नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक तथा डेमोक्र्याटिक इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष उमेश प्रसाद थानीले नेपालको राजनीतिमा हलचल पैदा गर्ने तेल राजनीतिको समाधानमा आफ्नो दुई वर्षे कार्यकाल सफल भएको दाबी गरेका छन्।
जनसम्पर्क समिति अस्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै डेमोक्र्याटिक इन्जिनियर एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका थानीले स्वचालित मूल्य र चुहावट रोक्न सके आयल निगम कहिल्यै घाटामा नजाने दाबी समेत गरे।
‘आन्तरिक चुहावट र स्वचालित मूल्यलाई कायम रख्न सक्ने हो भने संस्था घाटामा जाने कुरै हुँदैन, ४९ अर्ब व्यापार घाटामा रहेको आयल निगमलाई ऋणमुक्त बनाएर नाफामा लाने सौभाग्य प्राप्त गर्नु मेरो २२ महिने कार्यकालको प्रमुख सफलता हो,’ कार्यक्रममा बोल्दै उनले भने।
‘तेलको मूल्य विश्व बजारमा कायम हुने दरसँग तालमेल गर्न सक्नुपर्छ, उता बढ्यो भने यता पनि बढ्छ र उता सस्तो हुँदा यता पनि घटाउनु पर्छ। सरकारसँग ऋण लिएर घाटामा निगम चलाउन हुँदैन भन्ने मेरो मान्यता थियो, सबैले साथ दिनुभयो र म सफल भएँ,’ थानीले अनुभव सुनाए।
उनले नेपालमा ऊर्जाको अपार सम्भावना रहेको सन्दर्भमा अब वैकल्पिक ऊर्जाको खोजीमा राज्य लाग्नुपर्ने बेला आएको समेत बताए।
कार्यक्रममा बोल्दै एनआरएन अभियन्ता दिनेशराज जोशीले मुलुकमा युवा नेतृत्वको आवश्यकता भएको भन्दै थानीको नेतृत्वमा आयल निगमले गरेको प्रगति र उन्नति लोभलाग्दो उदाहरणका रूपमा रहेको बताए।
कार्यक्रममा उनलाई सम्मान समेत गरिएको थियो।