फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ ।
क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन् ।
सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानाडामाथि दबाब दिँदै आएको छ ।
'क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम शुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं', विदेश सचिव लोक्सीनले ट्वीटमा भनेका छन्
उनले क्यानाडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानाडा छाड्न आदेश दिइएको पनि बताए।
मनिलास्थित क्यानाडेली राजदूतावासले उक्त विषय सुल्झाउन काम गरिरहेको जनाएको छ ।
क्यानाडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानाडा फिर्ता पठाइदिने बताउनुभएको छ ।
गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोकेका थिए ।
फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानाडा नै फर्काउन आदेश दिएको थियो ।