मुठ्ठीभरि
हिउँ भरेर उनले
मेहनतले फूल बनाइन्
सेतो / सुन्दर
ठिहिर्याउने / चीसो
हिउँको फूल,
जसरी उनले
आँट भरेर
प्रेम प्रस्ताव गर्ने
मन बनाएकी थिइन् ।
मेरो अघि उभिइन् उनी
मैले मन नअघाउन्जेल
उनको हात
उनको हातको न्यानोमा
पग्लिन थालेको
हिउँको फूल
र
उनको अनुहार हेरिरहें ।
उनको मन
मन झल्किने उनको मुहार
उनीले मतिर बढाइरहेको हात
हातको हिउँको फूल
उस्तै लाग्यो मलाई
कोमल, नरम
र
अस्थिर पनि ।
उनले मेरो हातमा फूल थमाइन्
हिउँको प्रेमील फूल
म भने दोधारमा छु
अलिकति डराएको
जसरी
उनी फूल बनाउनु अघि थिइन्,
के गरौं अब
आफू जमेर फूल जोगाउँ
की
पगालौं हिउँको फूल मायाको न्यानोमा ?
-फेब्रुअरी १४, २०१७