नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको समृद्धिको लागि चार चिज महत्वपूर्ण रहेको बताएका छन्।
नेपाल अस्ट्रेलियन डेमोक्र्याटिक फोरमको रजत महोत्सवको अवसरमा सिड्नीमा आयोजित कार्यक्रममा महामन्त्री शर्माले मुलुकको जनशक्ति, नेपाल बाहिरको नेपाली जनशक्ति, भारत र चीनसँगको सम्बन्ध र बाँकी विश्व अहिलेको प्रमुख मुद्दा रहेको बताएका हुन्।
महामन्त्री शर्माले मुलुकको विकास निर्माणको सन्दर्भमा मुलुक बाहिर रहेका चालिस लाख नेपालीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै उनीहरूको सीप र दक्षता भित्र्याउने आजको आवश्यकता रहेको औंल्याए।
विदेशमा स्थापित भएका नेपालीलाई अहिले नै नेपाल फर्क भन्ने विषयमा आफू नरहेको बताउँदै उनले भने, ‘उनीहरूमा रहेको सीप र ज्ञानलाई मात्र भित्र्याउन सक्यो भने त्यो महत्वपूर्ण आधार बन्न सक्ने छ।’
नेपालमा आर्थिक संकट छ, जताततै अस्तव्यस्त छ भन्ने कुरामा आफू विश्वस्त नरहेको बताउँदै महामन्त्री शर्माले भने, ‘नेपाल निर्माणको सुन्दर घडीमा हामीसँग चुनौती छन् तर सबै सकियो खतम भयो भन्ने हल्ला निराधार र कपोकल्पित हुन्।’
महामन्त्री शर्माले गैरआवासीय नेपाली नागरिकता पनि वंशज र अंगीकृतजस्तै नागरिकता भएकोले विदेशमा बस्ने नेपालीलाई भिसा लिनुपर्ने, जग्गा जमिन भोगचलन गर्दा बाधा अड्चन आउनु हाँस्यास्पद विषय भएको बताए।
‘सरकारले तुरून्तै यसमा पहल गरेर निर्वाध नागरिक अधिकारको प्रयोगको वातावरण बनाउनु पर्छ,’ उनले भने।
यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेता भीष्म आङ्दम्बेले प्रवासी नेपाली मुलुकको उन्नतिको एउटा बलियो आधार रहेको बताए। आङ्दम्बेले भने, ‘अस्ट्रेलियामा डेमोक्र्याटिक विचार बोक्ने साथीहरूले खालेको संस्थाको रजत महोत्सव मनाउन आउन पाउनु सबैको लागि खुसीको कुरा हो।’