भारतको जवाहरलाल नेहरू विश्विविद्यालय (जेएनयू) छात्र संघको चुनाव फेरि वामपन्थी विद्यार्थी संगठनले जितेको छ।
नयाँ कार्यसमितिका लागि त्यहाँ शुक्रबार मतदान भएको थियो।
परिणाम सार्वजनिक हुँदा सबै पदाधिकारीमा वामपन्थी संगठनका उम्मेदवारहरू निर्वाचित भएका छन्। यसपालि पनि त्यहाँ वामपन्थी संगठनहरूले मिलेर चुनाव लडेका थिए।
जसबाट अध्यक्षमा अखिल भारतीय विद्यार्थी संघ (एआइएसए)का धनन्जय निर्वाचित भए।
उनले अखिल भारतीय विद्यार्थी परिषद् (एबीभिपी)का उमेशचन्द्र अजमिरालाई पराजित गरे। धनञ्जयले २५९८ र उमेशचन्द्र अजमिराले १६७६ मत पाए।
बिबिसीका अनुसार धनन्जय बिहारका हुन्। उनी दलित समुदायबाट प्रतिनिधित्व गर्छन्। जवाहरलाल नेहरू विश्वविद्यालयमा १९९६ पछि पहिलो पटक दलित छात्र अध्यक्ष बनेका हुन्।
१९९६ मा बतिलाल बैरवा जेएनयु विद्यार्थी युनियनको सभापति निर्वाचित भएका थिए।
धनन्जय जेएनयूमा पिएचडी गर्दैछन्।
उपाध्यक्षमा भारतीय स्टुडेन्ड फेडेरेसन (एसएफआई)का अविजित घोष निर्वाचित भए। उनले २०४९ मत पाउँदा एबिभिपीकी दिपिका शर्माले १ हजार ४८२ मत ल्याइन्।
महासचिवमा वामपन्थी विद्यार्थी संगठनकै समर्थन पाएकी फुले स्टुडेन्ट एशोसियशन (बाप्सा)की प्रियांसी आर्या विजयी भइन्। उनले २ हजार ८८७ मत ल्याइन् भने एबिभिपीका अर्जुन आनन्दले १ हजार ९६१ मत ल्याए।
सचिवमा अल इन्डिया स्टुडेन्ट फेडेरेसन (एआइएसएफ)का मोहम्मद साजिद निर्वाचित भए। उसले २ हजार ५७४ मत ल्याउँदा एबिभिपीका गोविन्द दांगीले २०६६ मत ल्याए।
यसअघि २०१९-०२० मा जेएनयू छात्र संघमा चुनाव भएको थियो।
त्यतिबेला एसएफआईकी आइसी घोष निर्वाचित भएकी थिइन्। अघिल्लो वर्ष हुनुपर्ने निर्वाचन रोकिएर यसपालि भएको हो।
भारतका चर्चित युवा नेता कन्हैया कुमार जेएनयूकै उत्पादन हुन्।