‘हजुर, नमस्कार !’
साथीसंगीलाई जन्मोत्सवका अवसरमा शुभकामना दिँदै उनले पठाउने सन्देशमा लेखिएको हुन्छ, ‘अर्को वर्षको जन्मदिन चाहिँ रक्तदान गरेर मनाउनुपर्छ है!’
यो ५० वर्षअघि काभ्रेको कोर्थुम्कामा जन्मेर १८ वर्षदेखि अमेरिकाको न्युयोर्क बस्ने एक जना नेपाली समुदायका कीर्तिमानी रक्तदाताले पठाउने सन्देश हो।
फेसबुकमा अर्जुनप्रसाद मैनालीसँग जोडिनुभएको छ भने तपाईँको जन्मदिनमा पनि पक्कै उक्त सन्देश आएको होला । नत्र, उहाँलाई फलो गर्नुहोस्, तपाईँलाई जन्मदिनमा पक्कै उक्त सन्देश आउनेछ ।
सन्देशपछि अरूको जीवन बचाउन सहयोग पुऱ्याउने उद्देश्यले रक्तदान गर्नुहोस् या नगर्नुहोस्, तपाईँको खुसी!
मैनाली चाहिँ आफू नगरी अरूलाई सिकाउने ‘सन्देशकर्ता’ होइनन्, जसको सामाजिक सन्जालमा आजकल बिगबिगी छ। उनी १ सय ६३ औं पल्ट रक्तदान गरिसकेका व्यक्ति हुन्। जसले 'हाेल ब्लड' ११८ र 'प्लेटलेट' ४५ पटक दान गरेका छन्। उनलाई ‘परोपकारी’ भनेर चिन्ने जमात देश-विदेशमा ठूलो छ।
१ सय ६३ पल्टमा उनले दान गरेको रगतको परिमाण हो– ८१ लिटर। जसको एक–एक अभिलेख राखेका छन्। सरोकारवाला निकायलाई उद्यृत गर्दै एकपल्ट गरेको रक्तदानले तीन जना बिरामीलाई बचाउन सकिने उनी बताउँछन्। जसका आधारमा उनले दान गरेको रगतले ४ सय ८९ जनाको जीवन बचाउन सहयोग पुगेको छ।
काभ्रेबाट अमेरिका आएपछि महँगो न्युयोर्कमा सामान्य जागिरे जीवन। बसाई एक्लो नभएर परिवारको साथ। तैपनि ‘तँ चिता मँ पुऱ्याउँछु’ भने झैं मैनालीले रक्तदानकै लागि भोकमरीग्रस्त युगाण्डा, मलावीदेखि युरोप र अमेरिकाका १४ देश चहारिसकेका छन्।
भारत, थाइल्याण्ड, मकाउ, बर्मुडा, आयरल्याण्ड, इक्वेडर आदि मुलुकमा रक्तदान गरिसकेका मैनाली अब नाइजेरिया जाँदैछन्। त्यहाँ गैर आवासीय नेपाली संघले रक्तदान कार्यक्रम गर्दैछ। संघले नेपाली समुदायमाझ रक्तदान सुरु गर्न लागेको नाइजेरिया २३ औं देश हो।
‘नाइजेरियामा सेप्टेम्बर १६ मा नेपाली समुदायले रक्तदान गर्दैछ’ आफू प्रमुख अतिथि भएर जान लागेको कार्यक्रमबारे उनले भने, ‘हामी रक्तदान गर्छौं आइ दिनुपऱ्यो भन्छन्, त्यसरी आफ्नै खर्चमा पनि धेरैतिर पुगेको छु।’
विदेश बसेर सबैभन्दा धेरैपल्ट रक्तदान गर्ने नेपाली उनै मैनाली हुन्। सर्वाधिक रक्तदान गर्ने नेपाली (जो नेपालमै बस्छन्) चाहिँ प्रेमसागर कर्माचार्य हुन्। काठमाडौं निवासी कर्माचार्यले १ सय ५० पल्ट रक्तदान गरिसकेका छन्। ‘ब्लड बैंक’ चलाउने निकायमाझ यस्ता रक्तदाताको नाम परिचित हुन्छ।
सन् १९८७ मा पहिलोपल्ट रक्तदान गरेपछि मैनालीले नेपालमा ४९, अमेरिकामा ९९ र अरु देशमा १५ पल्ट रक्तदान गरिसकेको बताए। त्यसैक्रममा क्यानाडाको टोरन्टो आइपुगेका मैनालीको शनिबार १ सय ६४ औं पल्ट रक्तदान गर्ने इच्छा भने पूरा भएन। उनी नेपाली रक्तदाताको हौसला बढाउन मात्र सक्रिय रहे।
युगाण्डामा रक्तदान गरेको एक वर्ष पूरा नभएकाले क्यानेडियन ब्लड सर्भिसेजका तर्फबाट शनिबार उनलाई रक्तदान गर्न दिइएन। युगाण्डा मलेरियाको संक्रमण उच्च भएको मुलुक भएकाले एक वर्षसम्म जोखिम रहनसक्ने भन्दै मैनालीलाई रक्तदान गर्न रोकिएको हो।
‘रक्तदानका लागि ख्याति कमाएका मैनाली हामी सबैलाई प्रेरणा जगाउने व्यक्ति हुन्’ ब्राम्प्टनको सपर्स वल्र्डस्थित क्यानेडियन ब्लड सर्भिसेजकी टेरिटोरी म्यानेजर लिलेट रफिनन्ले भनिन्, ‘रक्तदानप्रति उनले अरुलाई दिलाएको हौसला मूल्यवान छ।’
क्यानाडामा नेपाली समुदायको बाहुल्य उत्रो धेरै नभए पनि रक्तदानमा देखाएको तत्परता ‘तारिफ गर्न योग्य’ भन्दै रफिनन्ले रक्तदानमा सहभागी सबैलाई धन्यवाद दिइन्। ‘आगामी दिनमा तपाईँहरूको यस्तै साथ चाहिन्छ’ उनले भनिन्, ‘रक्तदान परोपकारको उत्कृष्ठ काम हो ।’
यो पल्ट नपाए पनि क्यानाडामा मैनालीकै प्रेरणा लिएर नेपाली समुदायले संस्थागत रुपमा रक्तदान गर्न थालेको हो। सन् २०१३ मा न्युयोर्कदेखि ८ घण्टा ड्राइभ गरेर टोरन्टो आएका मैनालीले भोलिपल्ट अरू थुप्रै नेपालीसँगै रक्तदान गरेर लगत्तै न्युयोर्क फर्किएको भुलेका छैनन्।
‘युगाण्डामा गरेको एक वर्ष नहुँदा यो पल्ट पाइएन, नत्र क्यानाडामा पहिल्यै चारपल्ट रक्तदान गरिसक्या छु’ नेपाली समुदायका रक्तदातामाझ उपश्थित मैनालीले भने, ‘देशपिच्छे रक्तदानको फरक नियम भएकाले यहाँ नमिलेको हो, अरु कतिपय देशमा एक बर्ष पर्खिनुपर्ने प्रावधान छैन।’
गैर आवासीय नेपाली संघ क्यानाडाले आयोजना गरेको रक्तदान कार्यक्रममा संघका अध्यक्ष गोपिकृष्ण काफ्लेसहित २४ जनाले रक्तदान गरे । २२ औं पटक रक्तदान गरि सकेका अनुप न्यौपाने २३ औं पल्ट रक्तदान गर्दैथिए । रक्तदाता कोही अनुभवी, कोही नयाँ थिए ।
‘क्यानाडा बसेको १५ बर्ष भयो तर आज पहिलोपल्ट रक्तदान गरें’ रक्तदानपछि मैनालीसँग परिचय गर्दै तेन्जिङ भुटियाले भने, ‘आफ्नो समुदायको कार्यक्रम भएकाले रक्तदान गर्न भित्रैदेखि मन लाग्यो ।’
इच्छुकको संख्या ३५ भन्दा धेरै हुँदाहुँदै पनि छुट्टीको दिन परेकाले ब्लड सर्भिसेजको समय अभाव हुँदा सबैले रक्तदान गर्न नपाएको कार्यक्रमका संयोजक दिनेश खतिवडाले जनाए।
नेपाल आफ्नो रगत दिएर बिरामी बचाएका चिकित्सकलाई पुरस्कृत गर्नेदेखि ब्लड बैंक स्थापना गर्नेहरुलाई सहयोग पुऱ्याएका मैनाली शनिवारै न्युयोर्क फर्किए । अघिल्लो दिन उनले टोरन्टोमै विगोर इन्टरनेशनलका तर्फबाट ‘मानवीय सेवाका लागि’ अवार्ड पाएका थिए ।
अरुले प्रेरणा लिउन् भन्ने सोचेर उनी सकेसम्म रक्तदानका कार्यक्रममा सहभागी हुँदै आएका छन् । उनी रक्तदान जत्तिको पवित्र कर्म अरु छैन भन्छन् ।
‘फेसबुकमा मेरा झण्डै ५ हजार साथी छन्’ मैनालीले बिदा हुनुअघि भने, ‘उनीहरुलाई त जन्मदिनैपिच्छे रक्तदान गर्न सन्देश दिइरहेकै छु, संसारभर छरिएका नेपालीलाई यसै कार्यक्रममार्फत रक्तदानको पुन्यकर्ममा लाग्न आग्रह गर्दछु ।’
सबै तस्वीर : बेनुप भट्टराई