ग्लोबल नेपाली
'बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड' भन्ने नेपाली उखान तथ्यांकका हकमा सबभन्दा बढी मेल खान्छ।
तथ्यांकशास्त्र भनेको अंकहरूको विज्ञान हो। झट्ट हेर्दा गणितीय जोड-घटाउ जस्तो देखिएला, तर यो शास्त्रको मुख्य उद्देश्य अंकहरूमा टेकेर समाजको तुलनात्मक अध्ययन गर्नु हो।
हजारौं शब्दका लेखले पनि बुझाउन नसक्ने समाजको चित्र एउटा सानो तथ्यांकले सजिलै बुझाउँछ। हिजोको समाज कस्तो थियो र आजको समाज कस्तो छ, यसलाई अंकमा हेर्न सकिन्छ। जसले अंकहरूको अर्थ लगाउँछ, उसले तथ्यांकशास्त्रको मद्दतबाट कम शब्दमै हिजो र आजको अवस्था छर्लंग बुझाउँछ। र, भोलिको अवस्था कस्तो होला भनेर पूर्वानुमान पनि गर्छ।
तथ्यांकविद समीर केसी पनि अंकहरू खेलाउने र त्यसको अर्थ केलाउने काम गर्छन्।
समीरलाई मैले तिहारअघि भेटेकी थिएँ। उनी राष्ट्रिय तथ्यांक कार्यालयमा नेपालको जनसंख्या र वैदेशिक रोजगारबारे 'प्रेजेन्टेसन' दिएर फर्केका थिए। प्रेजेन्टेसनको विशेषता के थियो भने, उनले त्यसमा नेपालबाट बिदेसिने जनसंख्या दर मात्र केलाएका थिएनन्, हरेक दिन नेपाल फर्किने जनसंख्या दर पनि खुलाएका थिए। र, जनसंख्या घटबढले कुन-कुन क्षेत्रमा के-कस्तो असर पुर्याउन सक्छ भनेर विश्लेषण गरेका थिए।
'अहिले विदेश गइरहेको युवा जमात प्रायः बुढेसकालमा फर्किन्छ। त्यसको मतलब, एउटा निश्चित समयसम्म यहाँ युवा जनसंख्या कम हुनेछ भने त्यसपछि वृद्ध जनसंख्या बढ्नेछ,' उनले आफ्नो प्रस्तुतिको सार खिच्दै भने, 'विदेश गएका कति त नेपाल नफर्केर उतै बस्लान्। त्यसले भविष्यमा उनीहरूका वृद्ध आमाबुबा यहाँ एक्लै पर्नेछन्।'
समीरको अध्ययनले यो पनि देखाउँछ — पुरूषको तुलनामा विदेश गएका महिलाहरू प्राय: उतै बस्न खोज्छन्।
कारण के होला त?
जबाफमा उनले भने, 'खासगरी अमेरिका, युरोप लगायत विकसित देशमा गएका महिलाले जुन खालको सुरक्षा, सुविधा र स्वतन्त्रता पाउँछन्, त्यो खालको सुरक्षा, सुविधा र स्वतन्त्रता उनीहरू नेपालमा कल्पना पनि गर्न सक्दैनन्। परम्परागत रीतिथितिमा बाँधिएर बस्नुपर्ने हुँदा छोरी-बुहारीहरूलाई नेपालमा धेरै गाह्रो हुन्छ। त्यसैले विदेश जानासाथ उनीहरू स्वतन्त्र महसुस गर्छन्। आफू भएर बाँच्न पाउँछन्। यसले उनीहरूलाई नेपाल फर्कन प्रेरित गर्दैन।'
समीरले तथ्यांकसहित राखेको यो प्रस्तुतिले नेपालको नकारात्मक र सकारात्मक दुवै पाटो उधिनेको थियो। उनले चुनौती मात्र देखाएका थिएनन्, अवसर पनि औंल्याएका थिए।
'वैदेशिक रोजगारले हाम्रो पहाडी बसोबास रित्तिँदै छ। यो सही कुरा हो। तर यही आधारमा देश खाली भइरहेको छ भन्नु गलत हो,' उनले भने, 'हामी त्रिभुवन विमानस्थलबाट हरेक दिन विदेश गइरहेका मान्छेको तथ्यांक मात्र हेर्छौं। त्यही विमानस्थलबाट हरेक दिन कति जना फर्किरहेका छन् भन्ने तथ्यांक चाहिँ केलाउँदैनौं। वैदेशिक रोजगार वा अध्ययन गरेर फर्किएकाहरू फेरि गाउँ गएर बस्न जाँदैनन्। उनीहरू सहरमै नयाँ बसाइ सुरू गर्छन्। यसले गाउँ त खाली हुँदैछ, तर देशैभरि नयाँ नयाँ सहरहरू विकास हुँदैछन्। पुराना सहरको जनसंख्या बढ्दैछ। यसले आर्थिक कारोबार बढाउँदैछ।'
'विदेशमा सिकेको सिप प्रयोग गरेर यहाँ आधुनिक खेती गर्नेहरू बढेका छन्। यार्सा, रूद्राक्ष लगायत जडिबुटी खेती बढेको छ। सेवा, सूचना प्रविधि र पर्यटन क्षेत्रमा नयाँ नयाँ लगानी भित्रिरहेको छ। यी सबै सकारात्मक उपलब्धि हुन्,' समीरले तथ्यांक केलाउँदै भने।
नेपालको राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय विकास लगायत विभिन्न पाटाको तथ्यांक केलाउँदै आएका समीरले देशको जनसंख्या र भविष्य कस्तो हुन्छ भन्नेबारे विस्तृत रिपोर्ट बनाइरहेका छन्।
गणितीय आँखाले देशको अवस्था नियालिरहेका समीरलाई कुनै समय सबभन्दा मन नपर्ने विषय नै गणित थियो। कक्षा ९ सम्म त उनी गणितमा फेलै हुन्थे।
एकदिन कक्षामा आएका नयाँ शिक्षकले यस्तरी पढाए, उनले त्यतिञ्जेल बुझ्न नसकेको गणित सबै बुझे।
'त्रिचन्द्र कलेजमा आइएससी पढाउने गौरीशंकर सर हामीलाई पढाउन आउनुभएको थियो। त्योभन्दा अगाडि हामी गणितका सूत्र पनि रटेर पढ्थ्यौं। त्यो सूत्रको अर्थ के हो भन्ने हामीलाई थाहा थिएन। हामी 'ए प्लस बी होल स्क्वायर' को फर्मुला त घोक्थ्यौं तर त्यो फर्मुलाको अर्थ के हो र त्यो हाम्रो दैनिक जीवनमा कसरी प्रयोग हुन्छ भन्ने थाहा थिएन,' समीरले भने, 'गौरीशंकर सरले हामीलाई फर्मुला मात्र पढाउनुभएन, अर्थ पनि बुझाउनुभयो। त्यो फर्मुला पढेर भविष्यमा के फाइदा हुन्छ र त्यो हाम्रो दैनिक जीवनमा कसरी प्रयोग हुन्छ भनेर पनि सिकाउनुभयो।'
'जब कुनै ज्ञान हामी दैनिक जीवनमा प्रयोग गर्न सिक्छौं, तब त्यो ज्ञान कहिल्यै बिर्सँदैनौं। हाम्रो मस्तिष्कले त्यसलाई सजिलै प्रशोधन गर्न थाल्छ। गणित पनि मलाई त्यस्तै भयो। गौरीशंकर सरले बोर्डमा लेख्दालेख्दै अंकहरूको अर्थ यस्तरी बुझाउनुभयो, त्यसपछि त मलाई गणितजस्तो उपयोगी विषय अरू कुनै छैन भन्ने लाग्यो। गणितमा मेरो शतप्रतिशत अंक आउन थाल्यो,' उनले भने।
गणितप्रति यही रूचिका कारण समीरले बिएससी गर्दा तथ्यांकशास्त्र पढे र यही विषयलाई आफ्नो करिअर बनाउने निधो गरे।
'मान्छे र समाजको कथा भन्न तथ्यांक नै सबभन्दा सजिलो र सहज माध्यम हो भन्ने मलाई लाग्छ। लामा लामा अध्ययन र वर्णनमा मान्छे अलमलिन्छन्। तथ्यांकले दूधको दूध, पानीको पानी छुट्टयाउँछ। समाजको अवस्था हेर्ने हो भने तथ्यांकको आँखाले हेर्नुपर्छ। तथ्यांकले कहिल्यै झूटो बोल्दैन,' उनले भने।
'मलाई पहिलेदेखि नै समाजबारे अध्ययन गर्ने मन थियो। मान्छेबारे बुझ्ने मन थियो। गणितमा रूचि बढेपछि मैले गणितको आँखाबाट समाज हेर्ने निधो गरेँ र यही विषय छानेँ,' उनले भने।
उनी स्नातकोत्तर पढ्दा पब्लिक युथ क्याम्पसमा बिबिएका विद्यार्थीलाई तथ्यांकशास्त्र पढाउँथे। थुप्रै विद्यार्थीलाई घरैमा ट्युसन पनि पढाए। शिक्षण अस्पताल महाराजगन्जमा तथ्यांक विश्लेषण र पढाउने काम पनि गरे। यसले उनको अध्यापन क्षमता निखार्ने काम मात्र गरेन, आर्थिक भरथेग पनि गर्यो।
त्यही बेला उनले केही साथीहरूसँग मिलेर अनुसन्धान संस्था खोले। आफ्नै घरको कोठाबाट सुरू गरेको उक्त संस्था खोल्न श्रीमतीको गहना बेचेको उनी सम्झन्छन्।
यहाँ समीरको जिन्दगीमा दुइटा मोड आयो — उनले स्वास्थ्य अनुसन्धान परिषदमा स्वास्थ्य तथ्यांकविदको जागिर पाए र त्यसको केही समयमै उनलाई विद्यावारिधि गर्न नेदरल्यान्ड्स जाने प्रस्ताव पनि आयो।
उनी जागिर खाने कि पढ्न जाने दुबिधामा परे।
धेरैले उनलाई नेपालमै जागिर खाँदै पढाइ जारी राख्न सल्लाह दिएका थिए। निकै सोचविचारपछि उनले हातमा आएको वैदेशिक अध्ययनको अवसर नगुमाउने निधो गरे।
२०५८ सालमा २६ वर्षका समीर तथ्यांकशास्त्रमा विद्यावारिधि गर्न नेदरल्यान्ड्स गए।
विद्यावारिधिका लागि उनले रोजेको विषय नेपालसँगै सम्बन्धित थियो। त्यो बेला नेपालमा क्षयरोग, ब्रोनकाइटिस, दम लगायत रोगले धेरैको ज्यान जान्थ्यो। सबैतिर मेडिकल डाक्टर पुग्न नसकेको अवस्थामा त्यस्ता बिरामीको प्राथमिक उपचार निम्ति स्वास्थ्य चौकीमा कस्तो तालिम दिने भन्ने उनको अनुसन्धानको विषय थियो।
उनी अनुसन्धान निम्ति तथ्यांक संकलन गर्न नेपाल आउजाउ गरिरहन्थे। उनको अनुसन्धान क्षेत्र नवलपरासी थियो।
'म पिएचडीपछि नेपाल फर्किएर यहीँ काम गर्न चाहन्थेँ। तर नेदरल्यान्ड्समा पढिरहँदा एक जना शिक्षकले अस्ट्रियामा जागिरको प्रस्ताव राखे। म अस्ट्रिया गएर अन्तर्वार्ता दिएर आएँ,' समीरले भने, 'नेपालमा एउटा-एउटा बिरामीको तथ्यांकमा काम गरिरहेको थिएँ, त्यहाँ हरेक देशको जनसंख्या र शिक्षा कति छ भनेर हेर्नुपर्ने थियो। त्यहाँबाट जनसंख्याविद (डेमोग्राफर) का रूपमा मेरो नयाँ यात्रा सुरू भयो।'
अनुसन्धाताका रूपमा अस्ट्रियाबाट करिअर सुरू भए पनि समीरले नेपालमा काम गर्ने मौका कहिल्यै छाडेनन्। कहिले स्वास्थ्य सेवा विभागमा आएर पढाए, कहिले केन्द्रीय तथ्यांक विभागमा स्वयंसेवकका रूपमा काम गरे।
सन् २०१४ मा उनलाई स्वास्थ्य मन्त्रालयले पालिकादेखि गाविससम्मको स्वास्थ्य मोडल तयार पार्ने काम दिएको थियो। त्यसैबीच उनी विभिन्न कलेजमा पढाउने र विभिन्न संस्थाका लागि प्रेजेन्टसन दिने काम पनि गर्थे।
'अस्ट्रियामा पूर्णकालीन काम गर्दागर्दै पनि नेपालसँग मेरो नाता टुटेन। म अध्यापनदेखि अनुसन्धानसम्म विभिन्न कामले जोडिइरहेँ। यसले मलाई विदेशको अनुभव सँगसँगै नेपालमा के भइरहेको छ भन्ने ज्ञान पनि दियो,' उनले भने, 'नेपालमा काम गर्दा मैले के थाहा पाएँ भने, यहाँ तथ्यांक त छ तर राम्रो अनुसन्धान हुन सकेको छैन।'
उनले केही समय साउदी अरबको किंग अब्दुल्ला युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा पनि काम गरेका थिए। तर सोचेजस्तो नभएपछि अस्ट्रिया नै फर्किए।
समीर अहिले चीनको सांघाईस्थित 'एसियन डेमोग्राफिक रिसर्च युनिभर्सिटी' मा पनि काम गर्छन्। त्यहाँ चीन लगायत सबै एसियाली देशको जनसंख्या विश्लेषण गर्नु उनको जिम्मेवारी हो। यसबाहेक प्राध्यापकका रूपमा तथ्यांकशास्त्र पढाउँछन् पनि।
उनले जनसंख्या र जनशक्तिबीच कस्तो सम्बन्ध हुन्छ भन्नेबारे मोडल तयार पारेका छन्, जसलाई एसियाका हरेक देशमा प्रयोग गर्न सकिने उनी बताउँछन्।
उनले एसियाका ११ वटा देशलाई सँगसँगै राखेर उक्त मोडलबारे तालिम दिन थालेका थिए। कोरोना महामारीका कारण त्यो तालिम बीचैमा रोकियो।
समीर धेरैजसो समय अस्ट्रिया बस्छन्। अस्ट्रियामै बसेर नेपाल लगायत संसारभरको जनसंख्या विश्लेषण गर्छन्। यसबीच चीन र नेपाल आउजाउ भइरहन्छ। गत जनवरीमा नेपाल आउँदा उनले यहाँको जनसंख्या र तथ्यांकमा अनुसन्धान गर्न 'पपुलेसन एन्ड स्टाटिस्टिक रिसर्च हब' (खोज नेपाल) स्थापना गरे। यही संस्थामार्फत् उनी नेपालका लागि जनसांख्यिक अध्ययनको छुट्टै मोडल बनाउने काममा लागिपरेका छन्।
'मोडलिङ भनेको जटिल विषयलाई सरल रूपमा प्रस्तुत गर्ने माध्यम हो। यसबाट जनसंख्या कसरी परिवर्तन भइरहेको छ, जनसंख्याले अरू के-के कुरालाई प्रभाव पारिरहेको छ भन्ने सजिलै थाहा पाउन सकिन्छ,' उनले भने, 'शिक्षा, स्वास्थ्य, ऊर्जाको प्रयोगदेखि जलवायु परिवर्तनमा कसरी असर गरिरहेको छ भन्ने पनि थाहा पाउन सकिन्छ।'
आगामी १०, २० वा ३० वर्ष अवधिमा नेपालको विकासक्रम कतातिर जान्छ, कुन-कुन क्षेत्रमा लाभ हासिल हुन्छ र कुन-कुन क्षेत्रमा चुनौती भोग्नुपर्छ भन्ने पनि हिसाब गरेर निकाल्न सकिने उनी बताउँछन्।
अनुसन्धानका यी विभिन्न कामका अतिरिक्त उनी तथ्यांकलाई समाजको ऐना कसरी बनाउने भनेर तालिम कार्यक्रमहरू पनि सञ्चालन गर्न चाहन्छन्।
'तथ्यांक भनेको अंक मात्र होइन। यो आफैमा विधि हो। तपाईंलाई कुनै विषयमा सूचना चाहियो र त्यसबारे हरेक व्यक्तिकहाँ गएर सोध्ने समय छैन भने सबै समूहको प्रतिनिधित्व हुने गरी नमूना लिएर जनसंख्याको विश्लेषण गर्न सकिन्छ,' उनले भने, 'जब हामी विविधतामा जान्छौं, तब तथ्यांकले फरक फरक विषयमा अध्ययन गर्छ र त्यसैअनुसार नतिजा दिन्छ।'
'धेरैलाई तथ्यांकको प्रयोग आर्थिक विषयमा मात्र हुन्छ भन्ने भ्रम छ। जबकि, राजनीतिक, सामाजिक लगायत सबै क्षेत्रमा तथ्यांक नभई हुँदैन,' समीरले उदाहरण दिँदै भने, 'पहिले पहिले युद्ध सुरू हुनुअघि राज्यले आफूसँग भएका योद्धाहरूको सूची तयार पार्थ्यो। त्यसमध्ये धनुर्विद्यामा निपुण कति जना छन्, तरबार चलाउन सक्ने कति जना छन्, घोडसवारमा दक्ष कति जना छन् भनेर तथ्यांक निकालिन्थ्यो। जुन राज्यले आफ्ना योद्धा र शत्रुपक्षका योद्धाको सही तथ्यांक राखेको हुन्छ, ऊ नै लडाइँमा विजयी हुन्छ भन्ने धारणा थियो। आजको समय सरकार चलाउनेहरूले योद्धाको तथ्यांक त राख्नुपर्दैन, तर डाक्टर कति जना छन्, इञ्जिनियर कति जना छन्, समाजशास्त्री कति छन् र अर्थशास्त्री कति छन् भनेर तथ्यांक केलाएर बस्नुपर्छ। विश्व परिवेश कता जाँदैछ, त्योसँग जुध्न हामीले कुन क्षेत्रमा आफूलाई बलियो बनाउने र कस्तो-कस्तो खालको जनशक्ति उत्पादन गर्ने भनेर यकिन गर्नुपर्छ।'
'यस्ता सबै किसिमका तथ्यांक केलाएर बस्ने र त्यसैअनुसार योजना बनाउने राज्य नै सामाजिक-आर्थिक विकासमा सफल हुन्छ। हचुवा भरमा राज्य चल्दैन,' उनले अगाडि भने, 'सानोभन्दा सानो विषयमा पनि गुणस्तरीय तथ्यांक चाहिन्छ। विकसित देशमा त २० वर्षपछिको समस्या अहिले नै निर्क्यौल गरिएको हुन्छ। उनीहरू त्यसमा योजना बनाएर काम गरिरहेका हुन्छन्। नेपालमा भने न अनुसन्धान राम्रो छ, न त्यसमा लगानी गरिन्छ।'
तथ्यांक संकलन र जनसांख्यिक मोडलिङ एकदमै पुरानो प्रणाली भए पनि नेपालमा राम्ररी अभ्यासमा आउन नसकेको उनी बताउँछन्।
केही समयअघि समीर र उनको टिमले काठमाडौं उपत्यकाका विभिन्न मेयरलाई पालिकास्तरीय तथ्यांक संकलन र प्रशोधनको महत्त्व बुझाएका थिए। हरेक पालिकाले आफ्नो छुट्टै तथ्यांक प्रणाली विकास गर्नुपर्नेमा उनको जोड थियो। उक्त छलफलमा मेयरहरूले जबाफ दिए, 'योजना त राम्रो हो, तर हामीसँग तथ्यांक नै छैन।'
समीर यसमा सहमत छैनन्। उनका अनुसार काठमाडौं, ललितपुर लगायत ठूला पालिकाहरूसँग तथ्यांक नै नभएको होइन, त्यसलाई निश्चित प्रणालीमा राख्ने काम मात्र नभएको हो। जति तथ्यांक छन्, ती पनि यताउति छरिएर रहेको उनी बताउँछन्।
उनी अहिले काठमाडौं महानगरपालिका निम्ति तथ्यांक प्रणाली बनाउने काम गरिरहेका छन्। काठमाडौं महानगरको जनसंख्यामा के-कस्ता परिवर्तन आइरहेका छन् भन्ने विषयमा उनको अनुसन्धान केन्द्रित छ।
यसबाहेक पछिल्लो जनगणनाको तथ्यांक प्रशोधनका लागि उनको संस्थाले राष्ट्रिय तथ्यांक कार्यालयसँग सहकार्यको अनुभव पनि संगालेको छ।
'नेपालमा जनगणनामा हुँदा मलाई पनि काम गर्ने मन थियो। मैले आफ्नो इच्छा राख्दै इमेल गरेको थिएँ तर जबाफ आएन। पछि उहाँहरूले केही तथ्यांक सार्वजनिक गरेपछि मैले आफै त्यसको विश्लेषण गरेर फेसबुकमा हाल्न थालेँ,' उनले भने, 'त्यही विश्लेषणका आधारमा तथ्यांक कार्यालयले हामीसँग सम्पर्क गर्यो।'
समीरले पाकिस्तान, माल्डोभा, मोजाम्बिक लगायत देशलाई पनि तथ्यांक प्रशोधनमा सहयोग गरिरहेका छन्। भविष्यमा आफ्नो संस्थालाई तथ्यांक संकलन, प्रशोधन र विश्लेषणको सिक्ने थलोका रूपमा विकास गर्ने समीरको सोच छ।
'म जुन देशमा बसे पनि नेपालकै तथ्यांक केलाइरहेको हुन्छु, त्यसको अर्थ विश्लेषण गरिरहेको हुन्छु,' उनले भने।
***