विदेश मोह र उनीहरूको सपना विदेश पठाउँदैमा पूरा हुने अभिभावकको ठम्माइले कस्तो खाले मनोवृत्ति भोग्दैछन् नयाँ पुस्ताले भन्ने कुरा महत्वपूर्ण बनेको छ।
सन् २०१६ देखि २०१९ भित्र करिब दुई दर्जन नेपालीले अस्ट्रेलियामा ज्यान गुमाउन पुगेको तथ्यांक नेपाली राजदूतावास क्यानबेराको तथ्यांकले देखाउँछ। त्यसमध्ये आधाभन्दा बढी संख्या आत्महत्याकै रहेको छ।
पछिल्लो वर्ष ब्यांक्सटाउनमा स्मृति मगर, ग्रानभिलका राजु भण्डारी र कायमामा कृष्ण केसी, एडिलेडका निश्चल घिमिरे लगायतले जीवनबाट विरक्तिएर आत्महत्या गरे।
सिड्नीबाटै हराएका रामचन्द्र खड्का करिब चार महिना बितिस्क्दा पनि उनको अत्तोपत्तो छैन, खोजी कार्य अझै जारी छ।
वैदेशिक अध्ययन र रोजगारीको समस्या अनि व्यस्त जीवन र एक्लोपन डिप्रेसनका कारण बन्दै गएका छन्।
आत्महत्याका श्रृंखलाहरू निरन्तर आइरहेका छन्, कतै झुण्डिने त कतै लागुपर्दाथको शिकार हुने। कही ट्रेनको लिकमा हिँड्ने त कतै गगनचुम्बी भवनबाट हामफाल्ने।
आत्महत्या क्षणिक आवेग हुन सक्ला तर सामान्यतया यो विरक्तताको शृङ्खलाको उच्च बिन्दु हो। यहाँ पुगेपछि मानिसले आफूलाई पराजित मानसिकताको परम शून्यमा देख्छ र जीवन अन्त्य गर्छ।
‘हामी अलि रिएक्टिव छौं जस्तो लाग्छ। पानीमा डुबेपछि हामी वस्तुस्थिति नबुझी पौडिन नजान्ने मान्छे पानीमा गयो भन्छौं। त्यस्तै आत्महत्या जस्तो लाग्ने बित्तिक्कै यहाँको तनाव र तनावका विभिन्न कारणहरूको बारेमा कुरा गर्छौं,’ मानसिक रोग विशेषज्ञ डाक्टर अनुपम पोखरेलले भने, ‘हुनसक्छ एक्लो जीवन, भिसासम्बन्धी अनिश्चय, आर्थिक बोझ आदि विभिन्न कारणले उक्त व्यक्तिलाई हदैसम्म धकेलेको पनि हुन सक्छ।’
उनी थप्छन्,‘कति अवस्थामा डिप्रेसन पनि जिम्मेवार हुन्छ। फेरि डिप्रेसन तनावले गर्दानै हुन्छ पनि भन्न मिल्दैन। तनाव नभएको व्यक्तिलाई पनि डिप्रेसन भएको हुन्छ। आत्महत्याका अन्य कारण पनि हुन्छन्। व्यक्ति व्यक्ति पिच्छे फरक/फरक कारण हुन सक्छ।’
विदेश पठाउँदैमा अभिभावकको दायित्व सकिने र विदेश आउँदैमा छोरा छोरीले पढाइ र पैसा कमाइने सोचले गाजेको हाम्रो समाजमा यसका आन्तरिक उतारचढावका विषयमा बहस हुनु जरुरी भैसकेको छ।
विदेशमा डलर फल्ने सोचले ग्रसित नेपाली समाजले विदेशका गगनचुम्बी भवन र समुन्द्र तटका फेसबुके फोटोहरू मात्र दिमागमा अपलोड गरेको छ।
यहाँको कुखुराको भालेले नबास्दै अर्लामका घन्टीहरूमा दौडिने जिन्दगी र कामले थकित शरीर अनि कलेटी परेका ओठहरूका बारेमा हामीले हाम्रा मान्छे र समाजलाई सुसूचित गराएका छैनौं।
तनाव ,नैराश्यता र खिन्नतालाई सम्बोधन गर्न नसक्दा युवा पिँढी मानसिक रोगको शिकार हुने बताउँछन् एनआरएन अस्ट्रेलियाका प्रवक्ता डिला खरेल।
फरक भौगोलिक समाजिक परिवेश र अध्ययन अनि अध्यागमनको नीति नियमका साथै स्थायी बसोबासको उच्च महत्वकांक्षाले चिन्ता र तनाव बढाउने गरेको पाइएको खरेलले सेतोपाटीलाई बताए।
‘के हामीले हाम्रा विदेशिएका आफन्तहरूसँग स्नेहपूर्ण वार्तालाप गरेका छौं? उनीहरूको विदेश बसाइँ कस्तो छ, कतै उनीहरू त्यो भागदौडबाट थाकेका पो छन् कि! आपसी समन्वय र सद्भावले पनि जिउने शक्तिमा धेरै ऊर्जा भर्न सक्छ’,सामाजिक अभियन्ता बुद्धि डल्लाकोटी भन्छन्।
निरन्तर सम्पर्क, सहानुभूति, हौसला अनि मार्गदर्शन र आत्मीय बोली वचनले पनि अप्रिय घटना हुनबाट जोगाउन सकिन्छ।
के हामी आफैं विदेशमा छौं अनि विरक्तिएका छौं भने आफन्त नत्र साथीभाइसँग समस्याका विषयमा विचार विमर्श गरौं। जीवनबाट हरेस खाने कुरालाई मनबाट निकालौं।
विदेशिएका सन्तानहरूको इच्छा/आकांक्षामाथि आफ्नो सपनाको बोझ नथुपारौं, उनीहरूलाई राम्रोसँग बुझ्ने प्रयास गरौं। आखिर के चाहन्छन् छोरोछोरी। उनीहरूले हिँड्ने बाटो उनीहरूकै रहरको होस्, तपाईंको करको नहोस्।