घटस्थापनाको भोलिपल्ट एउटा नेपाली सांगीतिक ब्याण्डले क्यानाडाबाट ‘दसैं कोशेली’ पस्किएको छ । हिन्दु धर्मावलम्वीले घर–घरमा जमरा राख्दै गर्दा क्यानाडाबाट नयाँपन सुनिने मालश्री धुन भिडियोसहित सार्वजनिक गरिएको हो । यसलाई दसैं मनाउने धेरैभन्दा धेरै नेपाली समक्ष पुर्याउने उद्देश्य छ ।
टोरन्टोलाई केन्द्रविन्दु बनाई क्यानाडामा नेपाली सांगीतिक कर्म गरिरहेको हिमालयन भाइव्सले बुधवार मालश्री धूनको भिडियो सार्वजनिक गरेको हो । भाइव्समा आवद्ध कलाकारले यसलाई, ‘संसारभर छरिएका नेपालीका लागि पस्किएको दसैं कोशेली’ भनेका छन् ।
‘बच्चाबच्ची हुन् या बुढापाका, कतै यो धुन बजेको सुन्यो कि दसैं आयो भन्ने छनक पाइहाल्छन्’ भाइव्सका संस्थापक सानुराजा महर्जनले सेतोपाटीलाई भने, ‘दसैंको पर्याय बनेर नेपाली समाजमा बज्दै आएको यो धुनलाई फरक स्वादमा क्यानाडाबाट पस्किँदा उत्साहित छौं ।’
दशैंका बेला नेपालीका घर घरमा गुञ्जिने मालश्रीलाई मौलिक नेपाली लोक धुन मानि“दै आएको छ । यसको झण्डै ४ सय १५ बर्ष पुरानो इतिहास छ । मालश्री धुन र शरद ऋतुबीच अन्र्तसम्बन्ध रहने संगीत पारखीहरुले बताउँदै आएका छन् ।
तीन वर्षदेखि टोरन्टो बस्दै आएका सानुराजाको ख्याति मादल वादकका रुपमा पहिल्यै चुलिइसकेको छ । एकैपल्ट ३३ मादल बजाउनसक्ने उनले नेपालमै छँदा आफ्नो प्रस्तुति दिन थुप्रैवटा मुलुक घुमिसकेका थिए । उनकै सक्रियतामा भाइव्स जन्मेपछि मालश्री धुनले मूर्तरुप पाएको हो ।
‘नेपालमा छँदा २४ घण्टै संगीतमा लाग्न सकिन्थ्यो, विदेशमा चाहिँ ठ्याक्कै उल्टो जस्तो हुँदोरहेछ’ टोरन्टोलाई कर्मभूमि बनाएका उनले सुनाए, ‘यहाँ दैनिक १०/१२ घण्टा काम गरेर बचेको समयमा मात्र सांगीतिक काम गर्ने हो ।’
थोरै नै सही, सानुराजालाई अरु ७/८ जना नेपाली कलाकारले समय दिँदा दसैंको पूर्वसन्ध्यामा क्यानाडाबाट मालश्रीको नयाँपन लाग्ने भिडियोसहितको धुन सार्वजनिक भएको हो । धुनलाई बुधवार ‘हिमालयन भाइव्स’ले युट्युवसहित सामाजिक सञ्जालमार्फत श्रोतामाझ ल्याएको हो ।
दसैंमा क्यानाडाबाट सांगीतिक कोशेली पस्केरै छोड्ने पूर्व योजनाबमोजिम भाइव्समा आवद्ध कलाकारले दुई साताअघि टोरन्टोकै एक स्टुडियोमा धुन रेकर्ड गराएका थिए । उनीहरुले प्रयोग गर्ने आधाजसो बाजा नेपालबाट ल्याइएका हुन् । भिडियो चाहिँ गत शुक्रवार सुट गरिएको हो ।
नेपाली कलाकारहरु संसारभर छरिएर बसिरहेको भए पनि दसैंको पूर्वसन्ध्यामा विदेशबाट यसरी मालश्री धुन कसैले सार्वजनिक नगरेको महर्जनको दावी छ । उनी भन्छन्, ‘युट्युब तथा बजारमा मालश्रीका दर्जनौं खाले धुन छन्, तर विदेशबाट यसरी पस्किएको थाहा छैन ।’
‘दसैं धुन’ भनेर समेत परिचित मालश्रीको यो संस्करणका लागि महर्जनले एउटा पुरानो नेवारी बाजा बजाएका छन् । यस्तै, हरि लम्सालले हारमोनियम, उत्तम माकाजु र संविदा खनालले मादल, प्रदीप बाँस्कोटाले बाँसुरी, रञ्जना सैंजुले सितार, किशोर राजभण्डारीले गिटार, सुरज शर्मा र मनोज राजभण्डारीले लिड गिटार बजाएका छन् ।
ईश्वर थापा र गोविन्द नेपालले छायाङ्कन गरेको ५ मिनेट १० सेकेण्ड लामो भिडियोको इफेक्ट्समा रिकेश श्रेष्ठले काम गरेका थिए । ‘झट्ट हेर्दा भिडियो छोटो लाग्छ, तर यत्तिको बनाउन धेरै मेहेनत गर्नपुरेको छ’ महर्जनले सुनाए, ‘सबैको समय जुटाएर रेकर्ड र सुट गर्न मुस्किल थियो ।’
क्यानाडामा नेपालीको धेरै बसोबास रहेको टोरन्टो शहर र अन्टारियो ताललाई पृष्ठभूमिमा राखेर सेन्ट्रल आइस्ल्याण्डमा भिडियो सुट गरिएको हो । भिडियोलाई दसैं सम्बन्धित देखाउन सबै कलाकारले टिका, जमरा र गलामा डोरो लगाएका छन् ।
मालश्री धुन दशैंको समयमा नेपालका सबैजसो भूभागका घर घरमा गुञ्जिने गर्दछ । भिडियोको अन्त्यमा दसैंका बेला मान्यजनका हातबाट टिका जमरासँगै आर्शिवाद लिएको देख्न सकिन्छ । समय र संगीतको गहिरो सम्बन्ध हुन्छ भन्ने भिडियोमा प्रष्ट्याउन खोजिएको छ ।
अवसरको खोजीमा परदेशिए पनि नेपालीपनले सदैव पछ्याइरहने उल्लेख गर्दै महर्जनले लोकसंगीतको संरक्षण गर्दै भाइव्समार्फत यसलाई देश विदेशमा फैलाउन आफूहरु लागिरहने बताए । उनले भने, ‘त्यसै प्रयासअन्तर्गत दसैंका मुखमा मालश्री धुन कोशेली पस्केका हौं ।’
नेपाली कला, संस्कृति झल्काउने उद्देश्यले हरेक वर्ष टोरन्टोमा आयोजना हुने ‘हिमालयन मेला’मा पनि यसपल्ट भाइव्सले प्रस्तुति दिएको थियो । त्यहाँ एकैपल्ट धेरै जना नेपाली कलाकारले मादल बजाएर पस्केको मौलिक धुन सन्न विदेशीको पनि उत्तिकै भीड थियो ।
सीमित समयको घेराबाट उम्किएर भाइव्सले दसैंका बेला भिडियोसहितको मालश्री धुन सार्वजनिक गर्नुलाई क्यानाडाका नेपालीले ‘गर्व गर्नलायक काम’ भनेका छन् । एनआरएनए क्यानाडाका पूर्व प्रवक्ता किस्मत भण्डारी भन्छन्, ‘विदेशमा यस्ता सिर्जनात्मक काम भइरहने हो भने नेपाली पहिचान अझै माथि पुग्नेछ ।’
हेर्नुहोस् भिडियोमा