क्यानडाले सैन्य प्रकृतिका एसल्ट राइफल र हतियारको बेचबिखन र प्रयोगमा प्रतिबन्ध लगाएको छ।
प्रधानमन्त्री जस्टिन ट्रूडोको सरकारले शुक्रबार देशमा दुई हप्ता अघि भएको सबैभन्दा भयानक सामूहिक बन्दुक हमलापछि यो प्रतिबन्ध लगाएको हो।
'यी हतियारहरू एउटै उद्देश्यका साथ बनाइएको हो, कम समयमै धेरै मानिसलाई मार्न सकियोस् भनेर,' ट्रुडोले ओटावामा दैनिक मिडिया ब्रिफीङमा भने, 'क्यानाडामा यस्ता हतियारहरूको काम छैन्।'
ट्रुडोले दुई हप्ता अघि एटलान्टिक प्रान्तको नोवा स्कोटियामा सामूहिक गोलीबारी हुनु अघिदेखि नै हतियारमा प्रतिबन्ध लगाउने बारेमा सरकारले काम गरिरहेको बताए।
नोवा स्कटियामा भएको बन्दुक आक्रमणमा २२ जना मारिएका थिए।
हतियारको खरीद, बिक्री, आयात र यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री ट्रुडोले सरकारी नियम परिवर्तन गरेर तुरुन्तै यी प्रावधानहरुलाई प्रभावकारी पारिने बताए।
सरकारले आफ्नो घोषणामा ती प्रतिबन्धित हतियार भएका मानिसहरुले दुई वर्षभित्र हतियार नष्ट गर्नुपर्ने जनाएको छ।
सरकारले यसका लागि उचित क्षतिपुर्ति दिइने बताएको छ।
बन्दुक र हतियार नियन्त्रण गर्ने विषयलाई ट्रुडोको लिबरल पार्टीले संघीय चुनावमा आफ्नो एउटा मुद्धाका रुपमा पेस गरेको थियो।
प्रमुख प्रतिपक्षी दल कन्जर्वेटिभ पार्टीका नेता एन्ड्र्यू स्कीरले भने यस प्रकारका प्रतिबन्ध लागु हुनेमा शंका व्यक्त गरेका छन्।
'अपराधमा प्रयोग भएका हतियारहरु धेरैजसो अवैध रूपमा ल्याइएका हुन्छन्,' स्कीरले भने, 'ट्रूडो सरकारले गरेको घोषणाले यस समस्यालाई सम्बोधन गरेको छैन।'
शुक्रवार क्यानडाली पोलस्टर एंगस रीडले गरेको सार्वजनिक गरेको सर्वेक्षणमा ७८ प्रतिशत क्यानाडियन नागरिकले सैनिक स्तरको हतियार प्रतिबन्धको समर्थन गरेका छन्।