दोस्रो विश्वयुद्ध क्रममा जापानको नागासाकीमा भएको हमलामा परी घाइते भएर बाँचेका सुमितेरू तानिगुचीको निधन भएको छ।
८८ वर्षीय तानिगुचीको बुधबार निधन भएको 'द जापान टाइम्स' ले जनाएको छ।
जापानको दक्षिणपश्चिमी एक अस्पतालमा उपचार गराइरहेका उनी क्यान्सर पीडित थिए।
सन् १९४५ को अगष्ट ९ का दिन बिहान नागासाकीमा अमेरिकाले बम प्रहार गरेको थियो ।
त्यसबेला ६ बर्षका मात्र रहेका उनी हुलाकी थिए। उनले बम हमला भएकाबेला पनि खबर पुर्याउने आफ्नो जिम्मेवारी पूरा गरेका बताइन्छ।
बम लागेपछि पनि उनी त्यहाँबाट करिब १.८ किलोमिटर परसम्म साइकल चढेर पुगेका थिए । त्यसपछि अचेत भइ भूँईमा लडेका उनलाई अस्पताल पुर्याइएको थियो। उनको शरीरको देब्रे भाग जलेको थियो।
उपचारपछि ठीक भएका उनले जापानमा आणविक बम विरुद्ध चेतना जगाउने काम गरेका थिए । उनलाई एटम बमको हानीविरुद्ध तथा शान्तिका लागि सञ्चालित अभियानका एक सशक्त अभियन्ताको रुपमा लिइन्थ्यो।
सोही कारण उनलाई एकपटक नोवेल शान्ति पुरस्कारको दाबेदारका रुपमा प्रचार गरिएको थियो । उनले पुरस्कार भने पाएनन्।
हिरोसिमा र नागासाकी हमलामा साढे तीन लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै त्यसमा परी घाइते भएका लाखौँ अङ्गभङ्ग भएर बाँचेका छन् ।