नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) को आयोजनामा यही आउँदो अप्रिल २१ तारिखदेखि 'नवाज कप' फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
अस्ट्रेलियाको सिड्नीको वरपर रहेका करिब १६ वटा नेपाली टोलीको सहभागिता रहने यस प्रतियोगिता लिग कम नक आउटका आधारमा हुनेछ।
२५ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजना हुन लागेको यस प्रतियोगिता सामाजिक सद्भाव, आपसी भाइचारा र आपसी मेलमिलापको सन्देश बोकेर आयोजना गर्न लागिएको समाजका अध्यक्ष चिरन तिवारीले जानकारी दिए।
हरेक आइतबार हुने प्रतियोगिता करिब एक महिना चल्ने तथा विजेता तथा उपविजेतालाई नगद पुरस्कार तथा ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिने अध्यक्ष तिवारीले बताए।
कार्यक्रममा सहयोगी संस्था एक्सपर्ट एजुकेसनका अन्तर्राष्ट्रिय कार्यकारी निर्देशक बद्री अर्यालले नवाजले केही समयको विश्रामपछि भए पनि पुन: आफ्नो खेलकर्मलाई थालनी गरेकोमा खुसी व्यक्त गरे।
अर्यालले भने, ‘युवा जगतलाई अनुशासन र आपसी भाइचाराको माध्यमबाट मानसिक तनावबाट मुक्ति दिलाउन खेलुकद महत्वपूर्ण माध्यम भएकोले यस्ता प्रतियोगिताहरू आजको आवश्यकता रहेको छ।’
नेपाली राष्ट्रिय टोलीका करिब चालीस जना खेलाडी रहेको अस्ट्रेलियाको विभिन्न क्लबहरूको यो लिग निकै रोमाञ्चक हुने विश्वास लिइएको छ।
‘यस्ता प्रतियोगिताले खेलाडी निखारिन पाउने छन्, हामीले यस्ता प्रतियोगितामार्फत् वास्तविक फुटबलको मज्जा लिन सक्छौं,’ एनआरएन न्यु साउथवेल्सका सचिव कल्याण खड्काले बताए।
टिमको ड्र समेत गरिएको कार्यक्रममा अस्ट्रेलियन नेप्लिज फुटबल संघका अध्यक्ष बिजेन बटाजुले केही समयपछि भए पनि नवाजले फुटबललाई पुन सम्झेकोमा धन्यवाद दिँदै यसको निरन्तरताको लागि आफ्नो सहयोग रहेको वचनबद्धता प्रकट गरे।
यस पटक प्रतियोगितामा सहभागी क्लबहरूलाई चार समूहमा विभाजित गरी ड्र समेत सार्वजनिक गरिएको थियो। जसमा समूह 'ए' मा फेवा फुटबल क्लब, क्लब नेपाल, रारा फुबल क्लब र दी राइजिङ गुर्खाज क्लब छन्।
यस्तै, समूह 'बी' मा सेन्ट जोर्ज क्लब,अर्वन नेप्लिज एफसी, हिमालयन युथ क्लब र एफसी डाफे छन्।
समूह 'सी' मा सगरमाथा फुटबल क्लब, लालीगुराँस एफसी,वेष्ट युनाइटेड र पारा पार्क एफसी छन्। यस्तै समूह 'डी' मा सिड्नी नेप्लिज फुटबल क्लब, माछापुच्छ्रे फुटबल क्लब, काल भैरव एफसी र तामाङ रिक्रेयसनल (टिआरसिसी) फुटबल क्लब छन्।