अस्ट्रेलियन सरकारले नेपाली भाषीहरुको बढ्दो प्रभावलाई मध्यनजर राख्दै महत्वपूर्ण कामकाजी सूचनाहरु नेपाली भाषामा चलनचल्तीमा ल्याएको छ।
भर्खरै अस्ट्रेलियन सरकार अन्तर्गत 'फेयर वर्क्स'ले फैलँदो नेपाली समाज र बढ्दो प्रभावलाई हेरेर कामको सुरक्षा, न्युनतम पारिश्रमिक, सेवा, सुविधा लगायतका महत्वपूर्ण सूचनाहरुलाई आफ्नो आधिकारिक वेभसाइटमा नेपाली भाषामा राखेको छ।
अस्ट्रेलियामा नयाँ आउने विद्यार्थी र नेपाली मुलका अस्ट्रेलियनलाई समेत महत्वपुर्ण हुने यस्ता सूचना नेपालीमा प्रवाह गर्नु आफैमा महत्वपुर्ण बिषय हो। यतिखेर अस्ट्रेलियामा करिब पचास हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्यांकले देखाउँछ। एकीन तथ्यांक केलाउन नसके पनि करिब एक लाख तीस हजारको हाराहारीमा नेपालीहरु अस्ट्रेलियामा रहेको अनुमान गरिन्छ।
आप्रवासी कामदार वा भिसा भएकाहरू सबैलाई अस्ट्रेलियामा एउटै कार्यस्थलमा एकै खाले अधिकार रहन्छ। यदी अधिकार प्राप्ती नभएमा सम्वन्धित निकायमा उजुरीका लागि जान सकिनेछ ।
यसै बिषयमा रहेर 'फेयर वर्क्स'ले आवश्यक महत्वपुर्ण कानुनी प्रावधानहरु नेपाली भाषामा समेत प्रकाशित गरेको हो। जसमा तलब, न्यायसंगत कार्य जानकारी विवरण, बिदा तथा कामबाट छुट्टी, रोजगारी अन्त्य, जस्ता सहयोग चाहिएमा उपयुक्त शिर्षकमा आवश्यक सबै जानकारी समेटिएका छन्।
अस्ट्रेलियामा कामदारलाई सम्वन्धित निकायले भुक्तानी गर्नुपर्ने न्यूनतम तलब तोकिएका छन्। निर्देशिकाअनुसार कुनै कामदार, जो २१ वर्ष वा सो भन्दा बढीको छ, उसले कम्तीमा १८.९३ डलर प्रतिघण्टा र तलबी बिदा नपाउनेले २३.६६ डलर प्रतिघण्टा पाउनु पर्दछ। यदि त्यसो नभएमा वा कम रेटमा काम लगाइएको पाइएमा रोजगारदाताले कानुनी कारबाही भोग्नु पर्ने हुन्छ।
यो सँंगै सरल र सहजै बुझुन् भनेर नेपाली भाषामा एक भिडियो समेत बनाइएको छ जुन यहा बस्ने र नयाँ आउने नेपालीहरुका लागि निकै महत्वपुर्ण र आवश्यक देखिन्छ।