नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चुतर बहादुर चन्दले भौतिक पूर्वाधार र आधारभूत आवश्यकता आजको नेपाली क्रिकेटमा खाँचोको विषय बनेको बताएका छन्।
एनआरएन अस्ट्रेलियाद्वारा सिड्नीमा आयोजित समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपालका व्यापारी र स्थानीय सरकारले क्रिकेट विकासमा खासै चासो नराख्दा नेपाली क्रिकेटले सोचे अनुरूपको सफलता हात पार्न नसकेको बताए।
‘विगतमा नेपाली क्रिकेटमा देखिएको सरकारी हस्तक्षेपले प्रतिबन्धमा पर्दा नेपाली क्रिकेट पाँच वर्ष पछाडि पर्यो, अहिले बल्ल नेपाली क्रिकेटले लय समातेको छ तर अझै खेलाडीले खेल्ने स्थान र आधारभूत आवश्यकता पाउन सकेका छैनन्। त्यसैले पनि अबको दिनमा सबैको जोड खेल्ने वातावरणका लागि हुनुपर्दछ,’ चन्दले भने।
नेपाल क्रिकेट संघमा पहिलो कार्यकाल निकै विवादमा बिते पनि क्रिकेटको विकासमा भने आफू कहिले पछि नपरेको बताउँदै अध्यक्ष चन्दले भने खेलाडी संघको पहिलो प्राथमिकता रहेको बताए।
मुलुकका राजनीतिज्ञहरूले खेलकुदलाई प्राथमिकता भित्र नराख्दा नेपाली खेल क्षेत्रले सोचेअनुरूप फड्को मार्न नसकेको बताउँदै अध्यक्ष चन्दले निजी क्षेत्रबाट समेत खासै सहयोग हुन नसकेको गुनासो पोखे।
अस्ट्रेलियाको निजी भ्रमणमा समेत यहाँका क्रिकेट पदाधिकारीलाई भेट्न सफल चन्दले भौतिक पूर्वाधार र एक्सपोजर अहिले नेपाली क्रिकेटको पहिलो आवश्यकता भएकोले एनआरएनका साथीहरूलाई आवश्यक सहयोग गर्न आह्वान समेत गरे।
कार्यक्रममा एनआरएनका केन्द्रीय सल्लाहकार दिनेश जोहीले नेपाली क्रिकेटको पछिल्लो उपलब्धी निकै लोभलाग्दो रहेकोले संघ धन्यवादको पात्र रहेको बताए।
यस्तै, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले यतिखेर नेपालको आशलाग्दो खेलका रूपमा रहेको नेपाली क्रिकेट विकासमा सबै मिलेर सहयोग गर्ने बेला आएको बताए।