दक्षिण कोरियाले क्लब र बारहरू फेरि बन्द गर्ने घोषणा गरेको छ।
दक्षिण कोरियाको सरकारले शुक्रबार आगामी एक महिनासम्मका लागि क्लब र बारहरु बन्द गर्ने घोषणा गरेको हो।
कोरोना भाइरसको सङ्क्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुनः सङ्क्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जनाइएको छ।
स्थानीय समय अनुसार शुक्रबार बेलुका ८ बजेदेखि एक महिनाका लागि ती व्यापारिक प्रतिष्ठानहरु आफै बन्द गर्न आग्रह गरिएको योन्हप समाचार संस्थाले दक्षिण कोरियाली अधिकारीहरूलाई उद्धृत गरी जानकारी गराएको छ।
सरकारले अन्य क्षेत्रमा पनि थप कडाई गर्न र आवतजावत गर्नेहरुको लगत राख्ने योजना पनि बनाएको बताएको छ।
दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण पहिले नियन्त्रणमा राख्न सकिएको समाचारहरू आएका थिए तर फेरि नयाँ सङ्क्रमितहरु देखिन थालेकोले सरकारले रात्रिक्लब तथा बारहरू बन्द गर्ने घोषणा गरेको हो।
स्वास्थ्य अधिकारीहरुका अनुसार हालै २९ वर्षीय एक व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
ती व्यक्ति विभिन्न क्लबहरुमा गएर फर्केपछि सङ्क्रमण भएको पाइएको छ।
कोरियाको रोग नियन्त्रण तथा न्यूनिकरण केन्द्रले शुक्रबार १४ जना नयाँ सङ्क्रमित भेटिएको जानकारी दिएको छ।
सङ्क्रमित भएकामध्ये तीन जना विदेशी नागरिक र एक जना सैनिक रहेको केन्द्रले जनाएको छ। विरामी सबै १९ देखि ३७ वर्षसम्मका रहेको अधिकारीहरुको भनाइ छ।
मास्क लगाउनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताहरुप्रति बेवास्ता गर्दै रात्रि जीवनमा रमाएका बेला उनीहरु सङ्क्रमित भएको बताइएको छ।
दक्षिण कोरियामा पछिल्लो केही समय कोराना भाइरसबाट सङ्क्रमित नयाँ विरामीहरु देखिएका थिएनन्।
तर फेरी नयाँ सङ्क्रमितहरु देखिन थालेपछि सामाजिक दूरी कायम गर्न, क्वारेन्टाइनलाई ख्याल गर्न र आधारभूत स्वास्थ्य सतर्कता अपनाउन सरकारले आह्वान गरेको छ।