गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला-२०२४ सिजुओकामा सम्पन्न भएको छ।
राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समिति बीचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाई समन्वयात्मक र सहकार्यमा कार्य गर्दा सेवा प्रवाहमा सरलता प्रभावकारी आउनुका साथै दोहोरोपनामा कमी ल्याउनलाई सहज गराउने उद्देश्यले आयोजित कार्यक्रम आइतबार सम्पन्न भएको हो।
कार्यक्रममा एनआरएनए जापानअन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना, राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समितिका बीच अपनाउनु पर्ने सम्बन्धका बारेमा प्रस्तुति राखिएको एनआरएनए जापानका उपाध्यक्ष तथा क्षेत्रीय समन्वय समितिका संयोजक देवराज उप्रेतीले जानकारी दिए।
कार्यक्रममा एनआरएनए जापानमार्फत् जापानबासी नेपालीको हकहित र नेपालको चिनारीलाई थप उचाइमा पुर्याउनका लागि एनआरएनए जापान भूमिका र गरिनुपर्ने गतिविधिका बारेमा केन्द्रित रहेर प्रस्तुतीकरण सहितको अन्तर्क्रिया भएको प्रवक्ता खगराज गौतमले जानकारी दिए।
एनआरएनए जापानका सम्पूर्ण क्षेत्रीय समितिलाई एनआरएनएको मर्म र उद्देश्य अनुरूप क्रियाशील हुनका लागि कार्ययोजना तर्जुमा गरी क्षेत्रीय समितिका हालसम्मका गतिविधिको समीक्षासहित यस कार्यकालका लागि योजना बनाउन भेला सफल रहेको एनआरएनए जापानका महासचिव टीकाराम खरेलले बताए।
नेपालको चिनारी र पर्यटन प्रवर्द्धनमा एनआरएनए जापानले खेल्ने भूमिका, एनआरएनए एनसिसी र एनआरएनए एलसिसीको अन्तर सम्बन्ध र सहयोग आदानप्रदानको प्रणालीको बारेमा स्पष्टता सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिका सहितको जिम्मेवारीका बारेमा साझा बुझाइ कायम गरी त्यसको कार्यान्वयन गर्न योजनाबद्ध कार्यक्रम बनाउन क्षेत्रीय भेला २०२४ कोशेढुंगा सावित भएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेको ठम्याइ छ।