जापानमा लामो समयसम्म सत्तामा रहेका गठबन्धनले बहुमत गुमाएको छ।
आइतबार सम्पन्न आम निर्वाचनबाट १५ वर्षदेखि जापानमा सरकार चलाइरहेको लिबरल डेमेक्र्याटिक पार्टी (एलडिपी) र कोमिइतो पार्टीको गठबन्धनले बहुमत गुमाएको हो।
एलडिपीले यसपालि १९१ र कोमिइतोले २४ सिटमात्रै जिते।
अघिल्लो आम निर्वाचनमा २८८ सिट जितेको गठबन्धन्ले यसपालि कुल २१५ सिट मात्रै जितेको छ। तल्लो सदन ४६५ सदस्यीय छ। सामान्य बहुमतका लागि कम्तिमा २३३ सिट आवश्यक रहनेमा सत्तागठबन्धन त्यसबाट १८ सिट पर छ।
त्यहाँ कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले १४८ सिट जितेको छ। अघिल्लो आम निर्वाचनमा उसले ९८ सिट जितेको थियो।
अघिल्लो पटक ४३ सिट जितेको निप्पोन इशिनले यसपालि ३८ सिट जित्यो। डेमोक्र्याटिक पार्टी फर दि पिपल (डिपिपी) ले २८ सिट र साना दलहरू रेइवा सिन्सेंगुमीले ९ सिट जित्दा कम्युनिस्ट पार्टी अफ जापानले आठ सिट जित्यो।
यद्यपि जापानमा चुनावअघि भएको एक्जिट पोलहरूले पनि सत्तारूढ गठबन्धनले बहुमत गुमाउने प्रक्षेपण गरेका थिए।
निर्वाचनमा अहिलेसम्मकै धेरै ७३ जना महिला उम्मेदवार निर्वाचित भएका छन्। यसअघि २००९ को तल्लो सदनको चुनावमा ५४ जना महिला सांसद निर्वाचित भएका थिए।
बहुमत गुमाएसँगै प्रधानमन्त्री शिगेरू इशिबालाई अब आफ्नो नीति कार्यान्वयन गर्न चुनौती हुने देखिएको छ। बहुमत पुर्याउनका लागि उनले तेस्रो दलको समर्थन खोज्नुपर्नेछ।
भ्रष्टाचार र अनियमिततामा मुछिएका एलडिपीका नेताहरूलाई यसपालि पार्टीले टिकट दिएको थिएन । तीमध्ये केहीले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन्।
प्रधानमन्त्री इशिबाले उनीहरूसँग सहयोग लिने कुरा विकल्पमा राखेको बताएका छन्।
'अहिले निर्णय गरेका छैनौं। यसअघि टिकट दिने बेलामा पनि जनस्तरबाट विरोध भएपछि हामीले त्यो निर्णय गरेका थियौं। चुनाव जितेपछि पार्टीकै सांसदका रूपमा जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,' जापान टाइम्ससँग प्रधानमन्त्री इशिदाले भनेका छन्।