नेपाली कला संस्कृति तथा साहित्यलाई जीवन्त राख्दै आएको नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानले २०६ औं भानु जयन्ती विविध कार्यक्रम गरी धुमधामका साथ मनाएको छ।
कविता, गीत संगीत र नाटकले भरिएको भानु जयन्तीमा नेपाली भाषामार्फत् कला साहित्यमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो।
अस्ट्रेलियामा रहेका नेपाली युवा पुस्तालाई मुलुकको भाषा र साहित्यसँग परिचित गराउने मूल उद्धेश्य बोकेको कार्यक्रममा श्रष्टाहरूले भानुको सम्झना गर्दै कविता बाचन गरेका थिए।
कार्यक्रममा न्यू साउथवेल्सका महावाणिज्यदूत दीपक खड्काले विदेशमा बसेर नेपाली कला, साहित्यको उत्थानमा लागि पर्नु महत्त्वपूर्ण विषय भएको बताए।
कार्यक्रममा अस्ट्रेलियाकी फेडरल एमपी जुलिया ओवनले बहुसाँस्कृतिक समाजको बाहुल्यता रहेको अस्ट्रेलियामा सबै भाषा, भाषी र कला संस्कृति र पहिचानको सम्मान गरिने बताए।
कार्यक्रममा ग्रानभिल क्षेत्रकै राज्य सांसद जुलिया फीनले छोटो समयमा उत्कृष्ट पहिचान बनाएको नेपाली समाज अस्ट्रेलियाको महत्त्वपूर्ण बनेको सुनाइन्।
उनले एकतामा बाँधिएको नेपाली समाजको कला ,संस्कृतिको पहिचान प्रशंसनीय रहेको बताइन्।
प्रतिष्ठानकी सचिव संगीता बस्नेतले सन्चालन गरेको कार्यक्रममा एनआरएनका पूर्वउपाध्यक्ष दिनेश पोखरेल, एनआरएनका पूर्व अध्यक्ष गोवा कटुवाल, कानुन व्यवसायी शम्सेर सिंह थापा, एनआरएनका प्रवक्ता डिला खरेल लगायतको उपस्थिति रहेको थियो।
भानु जयन्तीको उपलक्ष्यमा भिमसेन गुरुङ र भिमसेन सापकोटा तथा बाल प्रतिभा सारा पाण्डे र अग्रीम घिमिरेलाई भानु अर्वाडबाट सम्मानित गरिएको थियो।
हरेक वर्ष भानु जयन्ती लगायत नेपाल कला साहित्यका उत्थानमा विविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानले गत महिना मात्र बहुसाँस्कृतिक कार्यक्रमको आयोजना गरेर नेपालीको प्रतिष्ठा उचो पारेको थियो।
‘हामीले विदेशमा बसेर पनि मुलुकको भेषभूषा र कला साहित्य अनि संस्कृतिको जर्गेना गर्ने अभियानमा जुटेका छौं’, अध्यक्ष सुजाता बस्नेतले भने।
कार्यक्रममा सचिव संगीता बस्नेतलाई संस्थाको विविध गतिविधिमा संयोजनकारी भूमिका निर्वाह गरेकोमा सम्मानित गरिएको थियो।