आधुनिक र सुविधासम्पन्न सहरको बसाइ, काम, बजार, ड्राइभिङ र सहरिया माहोलको कचपच। यति हुँदाहुँदै पनि क्यानाडामा बस्ने नेपालीले भित्रभित्रै फुलाएका छन् नेपाली पारामा आफ्नै घरको स्वाद र बासना आउने तरकारीका फूलहरु!
बेलुका बारी पसेर हातमा फर्सीको मुन्टा, कलिलो गट्टो, केही फर्सीका फूल, दुई बोट हरियो लसुन, अलिकति नेपाली ‘असली बाजेको धनियाँ’का पात र केही हरियो खोर्सानी लिएर भान्छा छिर्दा हामी दम्पत्तिलाई आनन्द आउँछ।
‘हामी केटाकेटी हुँदा पाँचथर पहाडमा आमालाई यस्तो दृश्यमा देख्न पाइन्थ्यो। म आफैं पनि चुल्हामा कराइ बसाउने बेला भएपछि बारीमा के छ आजको गर्जो भनेर ताजाताजा टिप्न बारीमा पस्थें नेपालमा हुँदा। अहिले यत्रो टाढा आएर नि त्यो आमा पाराले भान्से हुन् पाउँदा मज्जा लाग्ने रैछ’ श्रीमतीजीको भनाइ छ।
‘मामु, म प्याजको बोट उखेलेर ल्याऊँ ?’ छोरी करेसाबाट चिच्याउँछे।
‘बा मेरो फर्सी त यति ठुलो भइसकेछ, यो पकाएर हेलोइनमा कार्भिंग गर्ने है म’ छोरीको अर्को इच्छा जाहेर हुन्छ।
छोरीले आफैं फर्सी रोपी। उसैले रोपेको फर्सीचैं धेर फल्यो। खुब हेरचाह गरी। अरुलाई टिप्न नदिने, अरुलाई बाँड्न नदिने बालसुलभ लहड देखाई उसको प्रिय फर्सीका खातिर।
‘अब आलु खन्नु पर्छ होला हौ बाबा बोट जम्मै मरिसके त’ आमाचैंको सल्लाह आउछ।
‘फिलि स्तबिली आयो, बुतु हाम्म दल्छे’ दुई बर्षकी कान्छी छोरी स्ट्रबेरीका बोटबोट चहारेर अलिअलि रातो हुन पाएको छैन पातपात केलाएर चुँडेर ‘हाम्म दलिहाल्छे।’ तोतेबोलीमा ‘फेरि स्ट्रबेरी पाक्यो, बुटू (उसैले राखेको उसको नाम) हाम्म गर्छे’ भन्न खोज्छे।
घरमा यस्तै किसानी कुरा हुन्छन् अचेल।
आफ्नो जन्मेहुर्केको ठाउँ छोडेर हिंडेपछि हाम्रो ‘टिपिकल’ नेपाली घरगृहस्थमा चल्ने बारबिरुवा, झारपात र खानपानको शैलीका सानासाना कुराले पनि मनलाई शितलता दिने रहेछ। आफ्नो बालापन झल्काउने, आफ्नो बारीको टिपेर पकाउने, परिवार, छरछिमेकमा बालीनाली सप्रेको नसप्रेको कुरा चल्नेजस्ता मसिना कुरामा ‘बिगतोस्पर्शी’ प्रियता भेटिने रहेछ।
मेरो घरको पछाडि नेपाली नापजोखको हिसाबले दुई आना जति जमीन होला। अहिले मेरो यो जमीन आलु, घीउ सिमी, लसुन-प्याज, नेपाली फर्सी, क्यानेडीयन फर्सी, मकै, गोलभेंडा, केराउ, नेपाली रायो, नेपाली धनियाँ, नेपाली तोरीको साग, स्ट्रबेरी आदिले भरिएको छ। मे महिनाको मध्यदेखि यता सागसब्जी किन्न बजार धाउने काम पुरै बन्द छ।
तोरीको साग चौथो छिमल पनि अब केही दिनमा खान तयार हुन्छ। नेपाली रायो मेदेखि नै खाइयो। झापाकै घरमा हुँदाजस्तो सानो गुच्चे गोलभेंडामा बारीको हरियो लसुनको र असली राग भएको ‘नोस्ट्याल्जिक’ नेपाली धनियाँको पात हालेर काठको ओखलीमा पिसेर नेपालको भातभान्सा फर्काउने चेस्टा खुब गरियो।
म जस्ता अरु धेरै पौरखी नेपाली हातहरु छन् म बसेको सहरमा जो आफ्नो परिवारलाई आफैंले उब्जाएको रासायनिक मल र बिसादीरहित स्वादिलो सागसब्जी खुवाउछन्। मौका अबसरमा सागसब्जीको पोको पन्त्यौरो इस्टमित्रका घर पनि पठाउन भ्याउछन् यहाँका नेपाली करेसा किसानले। अथवा, घरमै पाहुना बोलाएर बारीको ताजा टिपीटिपी पकाएर खुवाउन बेर लाउदैन कुनै उदारदिल नेपालीले।
बजारमा किन्ने सब्जीमा रुप स्वरूप मात्रै दुरुस्त छ स्वाद र बास्ना कता गाएब छ कता। ब्यबसायिकरुपले हुने आम उत्पादनका कुरामा वैज्ञानिकहरुले धेर फल्नु पर्ने कुरामा मात्रै जोड दिएर बिऊको बिकास गरे। त्यसको प्राकृतिक बास्ना र गुणत्वलाई ख्याल गरेनन् जस्तो लाग्छ। धनियाँको पात दुरुस्त उही छ बास्ना गाएब छ। काउलीको डल्लो रुपमा उही छ खानमा स्वाद छैन। टमाटर पाक्दा रातै छ काट्दा न बसाउछ न खाँदा त्यो पुरानो चखिलोपन र सुगन्ध बाँकी छ। यहाँको मकैमा केराले जस्तो फेदबाट कोथो हालेर नि फाल्ने रहेछ। जसरी नि बढ्दो जनसङ्ख्यालाई धेर फलाउनु पर्यो, स्वादमा अल्झिन थाल्यो भने सायद भोकमरीको डर हुने होला।
बजारे उत्पादनको यस्तो कृतिमताका बिचमा आफ्नै घरमा उब्जाएर कराइमा ओइरिन पाउँदा जिब्रोले थोरै समयका लागि भएपनि नेपाली घरगृहस्थको असली स्वाद पाउने भयो। बारीमा जे फलाएर खाइएको छ त्यो किन्न सुपर मार्केटहुँदो ‘अर्ग्यानिक उत्पादन’को कुनातिर छिर्यो भने झन्डै दोब्बर मूल्य पर्छ सबैथोकको।
क्यानडाको संस्कृतिअनुसार घर अगाडि र पछाडिको जमीन सिटीको मापदण्डअनुरुप पानीढलो हुने गरेर माटो मिलाएर हरियो दुबो रोपेर त्यसलाई बेलाबखत काटेर चिटिक्क पारेर राख्नुपर्छ। घाँस उमारेर नकाटेर बेवारिसे छोडियो र झारले आफ्नै बारी छोप्दै लग्यो भने सिटिको नजर परिहाल्छ। मेरो बारीमा घाँस उम्रियोस कि पाती तँलाई केको मतलब भन्न पाइनेवाला छैन। सिटीले घरमा चिठी लेख्छ तेरा घरको अघिपछि झार बुढ्याएर तैंले समुदायको सौन्दर्य कुरूप पारिस लु ड। २०० तिर। अटेरी गरिस भने दुईको चार हुँदैजाला ख्याल राख्न्नू भन्दिहाल्छ।
घर अगाडी र पछाडि दुबोको गलैंचा होस्, त्यसमाथि छेउकुनामा सिजनअनुसार फुल्ने फूल फुलाएर घरलाई सोभायमान बनाउन पाइयोस् अनि त्यसमाथि भुरा नागीका घोडा बटारिए जस्तो लडिबुडी गरून भन्ने इच्छा एउटा खास आम उतर अमेरिकी इच्छा हो।
केही सीमित रैथाने गोराहरु यहाँ ‘गार्डेनिंग’ भनिने करेसा किसानी गर्छन्। किसानी काम नै भएको भएर हामी नेपालीले सिधै अनुदित शब्द ‘फार्मिंग’ शब्द प्रयोग गर्न खोजिन्छ। गोराले ‘फार्मिंग’ ‘फार्मर’ भनेको दुईचार हजार एकड जमीनमा खेति गर्ने ठूलाठूला कृषि उपकरण भएकोलाई मात्रै भन्दिने र त्यसरी बुझ्दिने रहेछन्। त्यसैले स्थानीय अर्थ बुझाइमा यो सागपात फलाउने ‘गार्डेनिंग’ हो। खासको किसान यहाँ सहरबाहिर नेपालको एउटा गाउँ पालिकाजति जमीन भएको एकदिनमा २७०० बिघामा बीऊ छर्ने र २७०० बिघाकै बाली एकदिनमा उठाउने दैत्यकार मिसिन र उपकरण भएको धनी करोडपति ब्यबसायीको पहिचान ‘किसान’ हो क्यानाडामा।
नेपालीबाहेक यहाँ ‘यसियन’ भनेर चिनिने चाइनिज, कोरियन, जापानिज, भियतनामी, फिलिपिनोहरुका करेसाबारीमा पनि सिजनमा सागपातको हरियाली देख्न सकिन्छ। जाँगरिला भारतीय परे भने तिनका घरघेराभित्र पनि केही थोक उब्जिरहेको देखिन्छ।
मेरो छिमेकमा एउटी ‘रिटायर्ड’ गोरीले करेसा किसानी गर्छे। उसले मकै, आलु, सिमी, र अन्य रैथाने सागसब्जी लाएकी छे। आफ्ना छोराछोरीलाई जस्तो चाकर गर्छे बारबिरुवाको। जतिबेलै बारीमै देखिन्छे।
‘बाली मज्जाले सप्रेर आयो तिम्रो त, गार्डेनिंगको खुब सीप रहेछ तिमीसँग’ मैले कुरा झिकें।
‘राम्रो भयो। मलाई गार्डेनिंग गर्न खुब आनन्द आउछ। मलाई माटोसँग खेल्नुमा जति आनन्द अरु केहीले दिएन। दस बर्षदेखि सिजनमा परिवारलाई खान उब्जाउदैछु। म छोरा बुहारीसँग बस्छु। म बारीको टिपेर परिवारलाई ‘डिनर’ पकाउँछु। टेबलमा खान बस्दा छोराबुहारीले पहिले मलाई अँगालो हाल्छन् र खान थाल्छन्। त्यसले मलाई आँसु निक्लिने गरी खुसी दिन्छ’ उसले यति भन्न भ्याई र पानी लाउनु छ भनेर मलाई बिदा गरी।
उब्जाएर खान मिल्ने ठाउँमा झार सजाएर मात्रै त हुदैहुदैन भन्छ धेरैजसो नेपाली मनले। भएको बारीमा रायो रोप्न, फर्सी फुलाउन सिंबी झुलाउन छोडेर जाबो झारको चाकर गरेर बस्ने हो भन्ने पौरखी बिचारले झ्याप्पै छोपिहाल्छ एप्रिल निख्रेर मे लाग्दा नलाग्दै नेपालीलाई। अनि दौडिन्छ नेपाली कुटो कोदालो, मल माटोका बोझ बोक्न बजारतिर।
यहाँको माटो हेर्दा कालो मलिलो जस्तो छ तर मलले पुरेर कालै नबनाई केही फल्दैन। पानीमा गहुँको पिठो जस्तो लिटो परेर बस्छ माटो। बिरुवामा पानी हाल्यो बाहिरबाहिर लडेर जान्छ। पानीलाई माटोभित्रसम्म सोस्ने पार्न माटो खुकुलो पार्ने ‘पिट मस’ भनिने भुस ल्याएर माटोमा मिसाउनु पर्छ। मल रासायनिक हाल्ने कि गाई मल वा भेडा मल हाल्ने छनौट उपलब्ध छ।
नेपालमा हुँदा आफ्नो परिवारलाई आफ्नै खेतबारीमा उब्जाएर खान पुर्याउने र आफ्नै खेतको उब्जनीबाट वर्षभरि सागपात, अन्न गेडागुडी खाएर हुर्किएको पुस्ता नै यता क्यानाडा बसाइँ सरेर आएको छ। त्यही भएर आलु, सिमी, गोलभेंडा फर्सी, काँक्रो कसरी फलाउने, कसरी हेरचाह गर्ने भन्नेबारे नेपाली जानकार हुने नै भैगो।
आफ्नो करेसाबारीको अलिकति पनि ठाउँ पनि खेर जान नदिइकन नेपाली र क्यानेडेली सागपातले हराभरा पार्ने एक जाँगरिला नेपाली करेसा किसान झापा सुरुङ्गाका हेमन्त शिवाकोटी हुन्। त्रिभुवन विश्वविद्यालयका एमएड, एमफिल शिवाकोटी नेपालमा छँदा काठमान्डौमा उच्च माविका प्रिन्सिपल भएर खान्थे। सन् २०१० देखि क्यानाडा बस्छन्। सन् २०१४ मा घर किने यता बर्षको एप्रिलदेखि सेप्टेम्बरसम्मको सिजनमा उनको करेसामा हरियोपरियोको उत्पादन कहिले टुटेको छैन।
‘यो सागपात लाउने करेसाबारीमा साँझब्यान अल्मलिने कर्म मेरो लागि एउटा ‘मेन्टल थेरापी’ हो हेर्नुस्’ शिवाकोटी भन्छन्।
उमार्ने, गोडमेल गर्ने, पानी लाउने अनि फलेको ताजाताजा जिनिस टिपेर भान्सामा पस्ने गर्दा जति आनन्द छ त्यो अरु केमा छ ? उनले करेसा किसानीको आनन्द अनुभूति सुनाए।
‘जन्मे हुर्केको घर-आँगन, गाउँ-समाज त छोडेर हिंडियोहिंडियो तर आफुले परिवारको लागि खान उब्जाउने हाम्रो शैली र सिप त लिएरै आएका छौं नि। हातखुट्टा चलुन्जेल त्यो छोडिनेवाला छैन’ शिवाकोटीको भनाइमा करेसा किसानीप्रतिको उनको गाढा प्रेम र दृढता झल्किन्छ।
आफ्नो करेसामा फलफूल तरकारी फलाएर खानुको नेपालीपनले दिने आनन्द त अमूल्य छ नै यहाँको करेसा किसानीको आर्थिक पक्ष पनि त्यति नराम्रो छैन। यहाँ एप्रिल पुछारसम्ममा हिउँ निख्रिसक्छ अनि मे १५ देखि सागपात लाउने र अन्य ठुला खेतिपाति गर्ने काम सुरु हुन्छ। जुन १५ देखि बारीको सागपात खान थाल्ने नेपाली जाँगर र सिप भएका नेपाली करेसा किसानले मर्दो सेप्टेम्बरसम्म नै आफ्नै बारीको तरकारी चुल्हामा पुर्याउछन्।
फलेको तरकारी डिप फ्रिजरमा बरफ जस्तो बनाएर संरक्षण गरी हिउँदभरि आफ्नै बारीको खाने बिकल्प पनि नेपालीले गरेका छन्।
घर चलाउन घाम झुल्केदेखि अस्ताएसम्म जेजे चाहिन्छ त्यो जम्मै किनेर फगत बजारबाट ओसारेर मात्रै जीवन चल्ने देस हो क्यानाडा। यस्तो स्थितिमा तरकारी किन्नु नपर्दा नि ठुलै राहत हुने रहेछ। मैले आफैं अनुभव गरें मैले सागपात किन्ने क्रेडिट कार्डको बिल निकै तल ओर्लियो यसपाली बारीको खान थालेपछि।
सेप्टेम्बर पुछारसम्ममा चिसो निक्कै बढिसकेको हुन्छ। चिसोले सेक्न थालेपछि सागपातका बोट अल्पायुमै मर्न थाल्छन्। अझै राम्रो फसल दिने सम्भावना भएका बोट, लहरालाई चिसो लाग्न थालेपछि मन कटक्क खान्छ तर गर्न के सक्नु छ र। आफुले उमारेका चाकर गरेका फल्दाफल्दैका बोट बिरुवा पहेंलिएको मरेको चुपचाप स्वीकार गर्नुपर्दा निक्कै गाह्रो हुने रहेछ। यो क्यानाडा हो चिसो कसैगरी आउछ आउछ। सेप्टेम्बरपछि हिउँलाई सुम्पिनु पर्छ बारी। हाम्रो तरकारी खाने बारीमा पाँच छ महिना प्रकृतिले घुँडाघुँडा ढकमक्क हिउँ फुलाएर बस्छ।
‘चार महिनाको दाउ छोप्नु पर्छ, नत्र हिउँ नपर्दिने हो भने म बर्षैभरि आफैं फलाएर खाने थिएँ’ हेमन्तलाई हिउँको पिरोलो छ।
आफ्नो घरको करेसाबारी बाँझै राख्नेलाई त्यसो नगरे हुने भन्छन् हेमन्त।
साँझब्यानको फुर्सदमा कुटो कोदालो लिएर बारीमा पस्दा, माटो, झारपातसँग खेल्दा एक किसिमको अपार आनन्द आउछ रे हेमन्तलाई। हामी नेपालीले पाएसम्म आफैं उब्जाएर खानुपर्छ, त्यो हाम्रो पन हो भन्छन् शिवाकोटी।
काम, ड्राइभिंग, बजार, किनमेलका दौडधुपलाई छलेर जीवनलाई एकैछिन भएपनि प्रकृतिसँग जोड्न पाइयो। परिवारलाई ताजा मिठो तरकारी भयो, किनेर खाने पैसा जोगियो। फाइदैफाइदा छन् करेसा किसानीका यहाँ। त्यसमाथि हामी नेपाली त किसानी पृष्ठभूमिका सबै। आफैं फलाएर खाने काइदा र महत्व जानेबुझेका मान्छे हामी। हेमन्त धेरै सकारात्मक छन् करेसा किसानीमा।
सिजनका अर्का इलमी करेसा किसान हुन् तेह्रथुम म्याङ्लुंगका सुवास सुबेदी। उनको बारीमा हाम्रो पूर्वतिर ‘बरेला’ भनिने र काठमाडौं आएपछि ‘टुक्रुके’ ‘भन्न सिकेको मलाई ज्याद्रै मीठो लाग्ने तरकारीको झ्याल बिशेसरुपले फस्टाएको देखिन्छ। नेपालबाटै बिऊ ल्याएर रोपेर पोहोर सालदेखि फलाए यो तरकारी उनले। अहिले उनले बाँडेको बिऊले अरु नेपालीका करेसामा पनि बरेलाको झ्याल लहरिएको देखिएको छ। अहिले तेह्रथुमको अकबरे खोर्सानी भित्र्याएका छन् सुबेदीले क्यानडामा। अकबरेले राम्रै फाल्ने छाँट देखाउदै छ रे।
‘म परिवारलाई तरकारी पुर्याउन र मनको आनन्दका लागि यो गर्छु। पैसाकै कुरा गर्ने हो भने नि घरमा फलेको ताजा खाएर बजारको किन्ने पैसा मनग्ये बच्छ’ सुबेदी आफ्नो उब्जनीबारे शन्तुष्टी दर्साउछन्।
तेह्रथुमकै अर्का मेहनति छन् टेक खत्री.उनले पनि सिजनमा बिगत चार बर्षदेखि खुब ध्याउन्ति खेति गरेका छन् तरकारीका लागि. बारीको सिमी टिपेर केलाएर टुक्रा गरेर हिउँदमा खान फ्रिजरमा सिमीको पोका राख्दै थिए म पुग्दा।
‘राम्रै फल्यो सिमी यसपालि पनि’ उनले सुनाए।
यहाँ क्यानाडेली शैलीमा सागपात रोप्ने हो भने पालुंगो, सेलरीको डाँक्ला, अनेक प्रकारका लेटुस, केल साग, गान्टे मुला, गाँजर, पोथ्रे सिमी, ब्रोकाउली प्रधान हुन्छन्। तर नेपालीका करेसामा हाम्रा आफ्नै जिब्रो बसेका सागसब्जी लहरिएका छन्। फर्सी, घीउ सिमी, केराउ, सलुन, प्याज, आलु, काँक्रो, रायो, तोरी, चम्सुर, नेपालमा ‘स्क्वास’ भनिने लाम्चे जुकिनी फर्सी नेपालीका मुख्य छनौट हुन्।
इलाम नाम्सालिंगका हरि रिजाल तरकारीका अर्का जाँगरिला किसान हुन्। उनको सहरको दक्षिण पुर्बी कुनास्थित घरको बारीमा आलु, फर्सी, सिमी, नेपाली रायो, टमाटर कति छ कति।
‘किनेर खान त छोडिहालियो नि...’ ठट्यौली गर्छन् हरि रिजाल।
‘म कुनै योजनाको रुपमा लिन्न यसलाई। यसमा सजिलो गाह्रो भन्ने केही हुन्न। समयको सदुपयोग भयो, केटाकेटी नि बारीमा रमाउछन्, आफूले खाने कुरा बोटमा फलेको देख्छन्। यसै रमाइलो पनि हुने। लगानीको कुनै वास्ता गर्दिन। प्रतिफल राम्रो हुन्छ। ‘अर्ग्यानिक’ सब्जी खान पाइन्छ, टिपेर ल्यायो खायो फाइदैफाइदा’ हरि रिजालको ब्याख्या सरल छ।
‘म नेपालमा किसानकै छोरो हुँ, कुनै धनाढ्य सम्पन्न परिवारको मान्छे होइन। जानेकै थ्यो सब्जी रोप्न। चार बर्षदेखि रोप्दै छु खाँदै छु। म भन्दा नि मेरी श्रीमती देविकाको श्रम धेर छ यो बारीमा। म अलिक अल्छी छु’ हरि रिजालले किसानी कुरा थपेर सुनाए।
हेमन्तले सुरुसुरुमा आफ्नो बारीको उब्जनीका पोको बोकेर नेपाली इस्टमित्रका घरघरमा छोड्दै पनि हिंडे। तर पछिल्ला बर्ष उनले त्यसो गर्न छोडेका छन्।
‘यस्तो दुखिया काम गर्ने क्यानाडा आएर पनि भन्ने ठान्दा रहेछन् नेपाली, त्यसमाथि फलाएर चखाउन घरघर पुर्यायो ‘कम्प्लिमेन्ट’ दिन पनि कन्जुस्याइँ गर्दिने मान्छेले’ कारणसहित प्रश्तुत भए उनी।
कतिको गाह्रो छ त ?
खासै गाह्रो केही पनि लाग्दैन शिवाकोटीलाई करेसा किसानी गर्न। तर यहाँको माटोको गुण बुझेर काइदा जानिएन भने केही नि नफल्न बेर नलाग्ने अनुभव छ उनीसँग।
मल बजारमा बोरामा प्याक गरेर राखिएको हुन्छ। हाते औजार पनि अनगिन्ति छन् करेसा किसानी गर्नलाई। पानी पुर्याउन भने सजिलो छैन। घाम लाग्ने सिजनमा यहाँ एकैदिनमा काँचो छाला सुक्नेगरि घाम चर्किन्छ। यस्तो स्थितिमा बिरुवालाई पानी दिनैपिच्छे हाल्नुपर्छ जसले गर्दा नगरपालिकाको मिटरको दुलो पार गरेर आउने पानीको बिल किसानी कालमा अलिक मोटाउँछ।
जति खर्च भएपनि लगानिअनुसारको प्रतिफल पाइने देखियो। मैले चानचुन दुई सय डलर खर्च गरें होला माटो, मल, औजार, बीउ र बेर्ना किन्न। त्यसबापत आफूले चार महिनादेखि तरकारी किन्नु नपरेको, साँझब्यानको इन्टरनेटले खाने समय सागपात उब्जाउनमा लाएर पाएको प्राकृतिक जीवनको आनन्द, साथीभाइलाई नि आफ्नो उब्जनी चखाउन पाएको सन्तुष्टी हेर्ने हो भने दुई सय डलरमा कहाँ पाउनु किन्न यस्तो।
किन देखाउने त फेसबुकमा फर्सीका मुन्टा ?
छवै महादेशमा बस्ने नेपालीले फेसबुकमा आफ्ना बारीको भन्दै केही न केही हालिरहेकै हुन्छन्। अरु केही नहाले पनि नेपालीले फर्सीका मुन्टा खाएको हाल्ने कुरा ‘क्लिसे’ नै भइसक्यो फेसबुकमा। म पनि आफ्ना बारीका गतिबिधि फेसबुकमा देखाउनेमा पर्छु। मेरा निजी काम धन्दा फेसबुकमा किन देखाउनु पर्छ भन्नेबारे म घोत्लिएको छैन तर देखाइरा’छु अहिलेसम्म।
नेपालमा चर्का घाममा मकै गोड्दा, साग रोप्ने बाँझो बारी खनिदे भनेर आमाले भन्दा कहाँ ‘इन्टरटेन’ हुन्थ्यो ?, कहाँ जान्थ्यो त अहिले खुब आउँछ भनेको आनन्द त्यो बेला ? त्यही गर्न नसकेर वा गरेर बस्दा जिन्दगि सकिने पीरले पसेका हौँ हामी सहर। गाउँघरको खेति किसानी, धुलोमैलो जिन्दगि पन्साएर सुकिलामुकिला भएर सहरमा जिउन गाउँ छोडेका हामीले। त्यतिले नपुगेर देसै छोडेर अर्कै देसमा बस्न लागि परेका हामी।
अनि यसो गरें, उसो गरें भनेर यो फलाएँ त्यो उमारें, माटोलाई प्रेम गरें, माटोको बास्नाने आनन्द आउछ भन्दै फेसबुकमा बिस्कुन लाउँदा स्वाँङ्-ढर्रा पो बढी भयो कि ? बेलाबेला यस्ता बागी बिचार पनि उब्जिन्छन् यो मनमा।
‘आफूले गरेको उपलब्धि साथीभाइलाई देखाउँदा मन शान्ति मिल्छ। यसबाट अरुले नि केही सिक्छन्। फेसबुकमा आफ्नो किसानी पौरख देखाउनुमा नराम्रो के छ र ?’ सिवाकोटी भन्छन्।
‘फोटो फेसबुकमा देखायो भने नेपालमा परिवार साथीभाले गरेर खाँदै र’छ, सन्चै र’छ भन्छन्, जे गरियो त्यो देखाइयो भने त्यो ढर्रा होइन’ हरि रिजाल यसलाई ढर्रा मान्न तयार छैनन्।
‘नेपालमा गरिने परम्परागत खेतीकिसानीले बदलिँदो समय र जीवनशैलीका आकांक्षा र सपना पुरा गर्ने प्रतिफल दिंदैन। खेति गरेर उब्जाएर परिवारलाई बर्षभरि खुवाउदा मान्छेको खाने आबस्यकता त पुरा होला तर अन्य तमाम आवश्यकता पुरा गर्ने श्रोत साधनको खोजीमा बाहिरफेर खुट्टा नफड्कारी दुनियाँमा कुनै पनि मान्छेको जातलाई पुग्ने स्थिति रहेन अब’ हाम्रो करेसा किसानीका फेसबुके प्रदर्शनीलाई ‘ढर्रा’ ठान्नेका लागि हरि रिजालको जबाफ प्रस्ट छ।
आखिर फोटो खिचिन्थ्यो हेर्न र देखाउनकै लागि। इन्टरनेट र यसका अनेक बजारे पसल नहुँदा पनि फोटो हेर्न र देखाउनकै लागि ‘रङ्गीन फोटो धुलाइ हिकोला’ गरेर एल्बमका एल्बम थुपारेर राखिन्थ्यो। पाहुना आए, आफ्ना वया दामलका नातेदार आए वा उनकामा गइयो भने फोटो हेर्ने, देखाउने, माग्ने, लुकाउने र फोटो चोर्ने प्रकरण नै चल्थ्यो त।
आफूले छानेको जीवन जिएर फुर्सदमा करेसा किसानी गर्दा, माटोलाई प्रेम गर्दा, लता-लहरासँग रमाउँदा, आफूलाई खान उन्जाउँदा, त्यसमा आनन्द भेट्दा, भेटिन्छ भन्दा सत्य नै भनिन्छ।
अब यो जम्मैलाई फेसबुकमा हुलेर लोकलाई देखाउनु एउटा रित धनाइ होला, देखासिकीले ल्याएको एउटा साइबर संस्कृति होला सायद!