चितवन समाज अस्ट्रेलियाको आयोजनामा यही जुन २३ तारिख आइतबारका दिन सिड्नीमा ‘एक्सपर्ट च्यारिटी साँझ’ आयोजना हुने भएको छ।
चितवनको आदर्श गृह नेपालको सहयोगका लागि आयोजना गर्न लागिएको यस परोपकारी कार्यक्रममा नेपालबाट गायकद्वय युवराज चौलागाईं र सागर आले तथा सामाजिक क्षेत्रमा फरक पहिचान बनाइसकेकी समाजसेवी मीना खरेल अस्ट्रेलिया आइपुगिसकेका समाजका अध्यक्ष छबी सापकोटाले बताए।
सिड्नीको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा आयोजना हुने कार्यक्रमको तयारी पूरा भैसकेको र यस कार्यक्रमबाट बचेको रकम चितवनमा रहेको आदर्श गृहलाई सहयोग गरिने अध्यक्ष सापकोटाले सुनाए।
‘यो विशुद्ध च्यारिटी कार्यक्रम हो, चितवनमा रहेर अनाथ बालबालिका र हिंसा पीडित महिलाहरूको अधिकारको लडाइँमा लागेको यस संस्थालाई सहयोग गर्न पाउनु हाम्रो पनि सौभाग्य हो ,हामी उठेको रकममा केहि थपेर यस परोपकारी कार्यमा सहभागिता जनाउने छौं’, अध्यक्ष सापकोटाले भने।
सामाजिक अभियन्ता मिना खरेलले सन्चालनमा ल्याएको यस आदर्श गृहले २०६६ सालदेखि अनाथ बालबालिका तथा हिंसा पीडित महिलाहरूको पुनर्स्थापनामा काम गर्दै आएको छ।
हाल करिब ३० जना महिला तथा बालबालिका यस आदर्श गृहमा रहेका छन्।
२०४९ सालदेखि सामाजिक कार्यमा सक्रिय यस संस्थाले चितवनमा रहेर यस भेगको समाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दैआएको छ।
चितवन समाजको यस कार्यक्रममा चितवनकै दुई प्रतिभाशाली गायकहरू युवराज चौलागाईं र सागर आलेले पनि आआफ्नो स्वर पस्कने छन्।
‘प्रवासमा बसे पनि जन्मेको ठाउँ र हुर्केको गाउँलाई माया नगर्ने को हुन्छ र? स्थानीयस्तरमा खुलेका यस्ता प्रवासी संस्थाहरूले पनि आआफ्नो गाउँ र ठाउँमा सहयोग र विकासमा इँट्टा भने थपेकै छन्’, संस्थाका पूर्वअध्यक्ष बुद्धि डल्लाकोटीले भने।
कार्यक्रमको प्रमुख प्रयोजक एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेज रहेको छ।
मुलुकको विकास अनि त्यसमाथि यस्तो परोपकारी कार्यमा एक्सपर्ट जोडिन पाउनु गौरवको विषय भएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले बताए ।