नेपालको नक्कली लाइसेन्स प्रयोग गरी अष्ट्रेलियाको लाइसेन्स त लिनुभएको छैन ? यदी त्यसो हो भने जो कोही पनि जुनसुकै बेला अष्ट्रेलियन प्रहरीको फन्दामा पर्न सक्नेछन्।
एक अफगानी नागरिकले नक्कली लाइसेन्सको प्रयोग गरी अष्ट्रेलियन लाइसेन्स लिएको पत्ता लागेपछि यहाँको सरकारले उनको नागरिकता समेत खारेज गर्ने निर्णय गरेको छ।
‘सवारी साधनमा नक्कली प्रयोग हुनु भनेको कयौं नागरिकको सुरक्षामाथिको प्रश्न हो, यो ठूलो अपराध हो, यसले गम्भीर घटना निम्त्याउन सक्छ, त्यसैले हदैसम्मको कारबाही हुनुपर्छ’ अष्ट्रेलियन प्रहरी प्रवक्ताले भनेका छन्।
सन २०१० मा अष्ट्रेलिया आएका ती अफगानी शरणार्थीले क्वीन्सल्यान्डवाट हेभी ड्राइभिङ लाइसेन्स निकालेका थिए। अनुसन्धानको क्रममा उनको पुरानो लाइसेन्स नक्कली भेटिएपछि कारबाही प्रकृया अगाडि बढाइएको हो। हैदर नाम गरेका ती अफगानी नागरिकले आफूले पाकिस्तानी साथीको माध्यमबाट सो लाइसेन्स बनाएको बताएका छन्।
यतिखेर अष्ट्रेलियामा नेपालको नक्कली लाइसेन्स प्रयोग छयाप्छयाप्ती रहेको अनुमान छ। बिशेषत नेपाली विद्यार्थीलाई काम र पढाइको सिलसिलामा गाडीको आवश्यकता टड्कारो पर्ने हुँंदा नक्कली लाइसेन्स प्रयोग भएको हुन सक्छ। ‘यो लापरबाही हो, उच्च अध्ययन गर्न आउने विद्यार्थीले यस्तो काम गर्नु हुँदैन’ एनआरएन प्रबक्ता डिला खरेलले भने।
'गाडी चलाउन्जेल त ठिकै होला तर जुन दिन सानोतिनो दुर्घटना होला त्यसपछिको छानबिनका क्रममा उनीहरु नराम्रोसँंग फस्न सक्छन, यसैले पनि नक्कली लाइसेन्स प्रयोग गर्नु हुँदैन’ खरेल भन्छन्। विद्यार्थीको आफ्नै जीवनसँंग पनि दुर्घटना जोडिने भएकाले नक्कली लाइसेन्सको प्रयोग नगर्न उनले सुझाव दिए।
‘बिदेश आएर गाडी चलाउने रहर मात्र हैन बाध्यता पनि हो’ एनआरएनका पुर्व प्रबक्ता डा ज्ञानेन्द्र रेग्मीले भने ‘तर यहाँको नियम कानुन र परीक्षा पास गर्नु भयो भने यसले धेरै कुरा सिकाउँछ।’ केही महिना अघि एक नेपाली विद्यार्थीको दुर्घटनामा पर्दा उनको लाइसेन्सका बिषयमा प्रहरीले महावाणिज्यदूतको कार्यलयमार्फत जाँचबुझ गरेको थियो।
‘लाइसेन्स लिएर जानुपर्छ भन्ने भ्रममा पर्नु जरुरी छैन, गाडी कुदाउन राम्ररी सिकेर मात्र आउनुस् बरु यतै ड्राइभिङ टेस्ट दिनुस, पास हुनुहुन्छ, मनोबल पनि बढ्ने गर्छ’ रेग्मीले भने।
नक्कली लाइसेन्स प्रयोगका सम्वन्धमा आफूहरुले बारम्बार जानकारी दिने गरेको साउथवेल्सका महाबाणिज्यदूत दिपक खड्काले बताए। ‘यहाँं कयौं छानबिनका घटनाहरु आइसकेका छन, नक्कली लाइसेन्स एउटा अपराध नै हो, त्यसैले नेपालबाट आएकाहरु यस विषयमा गम्भीर हुनुपर्छ’ उनले भने।
यहाँंको प्रचलित नियम अनुसार कुनै पनि देशको लाइसेन्सवाहकले ट्रायलमार्फत सिधै अष्ट्रेलियन फुल लाइसेन्सको लागि निवेदन दिन सक्ने छ।